कैलाली । सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा लगानीमैत्री आर्थिक वृद्धि र वित्तीय सुदृढीकरणको पाटोलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।
प्रदेश सरकारले तयार पारेको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि आइतबार धनगढीमा भएको छलफलमा सहभागीले शिक्षा सुधार, सीप विकास, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धन, स्वास्थ्य सेवाको पहुँच विस्तार र मानव विकास सुदृढीकरणलाई योजनाको प्रमुख अंग बनाउनुपर्ने सुझाव दिएका थिए ।
यस्तै, समावेशी सामाजिक विकास, सामाजिक न्याय, महिला, बालबालिका, दलित, अपांगता भएका व्यक्ति तथा पिछडिएका समुदायको सशक्तीकरणलाई पनि योजनामा समेट्नुपर्ने सुझाव दिइएको छ । सुशासन, पारदर्शिता, संस्थागत क्षमता विकासका साथै संघ, प्रदेश, र स्थानीय तहबीच समन्वय तथा सहकार्यलाई मजबुत बनाउनुपर्ने, कृषि, पशुपालन तथा ग्रामीण अर्थतन्त्रको रूपान्तरण, उद्योग तथा उद्यमशीलता प्रवर्द्धनमार्फत रोजगारी सिर्जना, पर्यटन विकास र प्रदेशलाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा पनि सहभागीले जोड दिएका छन् ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष एवं मुख्यमन्त्री कमलबहादुर शाहले दीर्घकालीन लक्ष्य प्राप्तिलाई केन्द्रमा राखेर योजना अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले प्रदेशको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण, दिगो नीति र परिणाममुखी कार्यक्रम अपरिहार्य रहेकामा जोड दिए ।
प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष डा जीवन रानाले दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा, योजनाको पृष्ठभूमि, आवश्यकता र प्राथमिकतामाथि प्रकाश पारे ।
उनले प्रदेशको सामाजिक, आर्थिक तथा भौगोलिक विशेषतालाई ध्यानमा राख्दै तयार पारिएको योजनाको मस्यौदामा प्रदेशको विकास यात्रालाई व्यवस्थित, समावेशी र दिगो बनाउने लक्ष्यका साथ विभिन्न क्षेत्रलाई समेटिएको बताए ।
पञ्चवर्षीय योजनाको मस्यौदा निर्माण टोलीका डा हेमराज लामिछानेले अवधारणापत्र प्रस्तुत गरे । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव, मन्त्री, नीति निर्माता, विज्ञ तथा सरोकार भएकाहरूको सहभागिता थियो ।