नेभिगेशन
अर्थतन्त्र

सात वर्षमा बन्यो कोहलपुर–सुर्खेत प्रसारण लाइन

काठमाडौं – कर्णाली प्रदेशको विद्युतीकरण विस्तार तथा प्रसारण र वितरण प्रणालीको गुणस्तर सुधार लागि महत्त्वपूर्ण मानिएको १३२ केभी कोहलपुर– सुर्खेत प्रसारण लाइन आगामी माघदेखि सञ्चालनमा आउने भएको छ । बाँकेको कोहलपुरदेखि सुर्खेतसम्म ५२ किलोमिटर लामो प्रसारण लाइन निर्माण सुरु भएको ७ वर्षमा सम्पन्न भई सञ्चालनमा आउन लागेको हो ।

प्रसारण लाइनको ९९ प्रतिशत काम सम्पन्न भइसकेकाले सम्भव भएसम्म माघ दोस्रो साताभित्र सञ्चालनमा ल्याउन सकिने आयोजना प्रमुख रविकुमार चौधरीले बताए । उनले बाँकी काम सम्पन्न गर्न २५ दिन लाग्ने जानकारी दिए ।

‘पछिल्लो तालिकाअनुसार गत कात्तिकदेखि नै प्रसारण लाइनको बाँकी काम सम्पन्न गरेर सञ्चालनमा ल्याउने गरी काम भइरहेको थियो,’ उनले भने, ‘तर, वन क्षेत्रमा काम गर्दै जाँदा चिसो सुरु भएदेखि हुस्सु लागेर ड्रोनको प्रयोग गरेर एउटा टावरबाट अर्को टावरसम्म तार तान्ने काम हुन नसक्दा काम प्रभावित भइरहेको छ ।’

निकुञ्ज क्षेत्रमा पर्ने रुटमा तार तान्न ड्रोनको प्रयोग गरिएको छ । निकुञ्ज क्षेत्रभित्र पर्ने प्रसारण लाइनको रुटमा रुख कटान गरेर छोडिए पनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा आयोजना स्थलमा गएर काम गर्न समस्या भएको छ । यसअघि पनि निकुञ्ज क्षेत्रको रुटमा रुख कटानको स्वीकृति लिन समय लाग्दा आयोजना सम्पन्न हुन सात वर्ष लागेको चौधरीले बताए ।

प्रसारण लाइनका १६२ वटा टावर निर्माण भइसकेको छ । चौधरीका अनुसार वन क्षेत्रमा अब दुई किलोमिटर खण्डमा मात्रै तार तान्न बाँकी छ । मौसमले साथ दिएको खण्डमा यो काम सम्पन्न हुन करिब एक साता समय लाग्ने छ । ‘

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि आयोजना स्थल पुगेर अबको दुई साताभित्र बाँकी काम सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

यसअघि प्रसारण लाइन निर्माण हुने जिल्लाका स्थानीयले अवरोध गरेको र निकुञ्ज क्षेत्रको रुख कटानको स्वीकृति ढिलो आएकोले ठेकेदार कम्पनीलाई साइट क्लियर गरेर दिन नसक्दा काममा ढिलाइ भएको थियो ।

भारतको आरएस इन्फ्राप्रोजेक्ट कम्पनीले प्रसारण लाइन निर्माणको काम गरिरहेको छ । सोृ कम्पनीसँग २०७६ असार २२ गते ठेक्का सम्झौता भएको थियो । त्यसपछि २०७७ असारदेखि प्रसारण लाइनको रुटमा काम गर्न सुरु भऐको थियो । सम्झौताअनुसार ३ वर्षभित्र काम सम्पन्न गरी प्राधिकरणलाई हस्तान्तरण गरिसक्नु पर्ने थियो, तर प्राधिकरणले प्रसारण लाइनको रुट खाली गरेर दिन नसकेपछि निर्माण अवधि लम्बिँदै गएको हो । पाँच पटकसम्म म्याद थपिएको थियो ।

बाँकेको वैजनाथ गाउँपालिका–१ गाभर र बाँनियाटारका स्थानीयले आयोजना विरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका कारण प्राधिकरणले ४२ महिनासम्म साइट क्लियर गरेर दिन सकेको थिएन । पछि उच्च अदालतले मुआब्जा लिएर निर्माण रोक्न नहुने जनाउँदै रिट खारेज गरिदिएपछि काम अगाडि बढेको थियो । प्रसारण लाइन सञ्चालनमा आउँदा कर्णाली प्रदेशको विद्युतीकरण विस्तार तथा गुणस्तर सुधार हुने प्राधिकरणले जनाएको छ । अहिले ३३ केभी प्रसारण लाइनबाट विद्युतीकरण गरिएको छ । ३३ केभी प्रसारण लाइन लामो हुँदा तथा चुहावट धेरै हुँदा कर्णालीमा ट्रिपिङ तथा लो– भोल्टेजको समस्या छ ।

यो आयोजनाका लागि ६० करोड रुपैयाँ खर्च हुने अनुमान छ । सुरुमा ६५ करोड रुपैयाँ लागत अनुमान गरिएपनि ठेकेदार कम्पनीले ६० करोड रुपैयाँमा सम्पन्न गर्ने गरी बोलपत्र कबोल गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र