काठमाडौं – साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबार मापक नेप्से परिसूचक १०.२९ अंकले घटेर २,६१०.६३ विन्दुमा कायम भएको हो ।
सूचक घटे पनि पाँच अर्ब एक करोड ७५ लाख रुपैयाँ बराबरको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर किनबेच भएको छ । कारोबार भएका २५९ कम्पनीमध्ये १७१ वटाको शेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । ७९ कम्पनीका शोयरधनीले भने यसदिन पनि कमाएका छन् । बाँकी नौ कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो ।
सूचीकृत १३ समूहमध्ये होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापारबाहेक सबै घटेका छन् । एक्सचेञ्जका अनुसार होटल तथा पर्यटन समूह ०.६२, उत्पादन तथा प्रशोधन १.०४ र व्यापार समूह ०.३४ प्रतिशतले बढेको छ ।
बैंकिङ ०.१४, विकास बैंक ०.८०, फाइनान्स ०.१३, जलविद्युत् ०.४९, लगानी ०.३२, जीवन बीमा ०.८८, लघुवित्त ०.३२, म्युचुअल फण्ड ०.२९, निर्जीवन बीमा ०.८६ र अन्य समूह १.६९ प्रतिशतले घटेको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । सान्भी इनर्जीको शेयरमूल्य पनि ९.१६ प्रतिशत बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य रहेको छ । यो कम्पनीका शेयरधनीले सर्वाधिक ४.३२ प्रतिशत गुमाएका छन् ।
कारोबार रकमका आधारमासबैभन्दा धेरै एसवाई प्यानल नेपालको ३० करोड, ६५ लाख, ८५ हजार, ७६ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको छ लाख ३४ हजार ७४९ कित्ता शेयर किनबेच भएको छ ।
लगानीकर्ताको सम्पत्ति एक दिनमा १७ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४३ खर्ब ८३ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि पाँच अर्ब रुपैयाँ घटेर १४ खर्ब ८७ अर्ब रुपैयाँ कायम भएको छ ।