नेभिगेशन
राजनीति

‘न्यायालय कमजोर भए भरोसा टुट्छ’

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय बलियो भए मात्र नागरिक ढुक्क हुन सक्ने बताएका छन् । सर्वोच्च अदालतमा आइतबार सञ्चारकर्मीसँगको छलफलमा उनले अदालतमाथि शृंखलाबद्ध प्रहार भइरहेको उल्लेख गर्दै न्यायालय कमजोर भए नागरिकको भरोसा पनि कमजोर हुने चेतावनी दिए ।

न्यायाधीश डराए राज्यको चौथो अंग पनि असुरक्षित हुने भन्दै उनले प्रेस स्वतन्त्रतामाथि पनि गम्भीर असर पर्न सक्ने बताए । न्यायपालिका र न्यायाधीशमाथि सुनियोजित रूपमा आपत्तिजनक टिप्पणी र सामग्री प्रकाशन भइरहेको उल्लेख गर्दै उनले स्वस्थ आलोचना स्वीकार्य भए पनि बदनियतपूर्ण अस्वीकार्य हुने स्पष्ट पारे ।

‘अदालतबाट धेरै कुरा बुझाउन सकिएको छैन होला, त्यो अपेक्षा सञ्चारमाध्यमसँग छ,’ प्रधानन्यायाधीश राउतले भने, ‘अदालतमा विधि, प्रक्रिया हुन्छ, मुद्दामा तथ्य, प्रमाण, कानुन हेर्नुपर्छ, त्यो कस्ले बुझ्छ ? त्यति गर्दा पनि गल्ती भएमा जिल्ला हुँदै, उच्च हुँदै चित्त नबुझेको अवस्थामा सर्वोच्चमा आउने सक्ने संवैधानिक व्यवस्था छ ।’

अदालत संवेदनशील संस्था भएकाले सत्य, तथ्य र प्रमाणका आधारमै निर्णय हुने भन्दै विधि र प्रक्रियालाई बुझेर समाचार सम्प्रेषण गर्न आग्रह गरे । वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले देश जटिल अवस्थामा गइरहेकाले न्यायालयलाई विश्वासिलो बनाउनु आवश्यक रहेको बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्