नेभिगेशन
अर्थतन्त्र

‘अर्थतन्त्र सुधार्नु सरकारको पहिलो प्राथमिकता’

काठमाडौं — अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको अर्थतन्त्र सुधार गर्नु सरकारको पहिलो आवश्यकता भएको बताएका छन् । उनले राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउँदै आन्तरिक आर्थिक गतिविधिको संरक्षण र सुरक्षा गर्न सरकार गम्भीर रूपमा अघि बढिरहेको स्पष्ट पारेका छन् ।

सशस्त्र प्रहरीको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री खनालले राजस्व चुहावट कुनै एक निकायको प्रयासले मात्र नियन्त्रण गर्न नसकिने उल्लेख गरे । उनले सम्बन्धित सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य सुदृढ गर्दै विद्यमान कमजोरी सुधार्न आवश्यक रहेको बताए ।

राजस्व चुहावट नियन्त्रणका क्रममा नागरिकलाई अनावश्यक दुःख नपुग्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै उनले परिणाममुखी कामका लागि संयुक्त प्रयास अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

बैठकमा सहभागी अन्य उच्च अधिकारीहरूले खुला सिमाना, सीमित स्रोतसाधन र बजार अनुगमनको चुनौती औँल्याउँदै राजस्व संकलन र चोरीपैठारी नियन्त्रणलाई अझ प्रभावकारी बनाउन नीतिगत तथा कार्यगत सुधार आवश्यक रहेको बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्