विराटनगर । तराई क्षेत्रमा चिसो बढेसँगै टाउको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या वृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनुजस्ता कारणले जाडो मौसममा टाउको दुखाइ बढ्ने चिकित्सकको भनाइ छ । कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्का जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमै प्रत्यक्ष असर पार्ने भएकाले यो समयमा टाउको दुखाइको समस्या लिएर आउने बिरामीको संख्या बढ्दै गएको बताउँछन् ।
‘जाडोमा शरीरको तापक्रम घट्दा रक्तनलीहरू संकुचित हुन्छन् । यसले टाउकोतर्फ जाने रक्तप्रवाहमा कमी ल्याउँछ । त्यसैले धेरै मानिसले टाउको भारी भएको, च्यापिएको जस्तो भएको वा निरन्तर दुखेको अनुभव गर्छन्,’ उनले भने ।
जाडो मौसममा देखिने टाउको दुखाइको अर्को प्रमुख कारण शरीरमा पानीको कमी हुनु पनि हो । ‘जाडोमा तिर्खा कम लाग्छ, त्यसैले मानिसले पानी कम पिउँछन् । तर शरीरलाई पानीको आवश्यकता जाडोमा पनि उत्तिकै हुन्छ । पानीको कमी हुँदा टाउको दुखाइ पहिलो संकेतका रूपमा देखिन सक्छ,’ उनी भन्छन् ।
चिसो हावाले घाँटी र काँध क्षेत्रका मांसपेशीमा प्रत्यक्ष असर पार्ने हुँदा टाउको पछाडिबाट सुरु भएर अगाडितर्फ फैलिने दुखाइ देखिन्छ । विशेषगरी मोटरसाइकल चलाउँदा घाँटी नछोप्ने, राति चिसोमा सुत्ने तथा लामो समय एउटै आसनमा बस्ने व्यक्तिमा यस्तो समस्या बढी देखिने गरेको डा. खड्का बताउँछन् ।
त्यसैगरी जाडो मौसममा नाक बन्द हुने, टाउको भारी महसुस हुने, आँखाको वरिपरि च्यापिएको जस्तो दुख्ने तथा टाउकोको अगाडिको भाग दुख्ने समस्या जाडोमा बढ्ने गर्छ । साइनसमा संक्रमण वा एलर्जी भएका व्यक्तिमा समयमै उपचार नगरे टाउको दुखाइ लामो समयसम्म रहने र कहिलेकाहीँ जटिल अवस्थासमेत आउनसक्छ ।
यसैगरी माइग्रेनका बिरामी पनि जाडो मौसममा बढी प्रभावित हुने गरेका छन् । तापक्रमको अचानक परिवर्तन, चिसो हावा, निन्द्राको गडबडी तथा मानसिक तनावले माइग्रेन ट्रिगर गर्ने चिकित्सकहरू बताउँछन् । ‘माइग्रेन हुँदा एकातर्फ मात्र टाउको दुख्ने, बान्ता आउने, उज्यालो र आवाज सहन नसक्ने लक्षण देखिन्छ । जाडो मौसम माइग्रेनका बिरामीका लागि निकै संवेदनशील समय हो,’ उनी भन्छन् ।
चिकित्सकका अनुसार जाडोमा घाम कम ताप्दा भिटामिन ‘डी’ को कमी हुने र यसले मांसपेशी दुखाइ, थकान तथा टाउको दुखाइलाई थप बढाउने गर्दछ । उच्च रक्तचाप भएका व्यक्ति, दीर्घरोगी, वृद्धवृद्धा तथा लामो समय मोबाइल र कम्प्युटर प्रयोग गर्नेहरू जाडो मौसममा टाउको दुखाइको उच्च जोखिममा पर्ने समूहमा पर्छन् । ‘बारम्बार टाउको दुख्ने, औषधि खाँदा पनि निको नहुने, दृष्टि धमिलो हुने, बान्ता आउने वा ज्वरोसँगै टाउको दुख्ने लक्षण देखिएमा ढिलाइ नगरी चिकित्सकको परामर्श लिनुपर्छ,’ उनी भन्छन् । सामान्य टाउको दुखाइलाई बेवास्ता गर्न नहुने उनको सुझाव छ ।
टाउको दुखाइबाट बच्न चिकित्सकहरूले पर्याप्त पानी पिउने, न्यानो कपडा लगाएर घाँटी र कान छोप्ने, बिहानको घाम ताप्ने, लामो समय एउटै आसनमा नबस्ने तथा घाँटी र काँधको हल्का व्यायाम गर्ने सुझाव दिएका छन् ।