नेभिगेशन
अर्थतन्त्र

पोखरा स्ट्रिट फेस्टिभलमा गोर्खा ब्रुअरीको स्वच्छ वातावरण अभियान

पोखरा – नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको स्वच्छता र सौन्दर्य संरक्षण गर्ने उद्देश्यसहित गोर्खा ब्रुअरी र काल्र्सबर्ग ग्रुपले २७औं पोखरा स्ट्रिट फेस्टिभलका अवसरमा विशेष स्वच्छ वातावरण अभियान सञ्चालन गरेका छन् ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रालिसँगको सहकार्यमा सञ्चालन गरिएको यस अभियानले महोत्सव अवधिभर उत्पन्न हुने फोहोरलाई व्यवस्थित र दिगो रूपमा व्यवस्थापन गर्न सहयोग पुर्‍याएको छ ।

प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका लागि परिचित पोखरामा ठूला सार्वजनिक कार्यक्रमका क्रममा ठूलो मात्रामा फोहोर उत्पादन हुने भएकाले सहरलाई स्वच्छ र पर्यटकमैत्री बनाइराख्न दिगो फोहोर व्यवस्थापन आवश्यक रहेको आयोजकहरूले बताएका छन् । अभियानअन्तर्गत गोर्खा ब्रुअरीले बोतल तथा क्यान, पुनः प्रयोग गर्न मिल्ने फोहोर र सुख्खा फोहोरका लागि छुट्टाछुट्टै डस्टबिन उपलब्ध गराएको थियो, जुन लेकसाइड क्षेत्रका विभिन्न स्थानमा राखिएका थिए । यसले सर्वसाधारणलाई फोहोर सही तरिकाले व्यवस्थापन गर्न प्रोत्साहन गरेको छ । संकलित फोहोरलाई भद्रकाली वेस्ट म्यानेजमेन्टले वातावरणमैत्री ढंगले प्रशोधन गरेको छ भने रेबानले स्थानीय रेष्टुरेन्ट तथा बारहरूलाई अभियानमा सक्रिय सहभागिता गराएको छ ।

ब्रुअरीका अनुसार पोखरा स्वच्छ र सुन्दर सहरका रूपमा चिनिन्छ र यस प्रकारका पहलले महोत्सवका क्रममा मात्र होइन, दीर्घकालीन रूपमा पनि स्वच्छ पोखरा निर्माणमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

महोत्सव अवधिभन्दा बाहिर पनि फोहोर व्यवस्थापनको अभ्यासलाई मजबुत बनाउने, जनचेतना अभिवृद्धि गर्ने र दिगो पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यस पहललाई दीर्घकालीन सहकार्यका रूपमा अघि बढाइने जनाइएको छ । यो अभियान वातावरणीय दिगोपन र सामुदायिक हितप्रति गोर्खा ब्रुअरीको निरन्तर प्रतिबद्धताको उदाहरण भएको बताइएको छ । नेपालभर आयोजना हुने उत्सवहरूलाई अझ जिम्मेवार र स्वच्छ रूपमा मनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र