काठमाडौं – सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवर्धक रहेको सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’मा मागभन्दा बढी आवेदन परेको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी एक अर्ब रुपैयाँ आकारको उक्त योजनाको इकाइ बिक्रीका लागि २०८२ पुस ४ देखि १८ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिएको थियो । प्रारम्भिक विवरणअनुसार सो अवधिभित्र सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट एक अर्ब २५ करोडभन्दा बढीको आवेदन परेको छ, जुन माग गरिएको रकमभन्दा करिब २५ प्रतिशत बढी हो ।
सिटिजन्स क्यापिटल लिमिटेडबाट सञ्चालन हुने यो योजना बढी आवेदन प्राप्त गर्ने म्युचुअल फण्डहरूमध्ये पर्न सफल भएको कम्पनीको दाबी छ । योजनाप्रति देखिएको व्यापक सहभागिता र आकर्षणले सिटिजन्स क्यापिटल लिमिटेडलाई नेपालको पुँजी बजारमा एक दक्ष, व्यावसायिक तथा विश्वसनीय संस्थाका रूपमा स्थापित गराएको कम्पनीको भनाइ छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटल लिमिटेडमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी छ । कम्पनीका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।
कम्पनीले योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार सेवा तथा संस्थागत परामर्श सेवालगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडले आगामी दिनहरूमा पारदर्शिता, सुशासन तथा लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधिमैत्री र लगानीमैत्री सेवाहरू विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । साथै, निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका नयाँ योजनाहरू सञ्चालन गर्नुका साथै हाल सञ्चालनमा रहेका योजनामार्फत लगानीकर्तालाई प्रतिस्पर्धी र आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यसहित कार्यरत रहने कम्पनीले जनाएको छ ।