नेभिगेशन
अर्थतन्त्र

नेपाल लाइफको लाभांश स्वीकृत

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश वार्षिक साधारणसभाबाट पारित गरेको छ । पुस १९ गते पर्साको वीरगंजमा सम्पन्न भएको २६औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको २१.०५ प्रतिशत लाभांश स्वीकृत गरेको हो । यसमध्ये ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित १६.०५ प्रतिशत नगद लाभांश रहेको छ ।

साधारणसभाले कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि निर्धारण गरेको छ ।

साधारणसभाले संस्थापक समूहअन्र्तगत गोविन्दलाल संघई, कमलेशकुमार अग्रवाल र विवेककुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभा पछि बसेको सञ्चालक समितिको बैठकले गोविन्दलाल संघईलाई सर्वसम्मतिबाट अध्यक्ष चयन गरेको छ । साधारणसभामा कम्पनीका अध्यक्ष संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई चुनौतिहरूबीच अझै थप उचाईमा पुर्‍याउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहक केन्द्रीत योजनालगायत मापदण्डलाईए अवलम्बन गर्दै अगाडि बढिरहेको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र