रौतहट पाँच कोठे अर्धपक्की भवनमा २० वटा झ्याल छन् । तर अधिकांश झ्यालमा पल्ला छैनन् । केही झ्यालमा एउटा मात्र पल्ला जडान गरिएको छ भने धेरैजसो झ्याल खुल्लै थिए । केहीमा अहिले बोरा ठोकिएका छन् ।
विद्यार्थी चिसोमा पढ्न बसेको दृश्य टिठलाग्दो छ । बेला–बेला झ्यालका ठाउँमा ठोकेका बोरालाई हावाले हिर्काउँछ, विद्यार्थी लुगलुग कम्छन् । यो नेपाल राष्ट्रिय प्राथमिक विद्यालय हो । रौतहटको पूर्व–पश्चिम राजमार्गबाट करिब १२ किलोमिटर दक्षिण–पूर्वमा अवस्थित छ ।
जिल्लाका १८ वटा पालिकामध्ये सुगम मानिने चन्द्रपुर नगरपालिका–१० मा रहेको यो विद्यालय स्थापनाको १९ वर्ष पुगेको छ । दुईवटा भवन छन् । एउटा दुई कोठे पक्की र अर्को काठका खाँबामा जस्ताको छानो अड्याइएको अर्धपक्की । दुई कोठे पक्की भवनमा बालविकास कक्षा र विद्यालयको कार्यालय छ भने अर्धपक्की भवनमा कक्षा १ देखि ५ सम्मका कक्षा छन् ।
तीन सातादेखि रौतहटसहित तराई–मधेशका जिल्लाहरू चिसो र शीतलहरको चपेटामा परेका छन् । चन्द्रपुर नगरपालिकाले चिसोकै कारण एक साता विद्यालय बिदा दिएको थियो । बिदा सकिएपछि आइतबारदेखि पढाइ सुरु भएको छ । तर कक्षाकोठामा झ्याल नहुँदा चिसो हावाले विद्यार्थीहरू कठ्यांग्रिन थाले । विद्यालयले झ्यालमा बोरा ठोकेर पनि पठनपाठन गराइरहेको हो ।
विद्यालयका प्रधानाध्यापक आर्यन झाकाअनुसार अत्यधिक चिसो र स्याँठ झ्यालबाट छिर्न थालेपछि विद्यार्थीहरू जाडोले काम्न थाले । ‘विद्यार्थीहरूलाई चिसोबाट जोगाउन बाध्य भएर झ्यालमा बोरा ठोक्नु परेको हो,’ उनी भन्छन् ।
झ्यालमा पल्ला नहुँदा चिसो हावा भित्र पस्ने भएकाले पठनपाठन निकै कठिन भएको उनको गुनासो छ । ‘झ्यालमा बोरा ठोकेर चिसो हावा रोक्ने अस्थायी उपाय अपनाउँदै भए पनि पठनपाठनलाई निरन्तरता दिने प्रयास गरिरहेका छौं ।
सीमित साधन र प्रतिकूल मौसमका बाबजुद शिक्षक तथा विद्यालय परिवारको प्रतिबद्धताले कक्षा चलाउन सकिएको छ,’ उनले भने ।
यस्तो समस्या यसपटक मात्र होइन, प्रत्येक वर्ष यहाँ विद्यार्थीहरूले भोग्दै आएका छन् । जाडोयाममा झ्यालमा बोरा ठोकेर पढ्नु उनीहरूका लागि सामान्यजस्तै बनेको छ । जाडोमा चिसो, गर्मीमा तातो हावा र बर्खामा पानी कक्षाकोठाभित्र पस्दा पढाइ प्रभावित हुने गरेको छ भने विद्यार्थीहरू बिरामी पर्ने गरेका छन् ।
करिब १९ वर्षअघि निर्माण गरिएको उक्त भवनका काठका खम्बा धमिराले खाइसकेको अवस्था छ । भवनको समग्र अवस्था हेर्दा जोखिमपूर्ण देखिन्छ ।
‘कक्षाकोठामा झ्याल नहुँदा हामीलाई पढ्न निकै समस्या भइरहेको छ,’ ५ कक्षाकी छात्रा मञ्जुकुमारी साह भन्छिन् ।
त्यस्तै, कक्षा चारका छात्र विक्की महत्तोका अनुसार उनीहरूको ध्यान पढाइभन्दा बढी मौसमको चुनौतीसँग जुध्नमै केन्द्रित हुने भएकाले सिकाइ प्रक्रिया प्रभावित भइरहेको छ । बालविकास कक्षादेखि कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा विशेषगरी दलित तथा विपन्न समुदायका बालबालिका छन् । विद्यालयका अनुसार बालविकास कक्षामा ६७ र कक्षा १ देखि ५ सम्म १२५ जना विद्यार्थी छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रजाई साह जीर्ण भवन हटाएर नयाँ बनाउन विभिन्न निकायमा हारगुहार गरे पनि सुनुवाइ नभएको गुनासो गर्छन् ।
यसैबीच, चन्द्रपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक बलराम राउतले उक्त विद्यालयका लागि पक्की भवन निर्माण गर्न बजेट छुट्याउने प्रतिबद्धता जनाएका छन् ।