नेभिगेशन
विश्व

केन्याका भाइरल नाई

किम्बु । नैरोबीको किम्बु क्षेत्रको ग्रामीण सडक किनारमा रहेको एउटा सानो झुपडीमा सफारी मार्टिन्स आफ्ना ग्राहक इयान एन्जेङ्गालाई लिएर पुग्छन् । झुपडीको काठको भित्तामा बेलचा, फलाम, ठूलो खाले कैँची र रेन्च झुण्ड्याइएको छ । तर यहाँ उपकरण किन्नका लागि झुण्ड्याइएका होइनन्, ती कृषिसामग्रीबाट ग्राहकहरू कपाल कटाउन आएका हुन्छन् ।

‘म कपाल काट्न आएका ग्राहकहरूलाई अपरम्परागत उपकरणहरू प्रयोग गर्छु,’ मार्टिन्स मुस्कुराउँदै भन्छन् । उनले बेलचाको किनाराको धारलाई प्रयोग गर्दै एन्जेङ्गाको कपाललाई सावधानीपूर्वक काट्न थाल्छन् । प्रत्येक चालको प्रत्येक क्षण सहायकले स्मार्टफोन क्यामेरामा विभिन्न कोणबाट कैद गर्छन्, ताकि सामाजिक सञ्जालमा पोस्ट गर्दा दर्शकहरू मुग्ध भएर हेरुन् ।

सोसल मिडियामा ‘चिफ साफ्रो’ भनेर चिनिने मार्टिन्स केन्याका सबैभन्दा बढी चिनिने नाईमध्येका एक हुन् । उनको इन्स्टाग्राम र टिकटक खातामा करिब १० लाख फलोअर छन् । उनका भिडियोहरूले मनोरञ्जन मात्र दिँदैनन्, अफ्रिकी लोककथा र सांस्कृतिक कथाहरूलाई पनि समेट्छन् ।

रुवान्डामा जन्मेका र अहिले नैरोबी बसोबास गर्ने मार्टिन्सले सन् २०१८ मा हाई स्कूलमा पढ्दैदेखि नाईका रुपमा काम गर्न थाले । उधारोमा क्लिपरहरू प्रयोग गर्दै उनी विद्यालयको कक्षाकोठा र छात्रावासमा सेवा दिन थाले । पाँच वर्षमा उनले परम्परागत ट्रिमर छाडे र क्यामेरा थपे । यसरी उनले अनौठो तरिका अपनाउँदै आफ्नो कामलाई सामाजिक मिडियासँग जोडे ।

मार्टिन्सको शैली एकदमै अनौठो छ । उनले भिडियोमा कपाल काट्दै गर्दा अफ्रिकी लोककथा भ्वाइसओभरमा सुनाउँछन् । ‘म अफ्रिकी संस्कृतिबाट प्रेरित छु,’ उनी भन्छन् । गाउँका वृद्धहरूले उनलाई आशीर्वाद दिएका भिडियोहरू देख्न सकिन्छ । उनी त्यसतर्फ इंगित गर्दै भन्छन्, ‘उहाँहरूका आशीर्वादले यी औजारमा अझ शक्ति थप्छन् ।’

उनको कला र शैलीले ग्राहकहरूलाई मन्त्रमुग्ध बनाउँछ । गत वर्ष पहिलो पटक मार्टिन्सको सेवा लिएका एन्जेङ्गा भन्छन्, ‘उहाँको प्रतिभा नै अर्को स्तरको छ । यहाँ कपाल कटाउँदा म धेरै सहज महसूस गर्छु, सडकमा हिँड्दा म नराम्रो देखिएँ कि भन्ने कहिल्यै लाग्दैन ।’

मार्टिन्सले एउटा कटका लागि एक हजार ५०० केन्याई सिलिङ (करिब दुई अमेरिकी डलर) शुल्क लिन्छन् । सामान्तयः यो अन्य स्थानीय नाईको शुल्कभन्दा निकै उच्च मूल्य हो । तर उनका ग्राहकहरू पाँच मिनेटको अनुभव र सामाजिक मिडियामा देखा पर्ने अवसरलाई मूल्यवान ठान्छन् । केन्यामा सामाजिक सञ्जालको प्रयोग विस्फोटक रूपमा बढेको छ । केन्यामा हाल एक करोड ५१ लाख सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । करिब १५ प्रतिशत केन्यालीहरूले अनलाइन सामग्री सिर्जनाकर्ता (कन्टेन्ट क्रिएटर) का रूपमा काम गरिरहेका छन् र यसबाट आयआर्जनसमेत गर्न थालेका छन् । पछिल्लो समय उनीहरूको मुख्य आयस्रोत नै सामाजिक सञ्जाल बन्न पुगेको छ ।

तर मार्टिन्सले नाईहरूले अन्य सामाजिक मिडिया सिर्जनाकर्ता जस्तै पुरस्कार र सम्मान नपाएकोप्रति गुनासो गर्छन् । ‘नाईहरू भाइरल हुन्छन्, तर सम्मान पाउँदैनन्,’ उनको भनाइ छ, ‘तपाईं जतिसुकै विद्वान हुनुहोस्, तपाईंले पस्किएका कुरा जतिसुकै काम लाग्ने होस् तर तपाईंलाई हेर्ने नजर चाहिँ एउटा नाईकै जस्तो तल्लो नै हुन्छ ।’

मार्टिन्स र उनका सहकर्मीहरूले अफ्रिकी लोककथा, सांस्कृतिक उपकरण र अनौठो शैलीलाई आधुनिक सामाजिक मिडियासँग जोड्दै आफ्नो क्षेत्रमा नयाँ प्रवृत्ति सिर्जना गरेका छन् । यसले उनीहरूको व्यक्तिगत प्रतिष्ठा मात्र बढाएको छैन, ग्रामीण केन्याली समुदायमा पनि अनलाइन सिर्जनाकर्ता बन्ने सम्भावनालाई उजागर गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्