बेइजिङ । याङ सिङ्युएले प्रविधि कम्पनी शाओमीले आफ्नो विद्युतीय सवारी (ईभी) कारखानाको निःशुल्क भ्रमण गराइरहेको खबर सुन्नासाथ सबै काम छाडेर टिकटका लागि आवेदन दिइन् ।
तर सम्भावना सहज थिएन । शाओमीले गत जनवरीमा बेइजिङको बाहिरी क्षेत्रमा रहेको अत्याधुनिक स्वचालित कारखानामा सर्वसाधारण प्रवेशका लागि अनलाइन लटरी सुरु गरेपछि स्थानीय बासिन्दा र पर्यटकहरू एकैसाथ आवेदन दिन हतारिए । सामाजिक सञ्जालमा खबर तीव्र गतिमा फैलियो । आकर्षक फोटो खिच्ने अवसर खोजिरहेका इन्फ्लुएन्सरहरूदेखि आफ्ना सन्तानलाई प्रविधि क्षेत्रमा करिअर रोज्न प्रेरित होस् भन्ने चाहना राख्ने ‘टाइगर आमाहरू’सम्म सबै रोबोट–सञ्चालित एसेम्बली लाइनको झलक पाउने प्रतिस्पर्धामा उत्रिए ।
डिसेम्बर र जनवरीमा करिब २०० वटा भ्रमणका लागि एक लाखभन्दा बढी मानिसले लटरीमा आवेदन दिएका थिए, जसले यो ईभी कारखानामा प्रवेश पाउनुलाई केही प्रतिस्पर्धात्मक कलेजमा भर्ना हुनुभन्दा पनि कठिन बनायो ।
कारप्रेमी याङ आफ्ना दुई वर्षका छोरालाई कारखाना नजिकबाट देखाउन चाहन्थिन् । उनको आश्चर्यका लागि, गत मार्चमा उनी भ्रमणका लागि छनोट भइन्, जसमा दुई जनासम्म अतिथि ल्याउन पाउने सुविधा थियो । ‘म धेरै भाग्यमानी थिएँ,’ बेइजिङकी ३५ वर्षीया कन्टेन्ट क्रिएटर याङले भनिन् । तर उनका छोरा सँगै जान पाएनन्, किनकि शाओमीले भ्रमणमा सहभागी हुन कम्तीमा ६ वर्ष उमेर अनिवार्य गरेको छ । त्यसैले उनले एक जना साथीलाई लगिन् र छोरा उमेर पुगेपछि फेरि जाने योजना बनाएकी छन् ।
एक घण्टाको भ्रमणका क्रममा उनले कारखानाको भुइँतलामा सयौं स्वचालित रोबोटिक हात र मेसिनहरू देखिन् । चीनको प्रविधि विकास कति तीव्र भएको छ भन्नेबारे उनले नयाँ बुझाइ पाएको बताइन् । ‘यो अत्यन्त उन्नत औद्योगिक कारखाना थियो,’ उनले भनिन्, ‘मैले सोचें– ओहो, गाडी त यसरी पो बनाइने रहेछ !’
प्रविधि शिक्षा यही कारण चीनमा औद्योगिक पर्यटन लोकप्रिय बन्दै गएको छ । विश्वको ‘कारखाना’ भनेर चिनिएको चीनले उन्नत प्रविधिमा पनि विश्व नेतृत्व हासिल गर्दै जाँदा बेइजिङले उच्च प्रविधियुक्त उत्पादनप्रति राष्ट्रिय गौरव बढाइरहेको छ । नगर सरकारले सन् २०२७ सम्म वार्षिक २ करोड औद्योगिक पर्यटन भ्रमण आकर्षित गर्ने लक्ष्य हालै तय गरेको छ ।
यसबीच चिनियाँ कम्पनीहरू अत्यन्त प्रतिस्पर्धात्मक बजारमा ग्राहकसँग जोडिने नयाँ उपाय खोजिरहेका छन् । ईभी निर्माता एनआईओ, दुग्ध उत्पादक मेङनिउ, बियर निर्माता छिङदाओ लगायतका कम्पनीहरूले आयोजना गर्ने कारखाना भ्रमणमा मानिसहरूको भीड बढ्दो छ ।
सन् २०२४ मा पहिलो ईभी सार्वजनिक गरेको शीर्ष स्मार्टफोन निर्माता शाओमीले ग्राहकको माग आएपछि सर्वसाधारणका लागि भ्रमण सुरु गरेको हो । जाडोयामको बिदामा रहेका विद्यार्थीहरूलाई पनि समेट्न कम्पनीले जनवरीका लागि भ्रमण संख्या डिसेम्बरको ११८ बाट बढाएर १२६ पुर्यायो ।
गत महिना चिठ्ठा पारेकी एक आमाले छोरीका आँखा कारखानामा चम्किएको देख्दा छिमेकी हेबेई प्रान्तबाट गरेको यात्रा सार्थक भएको बताइन् । ‘सबैभन्दा राम्रो शिक्षा भनेको बच्चालाई आफ्नै आँखाले प्रविधिको शक्ति देख्न दिनु हो,’ उनले सामाजिक सञ्जालमा लेखिन्, ‘यो ‘धेरै मेहनत गरेर पढ’ भनेर सयपटक भन्नुभन्दा प्रभावकारी हुन्छ ।’
त्यही ‘स्टेम’ (साइन्स, टेक्नोलजी, इञ्जिनियरिङ र म्याथम्याटिक्स) प्रेरणाको खोजीमा आमाहरू अहिले चिठ्ठा कसरी पार्ने भन्ने टिप्स साटासाट गर्न थालेका छन् । एउटा सल्लाहः शाओमीबाट फोन आएमा अवश्य उठाउनुहोस् । ‘मेरो पहिलो बुकिङ असफल भयो, सायद श्रीमानले फोन नउठाएकाले,’ बेइजिङकी एक महिलाले स्याओहङशुमा लेखिन् ।
गत वर्षको एउटा भ्रमणमा करिब ३० जना सहभागी थिए, जसमा प्राथमिक विद्यालय उमेरका पाँच बालबालिका, तीन किशोर–किशोरी र हात समातेर हिँडिरहेका दुई युवा जोडी थिए । केहीले चेक–इन टेबलनजिकै सुटकेस राखेका थिए । सबैले चिनियाँमा ‘पर्यटक’ र अंग्रेजीमा ‘साइटसियर’ लेखिएको स्टिकर लगाएका थिए ।
कारखानाभित्र १५ मिनेटको यात्राअघि आगन्तुकलाई मोबाइल फोन लक गर्न पाउच दिइन्छ; फोटो वा भिडियो खिच्न निषेध हुन्छ । गल्फ कार्टजस्तै सवारीले पर्यटकलाई मेकानिकल हात र मेसिनको आवाजबीच मार्गदर्शन गर्छ ।
पछि भने फोटो खिच्ने प्रशस्त अवसर हुन्छ । सहभागीहरूले शाओमी एसयु७ (पोर्शे जस्तै देखिने र करिब ३० हजार डलरबाट सुरु हुने र प्रतीक्षा सूचीमा रहेको) कारको टेस्ट राइड गर्न सक्छन् । आगन्तुकले कम्पनीको क्यान्टिनमा करिब २ डलर बराबरको सेट खाजा पनि खान सक्छन् । एक महिलाले क्यान्टिनमा खाएको भात र तरकारीको तस्बिर स्याओहङशुमा पोस्ट गरिन् । ‘मूल्य सस्तो छ, तर स्वाद साँच्चै राम्रो छैन,’ उनले लेखिन्, ‘यदि दैनिक यस्तै स्वाद हो भने त ती मिहिनेती कर्मचारीका लागि दुःखी भएँ ।’
फोटोका अवसर
कतिपय मानिस केवल शोरूम लबीमा तस्बिर खिच्न आउँछन्, जहाँ ऐनाले ढाकिएको छतबाट मोबियस स्ट्रिपमा झुन्डिएको बिजुली नीलो एसयू७ गाडी देखिन्छ । यो ‘दा का’ (चिनियाँ पर्यटकहरू विशेष रूपमा तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्न जाने प्रवृत्ति)को लोकप्रिय स्थल बनेको छ ।
टेक बज चीन नामक अनुसन्धान संस्थाकी संस्थापक रुई माले विश्वव्यापी लगानीकर्ताका लागि चीन भ्रमण आयोजना गर्ने क्रममा शाओमी र एनआईओका कारखानाको निजी भ्रमण गरेकी छन् । त्यहाँ बालबालिकाले प्रविधि कम्पनी र व्यापार मेलामा भ्रमण गरिरहेको देखेपछि उनी संसारभरका विद्यार्थीका लागि चीनमा स्टेम (साइन्स, टेक्नोलजी, इञ्जिनियरिङ र म्याथम्याटिक्स) शिक्षा भ्रमण आयोजना गर्न प्रेरित भइन् ।
सिलिकन भ्यालीमा बसोबास गर्ने माले आफ्नै बच्चाहरूलाई पनि कारखाना घुमाउन चाहन्छिन्, तर केही वर्ष कुर्नुपर्नेछ । उनीहरू अहिले ३ र १ वर्षका छन् । ‘म कहिल्यै आफ्ना बच्चालाई कारखाना घुमाउन लैजाने सोचमा थिइनँ,’ उनले भनिन्, ‘तर अहिले लाग्छ, त्यो त साँच्चै खराब विचार होइन रहेछ ।’