नेभिगेशन
प्रदेश

बुढीगंगा नगर भवन ठेक्कामा ३ करोड २७ लाख भ्रष्टाचार

अख्तियारद्वारा तत्कालीन मेयरसहित १५ जनाविरुद्ध विशेषमा मुद्दा

काठमाडौं – बाजुराको बुढीगंगा नगरपालिकाको कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्तिमा ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ ६५ पैसा बराबरको हानि नोक्सानी गरेको ठहरसहित आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मुद्दामा पूर्वनगर प्रमुख दीपकविक्रम शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, प्रशासकीय अधिकृत नरेन्द्र नाथ, शिक्षा अधिकृत जयराज न्यौपाने, इञ्जिनियर पारस खाती, सब–इञ्जिनियर गणेशराज रेग्मी, असिस्टेन्ट सब–इञ्जिनियर भीमराज गिरी, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री, प्रशासन सहायक वसन्तबहादुर थापा र नायब प्राविधिक सहायक सिद्धराज जैसीलाई प्रतिवादी बनाइएको छ ।

त्यस्तै ठेक्का पाउने जागृति एमके नेपाल जेभी, जेभीका आधिकारिक प्रतिनिधि सुरतबहादुर शाह, जागृति निर्माण सेवाका प्रबन्ध सञ्चालक पुष्कर रोकायालाई समेत प्रतिवादी बनाइएको छ । आयोगका अनुसार यी सबैको आपसी मिलेमतोमा ठेक्का स्वीकृति, सम्झौता र भुक्तानी प्रक्रिया अघि बढाइँदा लक्षित निर्माण व्यवसायीलाई लाभ पुगेको र सार्वजनिक निकायलाई ठूलो आर्थिक क्षति भएको देखिएको छ ।

आयोगको विज्ञप्तिअनुसार ठेक्कामा नगर भवन निर्माण कार्यमा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत बोलपत्रका सर्तहरू पटक–पटक संशोधन गरी प्रतिस्पर्धा सीमित पारिएको, लक्षित निर्माण व्यवसायीलाई लाभ पुग्नेगरी प्रक्रिया अघि बढाइएको र न्यूनतम कबोलकर्तालाई अयोग्य बनाइएको पाइएको छ ।

आयोगले सबै प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो बराबर जरिवाना, कैद सजाय र बिगो असुल उपरको मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्