काठमाडौं – नेपालमा विगत २५ वर्षदेखि इन्टरनेट तथा टेलिभिजन सेवा प्रदान गर्दै आएको अग्रणी सेवा प्रदायक कम्पनी सुविसुले आफ्नो २५औं वार्षिकोत्सव (सिल्भर जुबिली) को अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत नीलसागर सेवाश्रममा निःशुल्क वाइ– फाइ जडान गरेको छ ।
नीलसागर सेवाश्रम वृद्धाश्रम तथा अनाथाश्रमका रूपमा सञ्चालन हुँदै आएको छ, जहाँ हाल २५० भन्दा बढी वृद्धवृद्धा र बालबालिकाले आश्रय पाएका छन् । जसमध्ये ८० बालबालिका र १५० भन्दा बढी जेष्ठ नागरिकहरू छन् ।
सुविसुले जडान गरेको निःशुल्क वाइ–फाइ इन्टरनेट सेवा मात्र नभइ उनीहरूलाई समाज र संसारसँग जोड्ने महत्वपूर्ण माध्यम बनेको कम्पनीको भनाइ छ । यसले सूचना, शिक्षा, मनोरञ्जन तथा आत्मीय सम्पर्कको अवसर प्रदान गर्दै सेवाश्रमवासीहरूको दैनिकीलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
सुबिसुले नीलसागर सेवाश्रमसँगै अन्य क्षेत्रमा पनि आफ्नो सीएसआरमार्फत सामाजिक कार्य गर्दै आएको छ । २५औं वर्षको अवसरमा सुविसुले देशका विभिन्न स्थानमा सेवा तथा राहत वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै वर्ष कम्पनीले बंशीराम जैसवाल अनाथ आश्रम, गरुडा तथा अमृता अनाथ आश्रम, कलैयामा राहत तथा आवश्यक सामग्री वितरण गरेको थियो । सो क्रममा गरुडाका २३ जना र कलैयाका १७ जना बालबालिकालाई सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यसका साथै, सुविसुले धादिङ जिल्लाको बाहिरा विद्यालयमा निःशुल्क इन्टरनेट जडान गरी शिक्षा र प्रविधिलाई जोड्ने पहलसमेत गरेको छ । कम्पनीका अनुसार इन्टरनेट सेवा मात्र नभई अवसर पनि हो भन्ने मान्यताअनुरूप डिजिटल पहुँचमार्फत समाजको समग्र विकासमा योगदान पुर्याउने दीर्घकालीन प्रतिबद्धता लिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय मोहन साउदले भने, ‘सुविसुले आफ्नो २५ वर्षको यात्रामा प्रविधि विस्तारसँगै समाजप्रतिको जिम्मेवारीलाई पनि समान रूपमा अघि बढाउँदै आएको छ । हाम्रो लक्ष्य मानिस र सम्बन्धलाई जोड्नु हो । यस्ता सीएसआर पहलहरू हाम्रो मूल मूल्य र प्रतिबद्धताको प्रतिविम्ब हुन् ।’
२५ वर्षदेखि इन्टरनेट र टेलिभिजन सेवामार्फत नेपाललाई जोड्दै आएको सुविसुले आगामी दिनहरूमा पनि डिजिटल पहुँच, शिक्षा र समावेशी विकासका लागि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।