नेभिगेशन
विश्व

ट्रम्पको तेल योजना : भेनजुएलामा नियन्त्रण

लण्डन । राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तेल भण्डारको उपयोग गर्ने प्रतिज्ञा गरेका छन् र ‘सुरक्षित’ संक्रमण नहुन्जलेसम्म अमेरिकाले नै देश ‘सञ्चालन’ गर्ने बताएका छन् ।

अमेरिकी तेल कम्पनीहरूले दक्षिण अमेरिकी राष्ट्रमा अर्बौं डलर लगानी गरून्, विश्वकै सबैभन्दा ठूलो कच्चा तेलको भण्डारको उपयोग होस् र हालसम्म खासै प्रयोगमा नआएको यो स्रोत परिचालन गर्न सकियोस् भन्ने ट्रम्प चाहन्छन् ।

उनले अमेरिकी कम्पनीहरूले भेनेजुएलाको ‘अत्यन्तै जीर्ण’ तेल पूर्वाधार मर्मत गर्ने र ‘देशका लागि पैसा कमाउन सुरु गर्ने’ बताएका छन् । तर विज्ञहरूले ट्रम्पको योजनामा ठूला चुनौतीहरू रहेको बताउँछन् । उनीहरूका अनुसार तेल उत्पादनमा अर्थपूर्ण वृद्धि गर्न अर्बौं डलर खर्च हुनेछ र एक दशकसम्मको समय लाग्न सक्छ ।

त्यसोभए, के अमेरिकाले साँच्चै भेनेजुएलाको तेल भण्डार नियन्त्रणमा लिन सक्छ ? के ट्रम्पको योजना सफल होला ? अनुमानित ३ खर्ब ३ अर्ब (३०३ बिलियन) ब्यारेलसहित भेनेजुएला विश्वको सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार भएको देश हो । तर यसको तुलनामा देशले हाल उत्पादन गरिरहेको तेलको मात्रा निकै कम छ ।

सन् २००० को दशकको सुरुदेखि नै उत्पादनमा तीव्र गिरावट आएको छ । पूर्वराष्ट्रपति ह्युगो चाभेज र त्यसपछि मादुरो प्रशासनले राज्य सञ्चालित तेल कम्पनी, पीडीभीएसएमाथि नियन्त्रण कडा बनाउँदै लगेपछि धेरै अनुभवी कर्मचारीहरू बाहिरिए ।

यद्यपि अमेरिकी कम्पनी सेभ्रोनलगायत केही पश्चिमी तेल कम्पनीहरू अझै पनि देशमा सक्रिय छन्, तर अमेरिकाले प्रतिबन्धहरू बढाउँदै लगेको र मादुरोको प्रमुख आर्थिक स्रोत रोक्ने उद्देश्यले तेल निर्यातलाई लक्षित गरेपछि उनीहरूको सञ्चालन उल्लेख्यरूपमा खुम्चिएको छ ।

सन् २०१५ मा राष्ट्रपति बाराक ओबामाको प्रशासनका बेला कथित मानव अधिकार उल्लंघनको कारण अमेरिकाले पहिलो पटक लगाएका प्रतिबन्धहरूले देशलाई लगानी र आवश्यक पार्टपुर्जाबाट ठूलो हदसम्म वञ्चित गरेको थियो । इन्भेस्टेकका कमोडिटी प्रमुख क्यालम म्याकफर्सनले भने, ‘उनीहरूको वास्तविक चुनौती भनेको पूर्वाधार नै हो ।’

अक्सफोर्ड इन्स्टिच्युट फर इनर्जी स्टडिजका वरिष्ठ अनुसन्धान फेलो बिल फारेन प्राइसले बीबीसीलाई बताएअनुसार भेनेजुएलाको तेल उद्योगको ‘स्वर्णयुग दशकौंअघि नै थियो’ र विगत २० वर्षमा यसमा तीव्र गिरावट आएको छ ।

‘धेरैजसो जटिल आपूर्ति शृंखला र पूर्वाधारहरू लुटिएका छन्, भत्काइएका छन् र बेचिएका छन्,’ उनले थपे ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को पछिल्लो तेल बजार प्रतिवेदनअनुसार, नोभेम्बरमा भेनेजुएलाले अनुमानित ८ लाख ६० हजार ब्यारेल प्रतिदिन उत्पादन गर्‍यो ।

यो १० वर्ष अघिको तुलनामा एक तिहाइ मात्र हो र विश्वको तेल खपतको १ प्रतिशतभन्दा कम हो ।

देशको तेल भण्डार तथाकथित ‘हेभी’ (बाक्लो/गह्रौं) र ‘सावर’ (गन्धकयुक्त) तेलले बनेको छ । यसलाई प्रशोधन गर्न गाह्रो हुन्छ, तर डिजेल र एस्फाल्ट बनाउन उपयोगी हुन्छ । अमेरिकाले सामान्यतया पेट्रोल बनाउन प्रयोग हुने ‘लाइट, स्विट’ (हल्का र कम गन्धक भएको) तेल उत्पादन गर्छ ।

मादुरोलाई पक्रनुअघिको कारबाहीका क्रममा अमेरिकाले भेनेजुएलाको तटबाट दुईवटा तेल ट्यांकर कब्जामा लिनुका साथै देश भित्रिने र बाहिरिने प्रतिबन्धित ट्यांकरहरूलाई नाकाबन्दी गर्न आदेश दिएको थियो ।

ठूलो लगानीको आवश्यकता

डेटा प्लेटफर्म ‘केप्लर’का वरिष्ठ कमोडिटी विश्लेषक होमायुँ फलकशाहीका अनुसार भेनेजुएलाको भण्डार उपयोग गर्न चाहने तेल कम्पनीहरूका लागि मुख्य अवरोध कानूनी र राजनीतिक हुन् ।

बीबीसीसँग कुरा गर्दै उनले भने– भेनेजुएलामा ड्रिलिङ (उत्खनन) गर्न चाहनेहरूलाई सरकारसँग सम्झौता आवश्यक पर्नेछ, जुन मादुरोको उत्तराधिकारी चयन नभएसम्म सम्भव हुनेछैन । फलकशाहीले थपे– कम्पनीहरूले भविष्यको भेनेजुएला सरकारको स्थिरतामाथि अर्बौंको लगानी दाउमा लगाउनुपर्ने अवस्था आउनेछ ।

‘राजनीतिक अवस्था स्थिर भए पनि यो महिनौं लाग्ने प्रक्रिया हो,’ उनले भने । ट्रम्पको योजनाको फाइदा लिन चाहने कम्पनीहरूले भेनेजुएलामा पूर्वाधारमा लगानी बढाउने प्रक्रिया सुरु गर्नुअघि नयाँ सरकार गठन भएपछि उनीहरूसँग सम्झौता गर्नुपर्ने हुन्छ ।

विश्लेषकहरूले भेनेजुएलाको पुरानो उत्पादन क्षमता फर्काउन दशौं अर्ब डलर र सम्भवतः एक दशक लाग्न सक्ने चेतावनी पनि दिएका छन् । क्यापिटल इकोनोमिक्सका प्रमुख अर्थशास्त्री निल सियरिङले ट्रम्पको योजनाले विश्वव्यापी आपूर्ति र तेलको मूल्यमा सीमित प्रभाव पार्ने बताए ।

उनले भने, ‘पार गर्नुपर्ने अवरोधहरूको संख्या अत्यधिक छ र के हुन्छ भन्ने समयसीमा यति लामो छ कि २०२६ मा तेलको मूल्यमा खासै परिवर्तन नदेखिन सक्छ ।

सियरिङ भन्छन्, ‘भेनेजुएलामा स्थिर सरकार नबनेसम्म फर्महरूले लगानी गर्ने छैनन् र परियोजनाहरूले ‘धेरै वर्षसम्म’ प्रतिफल दिने छैनन् । यसको मूल कारण चाहिँ दशकौंदेखि यहाँ न्यून लगानी, अव्यवस्था र उत्खनन महँगो हुनु हो ।’

भेनेजुएलाले दैनिक करिब ३० लाख ब्यारेलको अघिल्लो उत्पादनस्तरमा फर्कन सके पनि, यो अझै पनि विश्वका शीर्ष १० उत्पादकहरूभन्दा बाहिरै हुनेछ । सियरिङले ओपेक प्लस देशहरूको उच्च उत्पादनतर्फ संकेत गर्दै भने, ‘विश्वले अहिले तेलको अभाव भोगिरहेको छैन ।’

ब्रिटिश पेट्रोलियमका पूर्व मुख्य कार्यकारी लर्ड ब्राउनले बीबीसीलाई भने, ‘भेनेजुएलाको तेल उद्योगलाई पुनर्जीवित गर्नु भनेको निकै दीर्घकालीन परियोजना हो । मानिसहरू काम गर्न लाग्ने समयलाई कम आँक्छन् । सबै स्रोतसाधन, विशेष गरी सामग्री र जनशक्ति जुटाउन निकै लामो समय लाग्छ ।’

यद्यपि केही उत्पादनमा ‘छिटो सुधार’ हुन सक्ने पनि उनले बताए । उनले थपे, ‘उद्योग पुनर्गठन भइरहँदा उत्पादन वास्तवमा घट्न पनि सक्छ ।’

भेनेजुएलामा सक्रिय तेल उत्पादकमध्ये सेभ्रोन एक मात्र अमेरिकी तेल उत्पादक हो । यसले पूर्व राष्ट्रपति जो बाइडेनको पालामा सन् २०२२ ताका अमेरिकी प्रतिबन्धका बाबजुद सञ्चालन अनुमति पाएको थियो ।

हाल भेनेजुएलाको तेल उत्खननको करिब पाँचौं हिस्सा ओगट्ने यो कम्पनीले आफू कर्मचारीहरूको सुरक्षामा केन्द्रित रहेको र ‘सबै सान्दर्भिक कानून तथा नियमहरूको पालना’ गरिरहेको बताएको छ ।

अन्य ठूला तेल कम्पनीहरूले अहिलेसम्म योजनाबारे सार्वजनिकरूपमा मौनता साँधेका छन्, केवल सेभ्रोनले मात्र स्थितिलाई सम्बोधन गरेको छ । तर, फलकशाहीले भने कि तेल हाकिमहरूले यस अवसरको फाइदा लिने कि नलिने भन्नेबारे आन्तरिकरूपमा छलफल गरिरहेका छन् ।

विगतका अनुभवहरूका कारण तेल कम्पनीहरू भेनेजुएला फर्कन हिचकिचाउन सक्छन् । सन् २००० को दशकमा सम्पत्ति जफत गरिएपछि एक्सन मोबिल र कोनोको फिलिप्सले अझै पनि भेनेजुएलासँग अर्बौंको क्षतिपूर्ति मागिरहेका छन् ।

यद्यपि, अत्यधिक अनिश्चित राजनीतिक अवस्थाका बाबजुद, फलकशाहीले भने, ‘सम्भावित लाभ बेवास्ता गर्न नसकिने गरी ठूलो मानिन सक्छ ।’

‘कम्पनीहरू यसमा संलग्न हुन चाहन्छन् किनभने ‘विश्वका विभिन्न भागमा व्यापारका विकल्पहरू हुनु राम्रो कुरा हो,’ लर्ड ब्राउनले भने, ‘व्यापारको एक हिस्साका रूपमा, यदि तपाईं कम्पनी चलाउँदै हुनुहुन्छ भने... तपाईं निकै छिटो यसमा संलग्न हुन चाहनुहुन्छ ।’

भेनेजुएला संकट गहिरिँदै

यही बेला युरोपेली संघ (ईयू) ले भेनेजुएलामा थप तनाव नबढोस् भन्नका लागि सबै पक्षलाई ‘शान्ति र संयम’ अपनाउन आग्रह गरेको छ । ईयूका उच्च प्रतिनिधिद्वारा जारी वक्तव्यमा अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघको बडापत्र ‘सबै अवस्थामा पालना हुनुपर्ने’ उल्लेख गरिएको छ । साथै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूमाथि ती सिद्धान्तहरूको रक्षा गर्ने विशेष जिम्मेवारी रहेको पनि वक्तव्यमा भनिएको छ ।

युरोपेली बाह्य कार्य सेवा (ईईएएस) ले सार्वजनिक गरेको पाठअनुसार, हंगेरीबाहेक २६ ईयू सदस्य राष्ट्रहरूले उक्त वक्तव्यलाई समर्थन गरेका छन् ।

३२ क्युबालीको मृत्यु

क्युबाली सरकारले भेनेजुएलामा अमेरिकी सैन्य कारवाहीमा ३२ जना आफ्ना सेना र प्रहरीको मृत्यु भएको आधिकारिकरूपमा पुष्टि गरेको छ ।

क्युबाली अधिकारीहरू भेनेजुएलाको सरकारको अनुरोधमा त्यहाँ सुरक्षा र सैन्य कार्यमा संलग्न थिए । क्युबाली सरकारी टेलिभिजनमार्फत जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा नागरिकहरूले आफ्नो जिम्मेवारी इमानदारी र वीरतापूर्वक पूरा गरे । उनीहरू प्रत्यक्ष लडाईं वा सुविधामा भएको बमबारीमा ज्यान गुमाए । उनीहरूले आफ्नो कर्तव्य सम्मानपूर्वक निर्वाह गरे ।’

घटनापछि क्युबाले दुई दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । हावानामा सार्वजनिक कार्यक्रम र सरकारी समारोहहरू स्थगित गरिएको छ ।

क्युबा र भेनेजुएला लामो समयदेखि नजिकका राजनीतिक र सैन्य सहयोगी रहेका छन् । क्युबाले भेनेजुएलामा सुरक्षा, सेना र प्रहरी अधिकारी पठाउँदै आएको छ । यस घटनाले क्युबाली सैनिकहरूको भूमिकाबारे अन्तर्राष्ट्रिय चासो बढाएको छ ।

विश्लेषकहरूले यस घटनालाई अमेरिकी–क्युबा–भेनेजुएला सम्बन्धमा नयाँ तनावको संकेत भएको टिप्पणी गरेका छन् । आगामी दिनमा क्युबाली सरकारको प्रतिक्रिया र अमेरिकी प्रशासनको रणनीति विशेष निगरानीको विषय बन्ने अपेक्षा गरिएको छ ।

कूटनीतिक र आर्थिक दबाब बढाउँदै अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग सम्बन्धित नीतिगत निर्णयमा सबै विकल्प खुला राख्ने नीति अपनाउने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन् । भेनेजुएलाको अन्तरिम नेतृत्वले आगामी दिनमा लिने कदमहरूलाई अमेरिकाले चासोपूर्वक मूल्यांकन गर्ने बताए ।

शनिबारको कारबाहीपछि ट्रम्पले भेनेजुएलामा राजनीतिक संक्रमण प्रक्रिया अमेरिकी अपेक्षाअनुसार अघि नबढेसम्म व्यवस्थापनमा संलग्न रहने धारणा राखेका थिए । उक्त कारबाहीपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो हाल न्यूयोर्कमा अमेरिकी हिरासतमा रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्