विराटनगर । कोशी प्रदेशमा प्राविधिक तथा व्यावसायिक सीप परीक्षण गराउने महिलाको संख्या उल्लेख्य देखिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना तथा स्वीस कन्ट्याक्टको सहयोगमा सार्वजनिक गरिएको ‘टिभेट प्रोफाइल’अनुसार सीप परीक्षणमा महिलाको सहभागिता ५३.९ प्रतिशत पुगेको छ ।
कोशी प्रदेशको प्रादेशिक प्रबोधिकरण कार्यक्रममा प्रस्तुत गरिएको पछिल्लो तथ्यांकअनुसार कुल ४७ हजार ९५८ सहभागीमध्ये २५ हजार ८३३ महिला छन् भने पुरुषको संख्या २२ हजार १२० अर्थात् ४६.१ प्रतिशत मात्र सीमित छ । यसले परम्परागत रूपमा पुरुषको क्षेत्र मानिने प्राविधिक विधामा महिलाको बढ्दो आकर्षण र सक्रियतालाई स्पष्ट पारेको छ । कोशी प्रदेशका युवाले सबैभन्दा बढी अटोमोबाइल क्षेत्रमा १८.१ प्रतिशत सहभागिता जनाएका छन् । यसैगरी फोटोग्राफीमा १६.४ प्रतिशत, व्यापार व्यवसायमा १२.४ प्रतिशत र आतिथ्य उद्योगमा ११.८ प्रतिशतको संलग्नता देखिएको छ । टेक्सटाइल र सिलाइ बुनाइजस्ता क्षेत्रमा पनि सहभागिता उत्साहजनक देखिए तापनि पुस्तकालय र सूचना विज्ञान, हस्तकला र निर्माणजस्ता क्षेत्रमा भने युवाको रुचि कम देखिएको छ ।
तथ्यांकले देखाएअनुसार ९० प्रतिशतभन्दा बढी सहभागीले तह एकको मात्र सीप परीक्षण गराएका छन् । विशेषगरी स्वदेश तथा विदेशमा रोजगारीका लागि न्यूनतम प्रमाणपत्र अनिवार्य हुने भएपछि युवा प्रारम्भिक तहको परीक्षणमा बढी केन्द्रित भएका हुन् । उत्तीर्ण प्रतिशतको अवस्थालाई हेर्दा समग्रमा ६१ प्रतिशत परीक्षार्थी सफल भएका छन् । यद्यपि तह एकमा ६३ प्रतिशत उत्तीर्ण हुँदा माथिल्लो तहमा भने यो दर क्रमशः घट्दै गएको देखिन्छ । तह दुईमा ४० प्रतिशत र तह तीनमा पुग्दा उत्तीर्ण दर १७ प्रतिशतमा खुम्चिनुले उच्च तहको सीप र क्षमता विकासमा अझैं मेहनत गर्नुपर्ने चुनौती छ ।
सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख लक्ष्मी न्यौपानेले सीप परीक्षणमा महिलाको उत्साहजनक सहभागिताले आगामी दिनमा प्रदेशको श्रम बजारमा दक्ष महिला जनशक्तिको उपस्थिति बलियो हुने र महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने जनाइन् ।
छोटो अवधिको व्यावसायिक तालिम प्रदायक संस्थाको विस्तार भने कोशी प्रदेशमा उत्साहजनक देखिएको छ । प्रदेशभर २१५ वटा त्यस्ता संस्थाले सम्बन्धन प्राप्त गरेका छन् । कोशी प्रदेशको मोरङमा ६४ र झापामा ४४ र सुनसरीमा ७२ वटा त्यस्ता संस्थाले स्वीकृति लिएका छन् । यी संस्थाले प्रति संस्था औसत ६.३० का दरले विभिन्न १३५४ वटा स्वीकृत कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले बजारको मागअनुसार १८० घण्टादेखि १६९६ घण्टासम्मका कुल २७४ वटा व्यावसायिक तालिमका पाठ्यक्रम निर्माण गरेको छ । यस्तै, राष्ट्रिय सीप परीक्षण समितिले ३१४ वटा राष्ट्रिय व्यावसायिक सीप प्रमाणीकरणको मापदण्ड तयार गरी सीप परीक्षणकाकार्य अघि बढाएको छ ।
प्राविधिक धारमा घट्दो संख्या
कोशी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्र विस्तार देखिए पनि अर्कोतर्फ शैक्षिक निरन्तरतामा भने गम्भीर चुनौती देखिएको छ । सार्वजनिक गरिएको तथ्यांकअनुसार प्राविधिक धारतर्फ विद्यार्थीको भर्ना दर कक्षा बढ्दै जाँदा कमजोर हुँदै गएको पाइएको हो ।
प्राविधिक धार अन्तर्गत कक्षा ९ मा विद्यार्थीको भर्ना दर ५९ प्रतिशत रहेको पाइएको छ । तर, यो उत्साह माथिल्लो कक्षामा पुग्दा टिकिरहन सकेको छैन । तथ्यांकअनुसार कक्षा १० मा ५४ प्रतिशत, कक्षा ११ मा ३५ प्रतिशत हुँदै कक्षा १२ मा पुग्दा यो दर घटेर मात्र ३४ प्रतिशतमा सीमित भएको छ । यसले प्राविधिक शिक्षा सुरु गरेका उल्लेख्य संख्याका विद्यार्थीले बीचैमा पढाइ छोड्ने गरेको तथ्यांकमा देखिन्छ । यसले प्राविधिक धारका शैक्षिक संस्था मर्ज गर्नुपर्ने अवस्थामा पुगेको प्रतिवेदनले स्पष्ट पारेको छ ।
माथिल्लो शैक्षिक तहमा विद्यार्थीको घट्दो उपस्थिति र सीप परीक्षणमा तह एकभन्दा माथिल्लो तहमा देखिएको न्यून उत्तीर्ण दरले प्राविधिक शिक्षाको गुणस्तर र स्थायित्वमा अझै धेरै काम गर्न बाँकी रहेको देखाएको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर फुयलले बताए । दक्ष जनशक्ति उत्पादनका लागि केवल संख्यात्मक विस्तारमा मात्र नभई विद्यार्थीलाई माथिल्लो तहमा समयोजनका कार्यक्रम अघि सार्नुपर्ने देखिएको बताए ।
आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले सिटिइभिटीद्वारा सञ्चालित प्राविधिक धार सञ्चालनमा चुनौति रहेको बताए । सिटिइभिटीले २४ विद्यार्थी पुगेपछि मात्रै कोर्स सकाउन सात लाख दिने गरेको छ, यो असाध्यै कम हुने बताए । उनले अहिलेको प्राविधिक धारको पाठ्यक्रम पनि ठिक नभएको गुनासो गरे ।
साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले प्राविधिक धार लामो भएको बताए । सुरुसुरुमा सिभिलमा १२० आउनेमा अहिले घटेर ४८ जनाको कोटा रहेकामा अहिले आधा विद्यार्थी पनि भर्नाको लागि नआएको बताए ।