कोपनहेगन । डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रीनल्याण्डलाई संयुक्त राज्य अमेरिकाले अधिग्रहण गरेमा उत्तर एटलान्टिक सन्धि संकठन (नाटो) को अन्त्य हुने गम्भीर चेतावनी दिएकी छिन् । उनको यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिजसम्पन्न र रणनीतिक टापु ग्रीनल्यान्डलाई अमेरिकी नियन्त्रणमा ल्याउन आह्वान गरेपछि आएको हो ।
शनिबार बिहान भेनेजुएलाको काराकसमा राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गर्न अमेरिकी सेनाले गरेको गोप्य सैन्य अपरेसनपछि विश्वव्यापी स्तरमा हलचल मच्चिएको छ । यही घटनाले डेनमार्क र ग्रीनल्याण्डमा थप चिन्ता बढाएको छ । ग्रीनल्याण्ड डेनमार्क राज्यअन्तर्गतको अर्धस्वायत्त क्षेत्र हो र नाटोको हिस्सा पनि हो ।
प्रधानमन्त्री फ्रेडरिक्सन र ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले अमेरिकी राष्ट्रपति ट्रम्पका अभिव्यक्तिको कडा निन्दा गर्दै यसको परिणाम विनाशकारी हुनसक्ने चेतावनी दिएका छन् । उनीहरूप्रति धेरै युरोपेली नेताहरूले ऐक्यबद्धता जनाएका छन् । डेनमार्कको टीभी २ सँग कुरा गर्दै प्रधानमन्त्री फ्रेडरिक्सनले भनिन्, ‘यदि संयुक्त राज्य अमेरिकाले अर्को नाटो सदस्य राष्ट्रमाथि सैन्य आक्रमण गर्ने निर्णय गर्यो भने सबै कुरा रोकिन्छ । दोस्रो विश्वयुद्धपछि स्थापित सुरक्षा व्यवस्था त्यहीँ समाप्त हुन्छ ।’ उनले राष्ट्रपति ट्रम्पले ग्रीनल्याण्ड चाहेको भनाइलाई गम्भीररूपमा लिनुपर्ने उल्लेख गर्दै डेनमार्क र ग्रीनल्याण्ड यस्तो खतरनाक अवस्थालाई स्वीकार्न नसक्ने स्पष्ट पारिन् ।
आइतबार राष्ट्रपति ट्रम्पले ‘२० दिनपछि ग्रीनल्याण्डबारे कुरा गरौं’ भन्ने अभिव्यक्तिले निकट भविष्यमा अमेरिकी हस्तक्षेप हुनसक्ने आशंक झनै गहिरिएको छ । ट्रम्पले यसअघि पनि आफ्नो दोस्रो कार्यकालको सुरुआती चरणमै ग्रीनल्याण्डलाई अमेरिकी क्षेत्राधिकारमा ल्याउनुपर्ने बताउँदै सैन्य विकल्प अस्वीकार नगरेको संकेत दिएका थिए । ग्रीनल्याण्डका प्रधानमन्त्री निल्सनले पत्रकार सम्मेलनमा ग्रीनल्याण्डलाई भेनेजुएलासँग तुलना गर्न नमिल्ने बताउँदै जनतालाई शान्त र एकताबद्ध रहन आग्रह गरे । ‘संयुक्त राज्य अमेरिकाले सजिलै ग्रीनल्याण्ड जित्नसक्ने अवस्था छैन,’ उनले भने ।
यसैबीच राष्ट्रपति ट्रम्पले ग्रीनल्याण्डको सुरक्षा सुदृढ गर्न डेनमार्कले गरेको प्रयासको आलोचना गरेका छन् । उनले रुसी र चिनियाँ जहाजहरूको उपस्थितिलाई इंगित गर्दै ग्रीनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि आवश्यक भएको दाबी गरे । तर डेनिस इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिजका विज्ञ उलरिक प्राम गडले आर्कटिकमा त्यस्ता जहाजहरू भए पनि ग्रीनल्याण्डबाट निकै टाढा रहेको बताए ।
ग्रीनल्याण्डको उत्तरपश्चिममा अवस्थित पिटुफिक स्पेस बेस अमेरिकी रक्षा मन्त्रालयद्वारा सञ्चालन हुँदै आएको छ । सन् १९५१ मा डेनमार्क–अमेरिका रक्षा सम्झौतापछि स्थापना भएको यस बेसले मिसाइल चेतावनी, रक्षा र अन्तरिक्ष निगरानीमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । डेनमार्कको मुख्य भूमिमा पनि अमेरिका–डेनमार्क सैन्य सहकार्य लामो समयदेखि चल्दै आएको छ । डेनमार्कले अमेरिकी एफ–३५ लडाकु विमान खरिद गरेको छ र गत वर्ष संसद्ले आफ्नै भूमिमा अमेरिकी सैन्य आधारलाई अनुमति दिने विधेयक पारित गरेको थियो ।
यद्यपि आलोचकहरूले यसले डेनमार्कको सार्वभौमिकतामाथि प्रश्न उठाएको बताएका छन् । सन् २०२३ मा बाइडेन प्रशासनसँग भएको सम्झौतालाई विस्तार गर्दै अमेरिकी सेनालाई डेनमार्कका हवाई अड्डाहरूमा व्यापक पहुँच दिएको भन्दै विवाद चुलिँदै गएको छ ।
युरोपमा ट्रम्पको कडा विरोध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई संयुक्त राज्य अमेरिकाले अधिग्रहण गर्नुपर्ने भनी दिएको अभिव्यक्तिप्रति युरोपेली नेताहरूले कडा असहमति जनाएका छन् । उनीहरूले रणनीतिक तथा खनिजयुक्त टापु ग्रीनल्याण्ड त्यहाँका जनताको स्वामित्वमा रहेको पुनः स्पष्ट गरेका छन् ।
फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, स्पेन र संयुक्त अधिराज्यका नेताहरूले डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनसँग ऐक्यबद्धता जनाउँदै डेनमार्क राज्यअन्तर्गतको स्वशासित क्षेत्र ग्रीनल्याण्डको सार्वभौमिकताको दृढतापूर्वक रक्षा गर्नुपर्नेमा जोड दिएका छन् । ट्रम्पको हालैको टिप्पणीपछि युरोपेली नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै ग्रीनल्याण्ड कुनै पनि बाह्य शक्तिको अधिग्रहणको विषय हुन नसक्ने बताएका छन् ।
यसैबीच, ह्वाइट हाउसका स्टाफका उपप्रमुख स्टिफन मिलरले सोमबार ग्रीनल्याण्ड संयुक्त राज्य अमेरिकाको हिस्सा हुनुपर्ने धारणा दोहोर्याए । उनले राष्ट्रपति ट्रम्प यस विषयमा महिनौंदेखि स्पष्ट रहँदै आएको बताए । सीएनएनसँगको अन्तर्वार्तामा मिलरले ग्रीनल्याण्डलाई अमेरिकाको समग्र सुरक्षा संरचनाको महत्त्वपूर्ण अंगका रूपमा राष्ट्रपति हेर्ने गरेको उल्लेख गरे । तर डेनमार्ककी प्रधानमन्त्री फ्रेडरिक्सनले यसअघि नै ग्रीनल्याण्डमाथि अमेरिकी अधिग्रहणको प्रयास नाटो सैन्य गठबन्धनको अन्त्यसरह हुने चेतावनी दिएका थिए । उनका अनुसार यस्तो कदमले युरोप र अमेरिकाबीचको दीर्घकालीन सुरक्षा सहकार्यमा गम्भीर असर पार्न सक्छ ।
डेनमार्कका नेताहरू, ग्रीनल्याण्डका प्रधानमन्त्री तथा अन्य युरोपेली नेताहरूले सप्ताहन्तमा भेनेजुएलामा भएको अमेरिकी सैन्य कारबाहीपछिको पृष्ठभूमिमा ट्रम्पले ग्रीनल्याण्डलाई अमेरिकी नियन्त्रणमा ल्याउने नयाँ आह्वान गरेपछि त्यसलाई एक स्वरमा अस्वीकार गरेका हुन् । उनीहरूको भनाइमा ग्रीनल्यान्डको भविष्य त्यहाँका जनताले नै तय गर्ने अधिकार राख्दछन् र त्यसमा बाह्य दबाब स्वीकार्य हुन सक्दैन । युरोपेली नेताहरूले ग्रीनल्याण्डको रणनीतिक महत्त्व स्वीकार गरे पनि त्यसको सार्वभौमिकता र स्वशासनको सम्मान अन्तर्राष्ट्रिय नियम र साझेदारीको आधार भएको स्पष्ट पार्दै यस विषयमा आफ्नो अडानबाट पछि नहट्ने संकेत दिएका छन् ।