नेभिगेशन
अर्थतन्त्र

ग्लोबल आइएमई बैंकद्वारा १९ कार्यक्रम घोषणा

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । बैंकले विगतका वर्षहरूमा जस्तै यसपटक पनि वार्षिकोत्सवको अवसर पारेर ठूलो स्तरको सामाजिक योगदान दिने कार्यक्रमहरू अगाडि सारेको हो ।

गत वर्ष १८औं वार्षिकोत्सवका अवसरमा बैंकले मानवीय सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता लगायत कार्यक्रम आयोजना गरेको थियो । बैंकले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा मुलुकभर १८ हजार विरुवाहरू रोप्ने कार्यक्रम घोषणा गरेको थियो । गत वर्ष बैंकले करिब २१ हजार विरुवा रोपण गरेको थियो ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा मानविय सहयोग, आयआर्जन अभिवृद्धिलाई प्राथमिकता दिदै दुर्गम क्षेत्र, गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी यी कार्यक्रमहरू देशव्यापीरूपमा सञ्चालन गर्नेछ । यी कार्यक्रमहरू मध्ये ग्लोबल आइएमई स्वस्थ नारी पहल एक महत्त्वपूर्ण कार्यक्रम हो । जसअन्तर्गत बैंकले सातवटै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्वास्थ्य जाँच, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण जस्ता सेवाहरू प्रदान गरिनेछ । विगत पाँच वर्षदेखि नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रमबाट हालसम्म १० हजारभन्दा बढी महिलाहरू लाभान्वित भइसकेका छन् ।

त्यसैगरी, बैंकले सात प्रदेशका सात स्थानमा बृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गर्नेछ । बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १५ सय विद्यार्थीहरूको आखाँ जाँच गरी निःशुल्क चस्मा वितरण गर्नेछ ।

शिक्षा क्षेत्रमा बैंकले गरिब तथा जेहेनदार छात्राहरूलाई कक्षा ६ देखि १२ सम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत पाँच वर्षमा १४० छात्रालाई लाभान्वित गरेको यो कार्यक्रम यस वर्ष थप ७७ जनासहित छात्राहरूमा विस्तार हुनेछ । दुर्गम विद्यालयहरूमा पुस्तकालय निर्माण, १ हजार जना विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचारको तालिम तथा सामग्री हस्तान्तरणजस्ता कार्यक्रमहरू पनि समावेश छन् ।

त्यसैगरी, बैंकले अर्थशास्त्र, व्यवस्थापन तथा कानून संकायमा उच्च शिक्षा अध्ययनरत गरिब तथा जेहेन्दार विद्याथीलाई एमफिल तथा पीएचडी शोध, अनुसन्धानका लागि वित्तीय सहयोग प्रदान गरिनेछ ।

वातावरण संरक्षणतर्फ ग्लोबल ग्रीन स्कूल कार्यक्रमअन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाइ तथा फोहोर संकलन केन्द्र स्थापना गरिनेछ ।

स्थानीय तहसँग समन्वय गरी फोहोर व्यवस्थापन तालिम सञ्चालन गरिनेछ ।

रक्तदान कार्यक्रम मुख्य सहरहरूमा आयोजना गरिनेछ भने आश्रम, बालगृहका बालबालिकालाई खाद्यान्न तथा अन्य सहयोग प्रदान गरिनेछ ।

सूचना प्रविधिको विकास र आधुनिक प्रविधिको अबलम्बनसँगै बालबालिकाहरूमा देखा परेको अटिजमको बारेमा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी उनीहरूलाई आवश्यक सहयोग प्रदान गरिनेछ ।

त्यसैगरी, समुदाय तथा विद्यालयमा खेलकुद सामग्री वितरण गर्ने छ । साथै, बैंकले आय आर्जन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्यमशाला कार्यक्रम सञ्चालन गर्नेछ । यी सबै प्रयासले स्वास्थ्य, शिक्षा तथा वातावरणीय जागरणमा ठूलो प्रभाव पार्ने विश्वास बैंकले गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र