नेभिगेशन
प्रदेश

विवाद टुंगिएसँगै वीरगंजमा ‘कर्फ्यू ’ हटाइयाे

वीरगंज – सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगंजमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा मंगलबार भएको बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको ‘कर्फ्यू’ पनि प्रशासनले मंगलबार दिउँसोबाट हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले अन्य मुलुक वा स्थानमा भएका घटनालाई लिएर वीरगंजमा प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता गरेसँगै कर्फ्यू हटाउने निर्णय भएको जानकारी दिए । ‘यहाँका दुई समुदायबीच सहमति र यहाँको शान्तिसुरक्षाको अवस्था सहज बन्दै गएपछि कर्फ्यू हटाउने निर्णय गरेका हौं,’ उनले भने, ‘अब यहाँको जनजीवन सामान्यतर्फ उन्मुख छ ।’

उक्त बैठकले आन्दोलनरत पक्षले विरोध प्रदर्शन गर्नुअघि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई ज्ञापनपत्र पेस गर्न जोड दिने, त्यसपछि मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताइएको छ ।

‘भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक, सद्भावविरुद्धका गतिविधिलाई नियन्त्रण गर्न तथा आवश्यक कानूनी कारबाहीका लागि सिफारिस गर्न राजनीतिक दलहरू एवं विभिन्न धार्मिक समुदायका अगुवाहरू रहने स्थायी सद् भाव संयन्त्र गठन गर्ने निर्णय भएको छ,’ उनले भने ।

प्रजिअ दाहालका अनुसार सो स्थायी सद्भाव संयन्त्रमा हिन्दु समुदायका तर्फबाट रञ्जित साह, रञ्जन सिंह रहनेछन् । त्यसैगरी, मुस्लिम समुदायका तर्फबाट महमद महबुब अलि (शेरु) र अलि असगर मदनी रहनेछन् । सर्वपक्षीय बैठकले अन्य धार्मिक समुदायबाट पनि आवश्यकतानुसार प्रतिनिधित्व र जिल्लास्थित राजनीतिक दलहरूका तर्फबाट एक/एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ । उक्त संयन्त्रमा पत्रकार महासंघका अध्यक्ष तथा नागरिक समाजको प्रतिनिधि पनि सदस्य रहनेछन् ।

साथै सबै पक्षले आ–आफ्नो, समूहका तर्फबाट भएका कमजोरीको मनन गर्दै आ–आफ्ना समुदायका व्यक्तिलाई अनुशासन र आत्मसंयम तथा सद्भाव कायम राख्न प्रतिबद्धता व्यक्त गर्ने निर्णय भएको छ । बैठकले स्थितिलाई सहज बनाउन सबैले आ–आफ्नो स्थानबाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रमहरू नगर्ने पनि निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश