नेभिगेशन
अर्थतन्त्र

महालक्ष्मी विकास बैंकको लाभांश साधारणसभाबाट पारित

काठमाडौं – महालक्ष्मी विकास बैंकको २४औं वार्षिक साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश स्वीकृत भएको छ । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सोमबार सम्पन्न साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.३७ प्रतिशत लाभांश अनुमोदन गरेको हो । सो लाभांशमध्ये पाँच प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ५.३७ प्रतिशत नगद लाभांश रहेको छ ।

साधारणसभाले २०८२ साल असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँफाँट हिसाब, ईक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरू स्वीकृत गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा सम्पूर्ण वित्तीय सूचकहरू सकारात्मक रहेको जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा आधार दर ९.३९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा ६.९४ प्रतिशत रहेको छ । साथै पुँजीकोष पर्याप्तता अनुपातमा सुधार भई १४.९३ प्रतिशतबाट वृद्धि भई १७.०६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा बैकको निक्षेप ५६ अर्ब २२ करोड रुपैयाँ रहेको छ भने कर्जा तथा सापटी ४७ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

साधारणसभाले संस्थापकतर्फका तीन जना र सर्वसाधारणतर्फका तीन जना गरी ६ जना सञ्चालक समितिको चयन गरेको छ । संस्थापक शेयरधनी समूहबाट राजेश उपाध्याय, संजय गिरि, सागर मल्ल र सर्वसाधारण शेयरधनी समूहबाट श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र शालिकराम अर्याल निर्वाचित भएका छन् । साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले राजेश उपाध्यायलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र