नेभिगेशन
विश्व

सिरियामा आइएस लक्ष्यमा बेलायत– फ्रान्सको हवाई आक्रमण

साना । बेलायती र फ्रान्सेली लडाकू विमानहरूले मध्य सिरियामा इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित हतियार र विस्फोटक भण्डारण गरिएको आशङ्का गरिएको एक भूमिगत केन्द्रमा हवाई आक्रमण गरेका छन् । बेलायती रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो ।

मन्त्रालयका अनुसार शनिबार साँझ सिरियाको होम्स प्रान्तस्थित ऐतिहासिक सहर पालमिराको उत्तरतर्फ रहेको एक पहाडी संरचनाभित्रको भूमिगत सुविधालाई लक्षित गरी आक्रमण गरिएको थियो । सो स्थानमा आइएसका सदस्यहरूले हतियार तथा विस्फोटक सामग्री भण्डारण गरेको सूचनाका आधारमा कारबाही गरिएको जनाइएको छ ।

बेलायत र फ्रान्स विगत एक दशकभन्दा बढी समयदेखि आइएसविरुद्ध सङ्घर्ष गर्दै आएको अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनका सदस्य राष्ट्र हुन् । जारी विज्ञप्तिअनुसार बेलायती वायु सेनाले भोयजर रिफ्युलिङ ट्याङ्करको सहयोगमा टाइफुन एफजिआर–४ लडाकू जेट प्रयोग गरेको थियो भने फ्रान्सेली लडाकू विमानहरू पनि संयुक्त आक्रमणमा सहभागी भएका थिए । बेलायती वायु सेनाले पेभवे–४ निर्देशित बम प्रयोग गरी उक्त भूमिगत केन्द्रका तलतर्फ रहेका धेरै पहुँच सुरुङहरूलाई लक्षित गरेको जनाएको छ । मन्त्रालयका अनुसार आक्रमणपछिको विस्तृत मूल्याङ्कन प्रक्रिया जारी रहे पनि प्रारम्भिक सङ्केतहरूले ‘लक्ष्य सफलतापूर्वक संलग्न गरिएको’ देखाएको छ ।

बेलायतका रक्षामन्त्री जोन हेलीले यस कारबाहीले मध्यपूर्व क्षेत्रमा आइएस र यसको ‘हिंसात्मक विचारधारा’ को कुनै पनि पुनरुत्थान रोक्न बेलायत आफ्ना सहयोगी राष्ट्रहरूसँग काँधमा काँध मिलाएर उभिन प्रतिबद्ध रहेको सन्देश दिएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्