नेभिगेशन
राजनीति

कांग्रेस विवाद उत्कर्षमा

गगन–विश्व विशेष महाधिवेशनतर्फ, तर तयार छैनन् शेरबहादुर र शेखर

काठमाडौं । यथास्थितिबाट रुपान्तरण र पुस्तान्तरण नचाहने संस्थापन पक्षका कारण नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा हैरान छन् । प्रतिनिधि सभा निर्वाचनमा नयाँ नेतृत्व र नयाँ एजेण्डा लिएर जानुपर्ने जिम्मेवारीमा रहेको पार्टी भए पनि परिवर्तन नचाहने धार बलियो भएपछि थापा र शर्मा पार्टीको १५औं नियमित महाधिवेशन स्थगन गर्दै विशेष महाधिवेशनतर्फ अघि बढेका छन् ।

उनीहरूले बिहीबार साँझ संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशन स्थगन गरेको जनाएका हुन् । गत मंसिर १५ मा कांग्रेस केन्द्रीय समिति बैठकले पुस २७–२८ नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँगै उनीहरू पक्षधर विशेष महाधिवेशनको विपक्षमा छन् । तर, थापा र शर्माले नियमित स्थगन र विशेष महाधिवेशनमा जाने भन्दै जारी वक्तव्यमा विशेष महाधिवेशन सकेसम्म सर्वसम्मतिले अगाडि बढाउने उल्लेख छ ।

थापा र शर्माको निर्देशनमा पुस २७–२८ गते विशेष महाधिवेशन गर्नका लागि भन्दै भृकुटीमण्डपमा हल बुक भइसकेको छ । विशेष महाधिवेशनबारे थप जानकारी दिन विशेष महाधिवेशन पक्षधरले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।

‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो । तर, नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ,’ महामन्त्रीहरूको संयुक्त वक्तव्यमा भनिएको छ, ‘अतः पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो । उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइनेछ ।’ कांग्रेसमा कारण खुलाएर विशेष महाधवेशनको माग गर्न सक्ने प्रावधान छ । विशेष महाधिवेशन माग गरेको ९० दिनभित्र अधिवेशन बोलाउनुपर्ने वैधानिक व्यवस्था छ । विशेष महाधिवेशन पक्षधरले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएको पुस २८ गते ९० दिन पूरा हुँदैछ ।

पुस १६ मा वडा अधिवेशन गरी ६ तहको अधिवेशन सकेर पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका थियो । तर त्यसअनुसार बुधबार वडा अधिवेशननै शुरु हुन सकेन । क्रियाशील सदस्यता अझै टुंगिएको छैन । महामन्त्रीहरूले अन्य कार्यतालिका स्थगित भएको अवस्थामा पनि नयाँ क्रियाशील सदस्यता इन्ट्रीको कार्य निरन्तर जारी राख्न सबै तहलाई निर्देशन पनि दिएका छन् । ‘पुस २६ गते नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार त्यसअघिका अन्य कार्यतालिका परिमार्जन गरी गति दिन नसकिएको कारण सम्पूर्ण कार्यतालिका प्रभावित भई निष्प्रभावी बन्न पुगेको छ । उत्पन्न भएको यस्तो अन्योल र अनिश्चिततालाई अन्त्य गर्न यो वक्तव्य जारी गर्न बाध्य भएका छौं,’ उनीहरूले भनेका छन् ।

तर, संस्थापन पक्ष भने महामन्त्रीहरूलाई नियमित महाधिवेशन स्थगित गर्ने अधिकार नै नभएको दाबी गर्छ । केन्द्रीय कार्यसमितिले निर्णय गरेको नियमित महाधिवेशन महामन्त्रीद्वयले स्थगित गर्न नसक्ने उनीहरूको तर्क छ । सहमहामन्त्री महेन्द्र यादवले भने, ‘केन्द्रीय समिति बैठकको निर्णय कि केन्द्रीय समितिले उल्टाउँछ, कि त्यो भन्दा माथिल्लो निकायले उल्टाउँछ । केन्द्रीय कार्यसमितिको निर्णय सभापति शेरबहादुर देउवा र महामन्त्रीहरूले उल्टाउन सक्दैनन् ।’ कांग्रेसमा केन्द्रीय समितिभन्दा माथिल्लो निकाय भनेको महाधिवेशन र महासमिति बैठक मात्रै भएको उनले बताए ।

क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा आइपुग्दा कांग्रेसमा ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण भएको छ । बाँकी रहेका खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा जिल्ला कार्यसमितिबाट नवीकरण प्रक्रिया टुंगिएपछि कुल नवीकरण संख्या करिब ६ लाखभन्दा बढी पुग्ने अनुमान छ । यस अवधिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भएको छ । अन्य जिल्ला तथा जनसम्पर्क समितिहरूबाट पनि नयाँ सदस्यता इन्ट्रीको कार्य जारी छ । नियमित महाधिवेशन तथा यससँग सम्बन्धित अन्य कार्यतालिका स्थगित भएको अवस्थामा पनि नयाँ क्रियाशील सदस्यता इन्ट्रीको कार्य जारी राख्न महामन्त्रीहरूले सबै तहलाई निर्देशन पनि दिएका छन् ।

कांग्रेस महामन्त्री शर्माले नियमित महाधिवेशनको ढोका बन्द हुनु भनेको विशेषको ढोका ढकढकाउनु रहेको भन्दै पार्टी विधानको धारा १७ को उपधारा २ बमोजिम कामकारबाही अघि बढ्ने बताए । उनले भने, ‘विधानको पालना गर्ने कुरा महामन्त्री, कार्यवाहक सभापति, सभापतिको पनि हो । जसरी संसद् विघटन संविधानविपरीत भयो भन्ने कांग्रेसले आफ्नो अधिवेशन पनि विधान बमोजिम नियमित पनि नगर्ने र विशेष पनि नगर्ने हुँदैन ।’

तर, सभापति देउवा निकट पार्टी प्रवक्ता डा.प्रकाशशरण महत नियमित महाधिवेशनको कार्यतालिका आइसकेकाले विशेष महाधिवेशन बाध्यकारी नहुने तर्क गर्छन् । ‘नियमित अधिवेशन गर्ने कार्यतालिका पनि आयो । कार्यतालिका कार्यान्वयन गर्न मभन्दा जिम्मेवार साथीहरू हुनुहुन्थ्यो । महामन्त्रीजीहरू पनि हुनुहुन्थ्यो । अहिले नियमित महाधिवेशन नहुने भएपछि सबै नेताहरूले त्यसको जिम्मेवारी लिनुपर्‍यो नि !,’ उनले भने, ‘जिम्मेवारी पूरा गर्न नपर्ने, जिम्मेवारी पूरा गर्न नसकेको दोष चाहिँ अरूलाई लगाउने ? जिल्लाले गरेनन्, साथीहरूले काम गरेनन् भनेर दोष लगाउन मिल्छ ?’ नियमित अधिवेशनले नयाँ मानिसहरूलाई क्रियाशील सदस्यमा जोडेर नेतृत्व चयन गर्ने बेलामा विशेष अधिवेशन नहुने उनी बताउँछन् । ‘विशेष महाधिवेशनले पार्टीलाई हित गर्दैन । जसले विशेष महाधिवेशन भनिरहनुभएको छ– मलाई विश्वास छ, उहाँहरू यो बाटोमा जानु हुने छैन,’ प्रवक्ता महतले भने ।

शेखर के भन्छन्?

कांग्रेसभित्र डा. शेखर कोइराला पनि बलियो समूहको नेता मानिन्छन् । १४औं महाधिवेशनमा सभापतिमा लडेका कोइरालाको कांग्रेसभित्रै अलग्गै धार छ । उनले सभापति देउवा र महामन्त्रीहरू भन्दा छुट्टै आफ्नो गुट बनाएका छन् । १५औं महाधिवेशनमा सभापति उठ्ने घोषणा गरिसकेका छन् ।

महामन्त्रीहरूले घोषणा गरेको विशेष महाधिवेशनमा कोइराला सहमत देखिँदैनन् । नियमित महाधिवेशन नहुने हो भने केन्द्रीय समितिबाट विशेष महाधिवेशनको निर्णय हुनुपर्ने उनको तर्क छ । ‘महामन्त्रीहरू आफैंले विशेष महाधिवेशन गर्ने कुरा त हुँदैन । केन्द्रीय समितिले तय गरोस् विशेष महाधिवेशन । केन्द्रीय समितिले अधिवेशन गर्न कार्यविधि बनाउनुपर्‍यो,’ उनले भने । त्यस्तै, उनले निर्धारित मितिमा महाधिवेशन नहुनुमा महामन्त्रीहरूको कमजोरी रहेको पनि दाबी गरे । ‘जसले जिम्मा लिएको छ क्रियाशीलको त्यो कम्प्लिट भयो ? किन कम्प्लिट भएन ? ९ जिल्लाको नवीकरण नै आएको छैन । नयाँ क्रियाशीलमा कसले क्रम संख्या नहाली पठायो ?,’ कोइरालाको प्रश्न छ, ‘महाधिवेशन ढिला त्यसकारण भएको हो, बुझनुपर्‍यो । कमजोरी हामीबाटै भएको छ । कमजोरी लुकाउने होइन । सुधार्ने हो । दोष अरुलाई दिएर मात्र हुँदैन ।’ 

पार्टी नफुट्ने विशेष महाधिवेशन पक्षधरको दाबी

महामन्त्रीहरूले विशेष महाधिवेशन घोषणा गरेपछि कांग्रेस विभाजनको चर्चा शुरु भएको छ । संस्थापनपक्षधरले विशेष महाधिवेशन गरेर पार्टी फुटाउन खोजेको आरोप लगाइरहँदा पक्षधर भने त्यस्तो आरोप अस्विकार गर्छन् । महामन्त्री गगन थापा विशेष महाधिवेशन फुटाउन होइन जुटाउनका लागि आयोजना गरिएको बताउँछन् । ‘पार्टीभित्रकै कतिपय जिम्मेवार नेताले नै पार्टी फुटाउन लागे भनेर आरोप लगाउनुभएको सुनेको छु। पार्टी फोर्ने भए हामीले यतिबेला चुनावको मुखमा फोथ्र्यौँ ? फुटाउने योजना भएको भए धेरैअघि गरिसक्थ्यौ,’ उनले भने, ‘हामीसँग नयाँ पार्टी दर्ता गर्ने सुविधा पहिले थियो, अहिले छैन । सुविधा भएका बेलामा हामीले विशेष अधिवेशन कात्तिकमै बोलाएर फुटाउन सकिन्थ्यो । तर हामीले पार्टी फुटाउन चाहेकै होइनौँ ।’ अर्का नेता प्रदीप पौडेल पनि विशेष महाधिवेशनले पार्टी फुटाउने नभई विधि स्थापित गर्ने दाबी गर्छन् । ‘विधानमा स्पष्ट व्यवस्था भएको विषय कार्यान्वयन गर्ने कुराले पार्टी कसरी फुट्छ ? यसले त पार्टीमा विधि स्थापित गर्छ,’ नेता पौडेलले भने ।

सभापति देउवा निकट नेता रमेश लेखक महामन्त्रीहरू पार्टीको मात्र नभइ देशकै नेता हुने सम्भावना रहेको भन्दै उनीहरूबका गतिविधिले पार्टी फुटतिर जाने अवस्था आउन नहुने बताउँछन् । ‘उहाँहरूले गर्ने गतिविधिले पार्टी विभाजन नहोस् पार्टी विभाजनतिर गयो भने त्यसले उहाँहरूलाई, पार्टीलाई, लोकतन्त्रलाई र देशलाई सबैलाई नोक्सान हुन्छ,’ उनले भने । अर्का नेता श्याम घिमिरे माघ ६ गते प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गर्ने मिति नजिक आइसकेकाले चुनावअघि पार्टीको नियमित वा विशेष महाधिवेशन हुने अवस्था नरहेको बताउँछन् । पार्टी फुटको प्रश्नमा उनी भन्छन्,‘नयाँ पार्टी दर्ता गर्न मिल्ने अवस्था छैन । समानुपातिकको सूची बुझाइसकिएको छ । माघ ६ मा मनोनयन दर्ता छ । यस्तो अवस्थामा पार्टी फुटमा उहाँहरू जानुहुन्छ जस्तो लाग्दैन । समन्वयको बाटोमा आउनुहुन्छ भन्ने विश्वास छ ।’

कांग्रेस मामिलाका जानकार अरुण सुवेदी महाधिवेशनको विषयलाई लिएर नेतृत्वबाट झेल हुँदा अहिलेको अवस्था आएको बताउँछन् । ‘जुन महाधिवेशनको विषयलाई लिएर नेतृत्वबाट झेल भएपछि कांग्रेसमा कम्पन आएको छ,’ उनले भने, ‘पार्टी फुटे पनि नफुटे पनि कांग्रेस दुर्घटनामा गयो । सांगठनिक दुर्घटनामा जान रोकिएछ भने पनि जनअस्वीकारको दुर्घटनामा कांग्रेस पर्‍यो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
१९ पदका लागि ४४ उम्मेदवार

१९ पदका लागि ४४ उम्मेदवार

अमेरिकाले लगायो भिसामा धरौटी

अमेरिकाले लगायो भिसामा धरौटी

कुलमानले छाडे सरकार

कुलमानले छाडे सरकार