नेभिगेशन
प्रदेश

खोरेतविरुद्ध खोप अभियान चलाइने

चितवन । रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएपछि खोप अभियान थालिने भएको छ ।

अभियानमा चितवनका ८० हजार पशु चौपायालाई खोरेतविरुद्धको खोप दिइने भएको छ । पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार कार्यालयमा उपलब्ध ८० हजार डोज खोप जिल्लाका सबै पालिकामा वितरण गरिएको छ । जिल्लामा एक लाख गाईभैंसी पालिएको उनले बताए । खोरेत रोग भाइरसका कारण सर्ने गर्दछ । यो रोग लागेका गाईभैंसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भ तुहिने, दूध घटाउने, खुट्टामा घाउ हुने, दानापानी नखानेजस्ता लक्षण देखिने उनले बताए । खोरेत रोग गाई, भैंसी र बंगुरमा बढी देखिन्छ । बाहिरबाट खरिद गरेर जिल्लामा ल्याइने पशुलाई २१ दिन क्वारेन्टिनमा राखिन्छ । उनले भने, ‘संक्रमण देखिएका पशुहरूलाईसमेत छुट्टै राखेर उपचार गर्नुपर्छ ।’ जंगली जनावारहरूबाट पनि सर्न सक्ने भएकाले चरनका लागि लैजाने गाईभैंसीमा बढी यसको संक्रमण देखिने गरेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश