नेभिगेशन
दृष्टिकोण

कांग्रेसको महाधिवेशन लोकतन्त्र कि ढोक्सो ?

प्रा. विजय सिलवाल
हाल काठमाडौंमा चिसो बढेको छ तर राजनीतिक गतिविधिको चर्चामा न्यानोपन छ । एनपीएल– २ को चर्चा सेलाएको छ तर जेनजीका केही समूहहरू सरकारको राजिनामा मागिरहेका छन् । जेनजीको एउटा समूह सडक आन्दोलनमा छ । मधेस प्रदेशमा संविधान बाटोमा आएको छ । सरकार निर्वाचन गराउन प्रतिबद्ध छ तर दलहरू विश्वस्त भइसकेका छैनन् । 

सुरक्षा निकाय सक्रिय भएको दाबी गरिराखेका छन् । निर्वाचन आयोगमा दल दर्ता र निर्वाचनका काममा सक्रियता सुचारु भएको कुरा निरन्तर रूपमा समाचार माध्यममा आइराखेको छ । केही दलहरू सन्देश सभा, एकता सन्देश दिन व्यस्त छन् । केही दलहरू कसरी मिलेर जाने भन्ने छलफलमा व्यस्त छन् । राष्ट्रिय सभाको निर्वाचन, निश्चित मितिमा प्रक्रिया पुगेकाहरूले मतदान दिन पाउने सूचनाहरू प्रवाहित भइराखेका छन् । संक्षेपमा मुलुकका गतिविधि यस्तै छन् । केपी र देउवाको भेट, सर्वोच्चमा नेपाली कांग्रेसका सांसदहरूबाट प्रतिनिधि सभा पुनस्र्थापनाको रिट दर्ता, दुर्गा प्रसार्इं, हितमान शाक्यको पुर्नवहाली, जेनजीसँग सम्झौता आदि चर्चित सन्दर्भहरू आएका छन् । 

राष्ट्रपतिसँग तीन दलका नेताहरूको भेटघाट भएको छ । प्रधानमन्त्रीको उपस्थिति महत्वपूर्ण मानिएको छ । रविको रिहाइ, अनि रवि–बालेन–कुलमान बिचको भेटघाट चर्चित छ । रवि एवम् प्रचण्डको भेट पनि अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्रीसँग प्रमुख तीनै दलका नेताहरूले भेटे । यो सकारात्मक पक्ष हो । सुरक्षाको प्रसंग उठ्नु एकदम स्वभाविक कुरो हो । सरकारले आश्वासन दिएको छ । एकै चोटी प्रधानमन्त्री हुने सपना देख्न पाइन्छ तर नेपालको परिस्थितिलाई ध्यानमा राख्नुपर्छ । ठूला ठूला माछाहरू बेरोकटोक घुमिराखेका छन् । कुलमान घिसिङ, हर्क साम्पाङहरूले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । 

त्याग मण्डेला प्रवृत्ति हो, सत्ता र शक्ति मुगावे प्रवृत्ति हो जुन नेपालका ठूला भनाउँदा पार्टीको नेतृत्वमा देखिन्छ । हाल महत्वपूर्ण चर्चाहरूमध्ये महाधिवेशनहरूको पनि छ । एमालेको एघारौं महाधिवेशन यही मार्ग २७ देखि २९ गते सम्पन्न भएको छ । केपी ओलीको चक्रवर्ती सम्राट हुने इच्छा ईश्वर पोखरेल समूहले पुरा हुन दिएन । ईश्वर पोखरेलहरूलाई ओलीले के गर्ने हो त्यसबारे कुनै प्रकारको भविष्यवाणी गर्नु ठूलो त्रुटि हुनेछ । मधेशमा ओली–एमाले नांगिएको छ । यस्ता उदाहरण हजारौं छन् । संक्षेपमा ओली–एमालेको ११ औं महाधिवेशनले निरंकुशता एवं व्यक्तिवादलाई मान्यता दिएको छ तर ‘प्रतिशोधको प्रतिरोध’ एवं ‘आत्मसमर्पण नगर्ने’ उद्घोषले ओली–एमालेको भविष्य राम्रो छैन ।

नेकाको १५ औं महाधिवेशन

नेपालकै अत्यन्त पुरानो दल नेपाली कांग्रेस (नेका) ले यही पौष २६, २७ र २८ गते काठमाडौंमा १५ औं महाधिवेशन गर्ने घोषणा गरेको पनि नेपाली कांग्रेसले १५ औं महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने निर्णग गरेसँगै पार्टीभित्र आन्तरिक तनाव चर्किएको छ । नेका एवम् लोकतन्त्र पर्यायवाची मानिन्छ । तर जे भए तापनि राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमै नेकाको महाधिवेशनको महत्व रहेको प्रष्ट छ । नेपालमा भएका राजनीतिक परिवर्तनमा नेकाको महत्वपूर्ण एवं निर्णायक भूमिका रहेको छ । २००७ साल देखि २०७२÷०७३ को आन्दोलन, संविधान सभा, निर्वाचन एवं संविधान निर्माणको कार्य यसका उदाहरण हुन् ।

जेनजी आन्दोलन र नेका 

जेनजी आन्दोलनका प्रशस्त कारणहरू थिए र हाल पनि छन् । कारणहरूको संक्षिप्त व्याख्या गर्दा त्यसबेला एमाले एवं नेकाको गठबन्धनको सरकारको नेतृत्व एमालेका केपीले गरेका थिए । भ्रष्ट्राचार, दम्भ, कुशासन, अत्याचारको प्रतीक एमाले कांग्रेस गठबन्धन सरकार भएको थियो । जनअसन्तोष अकाशिँदै थियो । हरेक क्षेत्रबाट सरकारप्रति वितृष्णा थियो । सरकार समस्या समाधानभन्दा पनि मजाक एवं चुट्किला प्रधान भएको थियो सरकार । 

नेता, प्रशासक, विचौलिया र तिनका सन्तानहरू आदिका दैनिकी एवं सार्वजनिक व्यवहार नयाँ पुस्ताले गम्भीरतापूर्वक हेरिराखेका थिए । दैनिक झन्डै २ हजार नेपाली विदेशिनुपर्ने तर नेताहरूको मस्ती फ्रान्सका सम्राटजस्तै थियो । राजनीतिक दल, नागरिक समाज जनताका विभिन्न तहबाट भएको सुझावको कुनै अर्थ थिएन । जेनजी पुस्ताहरू सञ्चार माध्यममाथि लगाइएको प्रतिबन्धले आक्रोशित थिए । 

सुशासन भ्रष्टाचारको अन्त्य एवं सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउने माग राखी जेनजी समूहले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर भाद्र २३ गते अहिंसापूर्वक शान्तिपूर्वक आन्दोलन गरे । संघीयताको विरोधमा जेनजी थिएनन् । गणतन्त्रको विरोधमा पनि थिएनन् । संविधानप्रति उनीहरूको सम्मान पनि थियो । प्रतिनिधिसभा विघटन पनि भनेका थिएनन् । सुरक्षा निकायहरूको सुझाव लगायत जेनजी मागलाई सम्बोधन गरिनुपर्छ भन्ने सम्पूर्ण हितैषीहरूको सुझावलाई रोमको निरोजस्तै केपीले पूर्ण रूपमा बेवास्ता गरे । 

गोदावरीमा मोटरको ठक्कर दिएका भन्नेलाई कारबाही गर्नुको साटो ‘साधारण घटना’ भन्दै ओलीलाई भाद्र २३ को आन्दोलन केटाकेटीको पुतली खेलजस्तो लाग्यो । परिणाम नेपालकै इतिहासमा नभएको घटना भयो । नेपाली कांग्रेस एमाले गठबन्धनको सरकारको नेतृत्व गरेका केपी सरकारले एकै दिन २० जना नेपालका होनहार सपुतको नरसंहार ग¥यो तर भाद्र २४ गतेको घटना निन्दनीय घटना भयो । यो पूर्णतया गलत थियो । राष्ट्रविरोधी थियो । यसदिन पनि थुप्रैको नरसंहार भयो । मृतकको संख्या ७४ पुग्यो । 

सहिद संख्या ४५ पुगेको छ । एमाले नेपाली कांग्रेसको यो गठबन्धन सरकारले गरेको नरसंहार नेपालको राजनीतिक इतिहासकै कालो धब्वा हो । नेपालकै इतिहास रहुन्जेल ओली हत्यारा सरकारको रूपमा चिनिनेछ । नेकाले पनि यसको जिम्मेवारी लिनुपर्छ ।
 
नेपालको वर्तमान परिस्थिति एवं नेका
नेपाल वर्तमान परिस्थितिमा अत्यन्त अप्ठ्यारो स्थितिमा छ । गणतन्त्रात्मक शासन आएपश्चात नेपालीहरू खुशी हुनु स्वाभाविकै भए पनि विस्तारै शासन सञ्चालनमा गएका नेका, नेकपा एमाले र नेकपा माओवादीहरूको कुशासनले जनतामा चरम निराशा बढ्न थाल्यो । सत्ता लिप्सा भ्रष्टाचार गर्ने कुरामा सत्तासीन दलहरू बीच प्रतिस्पर्धा चल्न थाल्यो । 

जेनजी आन्दालेन त्यसैको परिणाम थियो । नेपाली कांग्रेस सम्मिलित कुनै पनि सरकारले पहिलो यस्तो नरसंहार गरेको थिएन तर २३ र २४ गतेको घटनामा मुछियो । ओली एमालेले हालसम्म त्यो घटनाको नैतिक जिम्मेवारी लिएको छैन । शेरबहादुरले माफी मागेनन् । ठ्याक्कै नेकामा एमालेका ओली प्रवृत्ति दोहोरियो । महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने एउटा विषयमा नेकाका कार्यबाहक सभापति एवं उनका पक्षहरूले निर्णय गर्न सकेनन् । 

सम्पूर्ण विश्वमा लज्जाको विषय भयो तर शेरबहादुर एवं खड्का प्रवृत्तिको नेकालाई केही फरक परेन । शेरबहादुर फर्केर आएपछि मात्र नेकाको १५ औं महाधिवेशन पुसमा गर्ने निर्णय भयो । कार्यबाहक दिएर पनि फेरि सक्रिय हुनु लज्जाको विषय हो होइन देउवा नै जानून् तर नेकाको शाख झरेको छ । 

केन्द्रीय सदस्यहरू नै महाधिवेशन हुन्छ कि हुँदैन भन्ने कुरामा आश्वस्त छैनन् । यो भन्दा लज्जाजनक स्थिति नेकामा के हुन सक्छ ? ‘नेपाली कांग्रेसको घोषित नीति कार्यक्रम अनुसार भएका सम्पूर्ण घटनाको नैतिक जिम्मेवारी सभापतिको रुपमा म लिन्छु’ भन्ने विश्वेश्वरप्रसाद कोइरालाको नेपाली कांग्रेसको वर्तमान अवस्था अत्यन्त विचारणीय परिस्थितिमा पुगेको छ । यसको मूल जिम्मेवार शेरबहादुर प्रवृत्ति नै हो । हाल पनि ज्योतिषको भविष्यवाणी अनुसार ७ पटक प्रधानमन्त्री हुन्छु भन्ने र ओलीको पछि लागेर प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गर्न लगाएका छन् । 

राणा, लेखक, महत, खड्का, सिंह, निधि, निरौला, प्रवृत्तिले नेकालाई कता लग्छ भन्न सकिँदैन तर यही प्रवृत्ति दोहोरिएममा केपी एमाले एवं शेरबहादुर नेकाको पतनउन्मुख छ । यो ठोकुवा गर्न सकिन्छ ।

नेका एवम् सबै राजनीतिक दलका केन्द्रीय सदस्य नेताहरूलाई के लाग्छ भने जनता मूर्ख हुन्छन् । एउटा चरा हुन्छ शुतुर्मुग । भुइँमा आफ्नो मुन्टो गाडेपछि संसारले उसलाई देख्न सक्दैन भन्ने भ्रम पाल्छ । 

फलस्वरुप शिकारीबाट शिकार बन्छ । शेरबहादुरपक्षीय नेका नेतृत्वको अवस्था त्यही चराजस्तो छ । ढोक्सामा शेरबहादुर फसिसकेका छन् । शेरबहादुरको अवस्था किन भयो त्यसको समिक्षा स्वयं उनले गर्न सकेका छैनन् । केपीको ढोक्सामा फसेर प्रतिनिधि सभामा पुनस्र्थापना गरेर प्रधामन्त्रीको सपना शेरबहादुरले देख्न सुरु गरेका छन् । मन्त्री आदि आदिका सपना असल देख्न सुरु गरिसके । नेका निमित्त अत्यन्त गम्भीर कुरा हो ।

नपुशंक दासहरू बीच ‘मालिक’ को भान हुनु कुनै ठूलो कुरा होइन तर जनतामा एक दिन सत्य प्रष्ट हुँदा सबैलाई आफ्नो हविगत थाहा हुन्छ । विपीपछि नेकामा विपी खोज्नु मूर्खता हो । तर पार्टीलाई नै सत्ता शक्ति एवं भ्रष्टाचारपछि लगाएर ‘कुटाइ खानु’ कुनै लोकतन्त्र होइन । पदको लागि नेकालाई शेरबहादुरले फुटाएका होइनन् ? ‘वरिष्ठ’ पदको निमित्त आफैं आत्मसम्मान गुमाए । ‘अक्षम’ एवं ‘हुस्सु’ को उपाधिबाट विभूषित हुनु नराम्रो भए तापनि निरंकुशताको ढोक्सोमा फस्नु त्योभन्दा पनि लज्जाजनक हो । शेरबहादुर कांग्रेसलाई हेक्का रहोस् । पुर्नस्थापना प्रतिगमन हो । दोस्रंो जेनजी आन्दोलन भएमा के हुन्छ ? ‘कुटाइ’ एवं ‘हेलिकप्टर’ भन्दा पनि दुखान्त हुनसक्छ । अकल्पनीय हुन सक्छ । ‘केशे संयुक्त’ पार्टीको नाम न बनोस् ।

नैतिकता एवं लाजको राजनीतिमा कुनै स्थान हुँदैन भन्ने राजनीतिक चिन्तकहरू पनि भए र छन् पनि । अधिवेशनको तालिका सर्वसम्मत ढंगले प्रकाशित हुन्छ । तर फेरी अधिवेशनको तालिकामा परिवर्तन गर्नुपर्छ अधिवेशन सम्भव छैन भन्ने कुरा सार्वजनिक हुन्छ । नैतिकता प्रतिबद्धतालाई लाज लाग्छ । जनताबीच केन्द्रीय सदस्यहरूको छवि कस्तो भइराखेको छ ? त्यसको कुराको हेक्का पटक्कै छैन । 

ढोक्सोमा सांसद मन्त्री सुविधाबाहेक केही देखिँदैन । लोकतन्त्र, फेरि निरंकुशताको बन्दी हुने सम्भावना देखिँदैछ । महिनौं अधिवेशन कहिल्यै गर्ने नगर्ने निर्णय गर्न नसक्ने शेरे कांग्रेसबाट फेरि पनि लोकतन्त्रको रक्षा निर्मित ठोस् निर्णय आउँला ? निरंकुशतासँग पदको लागि सति जाने हो कि ? सामन्तवादले मानवजातिको इतिहासमा गम्भीर एवं गहिरो प्रभाव छोडेको छ । खास गरी हाम्रो जस्तो मुलुकहरूमा सामन्तवाद एउटा आर्थिक दृष्टिकोण मात्र होइन । यसमा व्यवहार, चिन्तन, धर्म संस्कृति, भाषा प्रवत्ति आदिहरूको गहिरो प्रभाव हुन्छ । सामन्तवादमा ठालुहरूका आफूलाई मालिक एवम् जनतालाई रैति ठान्छन् । 

ओली एमाले एवं शेरबहादुर कांग्रेसले जनतालाई रैति ठानेका छन् । परिस्थितिमा संख्यात्मक एवं गुणात्मक परिवर्तन भइसकेको छ । जनचेतना आकासिँदो छ । तर पनि हाल राष्ट्रिय सभाको निर्वाचनमा वामपन्थी लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा आउन जरुरी छ । राजतन्त्र एवं निरंकुशता दुवैको विरोध हाल आवश्यक छन् । तसर्थ नेपाली कम्युनिष्ट पार्टीले उचित सम्मानको स्वाभाविक अपेक्षा राख्दै नेकालाई समर्थन गर्नैपर्छ । मधेश प्रदेश राम्रो उदाहरण हुनसक्छ । नेपाली कम्युनिष्ट पार्टीको यो पाइलाले लोकतन्त्रको रक्षा गर्नेछ । आज जनतामा प्रतिनिधि सभाको निर्वाचनमा राम्रो सन्देश दिनेछ । 

नेकाका केन्द्रीय सदस्य एवं हुने महाधिवेशन प्रतिनिधिहरूको दायित्व, नेपाली कांग्रेस विपीको कांग्रेस हो । नेका र लोकतन्त्र नङमासुझैं हुन् । सत्ताको लागि केपी ओली प्रवृत्तिसँग नेपाली कांग्रेसको गठबन्धन आत्महत्या हो । लोकतन्त्रको लागि स्थापित नेका केपी एमालेको निरकुंशतासँग सती जाने हो भन्ने भन्न केही सकिँदैन । महाधिवेशन प्रतिनिधिहरूले कस्तो नेतृत्व छान्ने हो त्यो समयले बताउँला । नेपाली जनतामा राजनीतिक दलहरूको माथिल्लो तहका नेताहरूप्रति चरम असन्तुष्टि छ । नेताहरूलाई अझै ‘लोकप्रिय’ ‘जनप्रिय’ को भ्रम छ । निरंकुश प्रवृत्तिहरू सति जाने प्रवृत्तिका नेताहरूलाई कस्तो शिक्षा दिने हो ? प्रतिनिधिहरूले बुझ्नुपर्छ । ग्रामीण भेगदेखि महानगरसम्म नेकाप्रति आमजनताको विश्वास अझै छ तर नेतृत्वप्रति होइन । प्रतिनिधिहरूले बुझ्नुपर्छ । राजनीतिक स्थिरता, सुशासन, लोकतन्त्र आर्थिक समृद्धि, सन्तुलित पराराष्ट्र नीति गणतन्त्रको रक्षा लगायत थुप्रै कार्यभार आउँदो सरकारको जिम्मामा हुनेछ । 

पार्टी नेतृत्व एवं संसद्मा पढाउने प्रतिनिधिहरू कस्ता छान्ने ? यो अहम् सवाल छ । ‘नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन या त दास हुन्’ विपीको यो भनाइ केपी एमालेमा मात्र होइन नेकामा पनि लागू हुन्छ । साथै सबै दलहरूमा पनि । अनेकौं भ्रष्टाचार लयायत विभिन्न काण्डमा मुछिएकाहरू फेरि पार्टी एवं संसद्मा पुग्ने हो त ? 

एमनेस्टी इन्टरनेसनलले दिएको रिपोर्ट प्रतिनिधिहरूले हेक्कामा राख्ने हो कि ? ‘वयलगाडा चढेर’, ‘दुई पटक प्रतिनिधि सभा विघटन गर्ने’ बाट संघीयता लोकतन्त्र गणतन्त्रको संरक्षणको आशा गर्नु भनेको हिटलरबाट लोकतन्त्रको सम्मान गर्नु भनेको जस्तै हो । तसर्थ नेकाको महाधिवेशन प्रतिनिधिबाट गम्भीर भूमिकाको अपेक्षा गरेको छ । राजनीतिमा स्थायी शत्रु एवं स्थायी मित्रको कथन प्रयोगमा भर पर्ने हो । स्टालिनले अमेरिकालगायत अन्य मुलुकसँग हिटलरविरुद्ध गठबन्धन गरे । तर सैद्धान्तिक रूपले लोकतन्त्रको स्थायी शत्रु निरंकुशवाद नै हो । लोकतन्त्रको स्थायी मित्र विधिको शासन, उत्तरदायी सरकार, जवाफदेहिता, पारदर्शिता, निष्पक्ष निर्वाचन, सुशासन, भ्रष्टाचारको अन्त्य, समानता, समानुपातिकता, सहिभागिता आदि नै हुन् । यो कुराको हेक्का राख्दै नेकाका महाधिवेशनले पार्टीभित्र एकलौटी निरंकुशतावाद लाद्न खोज्ने प्रवृत्ति विरुद्ध संघीयता, लोकतन्त्र, गणतन्त्र, सुशासन समावेशिता, समानुपातिकता, भ्रष्टाचारमुक्त प्रवृत्तिलाई विजयी बनाउँदै कांग्रेसको लोकतन्त्रको पर्यायलाई निरन्तरता दिनु पर्छ ।

उपसंहार

जेन जी आन्दोलनलाई गगन थापा, विश्वप्रकाश शर्मा, शेखर कोइरालाहरूले आत्मसात गर्दै सम्बोधन गर्नुपर्ने कुरामा जोड दिए । केपी एमालेबाहेक अन्य राजनीतिक दलले जेनजीका मागहरूप्रति आफ्नो सकारात्मक धारणा अभिव्यक्त गरेका छन् । संक्षेपमा नेकाका महाधिवेशन प्रतिनिधिहरूले जेनजीका मागप्रति अवश्य पनि गम्भीर हुनेछन् । सत्ताको लागि केपी, देउवा गठबन्धन फेरि हुने हो भन्ने जेनजी २ आन्दोलन हुनेछ र कसको हविगत के हुन्छ भन्न सकिने स्थिति छैन । नेकाका महाधिवेशनमा आउने प्रतिनिधिमाथि ठूलो अभिभारा छ । 

निरकुंशता, कुशासन, भ्रष्टाचार, पदलोलुपता, दमन, प्रतिशोध, नातावाद, कृपावाद, परिवार एवं धन मोह आदि नेपाली समाजको ठूलो समस्याको रूपमा रहेको छ । विधिको शासन मानव अधिकारको स्थापना, जवाफदेहिता, पारदर्शिता, समानुपातिकता समावेशिता, योग्यताको कदर, सुशासन राजनीतिक स्थिरता, शान्ति सुरक्षा सम्प्रभुताको सुरक्षा आदि समयको जेनजीको एवं आम नेपालीको माग हो । ढोक्सामा पर्ने नपर्ने निर्णय कांग्रेसकै हो । नेपाली कांग्रेस हाल गम्भीर मोडमा छ । अलमलबाट मुक्त भएर महाधिवेशन यथाशीघ्र होस्, यही अग्रिम शुभकामना ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
स्वास्थ्य बीमामा किन लापरवाही

स्वास्थ्य बीमामा किन लापरवाही

अरनिको नेपालका गहना

अरनिको नेपालका गहना