नेभिगेशन
राजनीति

राष्ट्रियसभा चुनावमा कांग्रेस, एमाले र नेकपा मिल्दै

७/७/४ सिट भागबण्डा सहमतिनजिक

काठमाडौं – राष्ट्रिय सभा निर्वाचनमा प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच गठबन्धन हुने भएको छ । यसका लागि शीर्ष नेतृत्व सहमतिनजिक पुगेको हो ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनका लागि एमाले, नेकपा र जनता समाजवादी पार्टी नेपालसँग सहकार्य गरेर जानेबारे छलफल भइरहेको सोमबार बसेको कार्यसम्पादन समितिको बैठकमा जानकारी गराएका थिए । संविधान बनाउने र रक्षा गर्ने शक्तिहरू मिल्नुपर्ने भन्दै त्यसका लागि चार दलबीच सहकार्यको तयारी भइरहेको बताएको बैठकका एक सहभागीले जानकारी दिए ।

कार्यसम्पादन बैठकअघि कार्यवाहक सभापति खड्का र नेता रमेश लेखकले गुण्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । ‘संविधान बनाउने र जोगाउने शक्तिहरूबीच सहकार्य गर्ने कुरा भएको छ । फेरि उहाँसँग हामी छलफल गर्छौं,’ लेखकले ओलीसँगको भेटबारे भने । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको कार्यसूची छ । रिक्त हुने १९ मध्ये १८ पदका लागि निर्वाचन हुँदैछ । स्रोतका अनुसार कांग्रेसले ८ सिट पाउने गरी दाबी गरिरहेको छ । एमालेले आफू र कांग्रेसलाई ७–७ र नेकपालाई ४ सिटमा तालमेलको प्रस्ताव राखेको छ । जसपा पनि मिलेको अवस्थामा केही सिट तलमाथि गरेर भएपनि मिलाउने उनीहरूको गृहकार्य छ ।

एमाले अध्यक्ष ओलीले आइतबार राष्ट्रियसभामा तालमेलका विषयमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गरेका थिए ।

समाचार तयार हुँदासम्म सोमबार राती सहमति संवाद जारी राखेका छन् । बुधबार राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता गर्ने चुनावी कार्यतालिका छ । मंगलबार बस्ने एमाले सचिवालय बैठक र कांग्रेस कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रियसभाका लागि आफ्नो भागमा पर्ने सिटका लागि नाम टुंगाउने उनीहरूको तयारी छ । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला अंकगणितका कारण रणनीतिक सहकार्य आवश्यक रहेको बताउँछन् । ‘राष्ट्रिय सभामा अंकगणितको कारणले मिल्नुपर्ने बाध्यात्मक अवस्था छ । यसकारण राष्ट्रिय सभामा रणनीतिक तालमेल हुन्छ,’ सोमबार सञ्चारकर्मीसँगको भेटमा सिटौलाले भने ।

नेकपाका संयोजक प्रचण्ड आफू कांग्रेस एमालेसँग तालमेलमा जाने हो भने सँगै मधेस केन्द्रित दललाई पनि जोड्ने पक्षमा रहेको नेकपाका नेताहरू बताउँछन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि तालमेलमा आउन सकारात्मक देखिएको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारी मतदाता हुन्छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ छ ।

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । रिक्त हुने स्थानका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ । रिक्त हुन लागेका १९ मध्ये एक जना मनोनीत हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ । कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, वाग्मती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
१९ पदका लागि ४४ उम्मेदवार

१९ पदका लागि ४४ उम्मेदवार

अमेरिकाले लगायो भिसामा धरौटी

अमेरिकाले लगायो भिसामा धरौटी

कुलमानले छाडे सरकार

कुलमानले छाडे सरकार