नेभिगेशन
अर्थतन्त्र

नेपाल बारलाई एनसेलको सहयोग

काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले जेन जी आन्दोलनका क्रममा भएको क्षतिपछि नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई सूचना तथा सञ्चार प्रविधि (आईसीटी) उपकरण सहयोग गरेको छ ।

कम्पनीले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सोमबार आयोजित कार्यक्रममा दुवै संस्थालाई कार्यालय सञ्चालनका लागि आवश्यक आईसीटी उपकरण हस्तान्तरण गरेको हो । भदौ २३ र २४ गते जेन जी युवासमूहको विरोध प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीबाट दुवै बार एशोसिएशनको भौतिक संरचना, कार्यालय सामग्री तथा महत्वपूर्ण अभिलेख कागजातमा ठूलो क्षति पुगेको थियो ।

एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठ, कानुन प्रबन्धक कैलाशप्रसाद न्यौपानेलगायत प्रतिनिधिहरूले नेपाल बार एशोसिएशनका अध्यक्ष प्राडा तथा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रलाई २ थान ल्यापटप, १ थान डेस्कटप र २ थान प्रिन्टर हस्तान्तरण गरेका हुन् । त्यसैगरी सर्वोच्च अदालत बार एशोसिएशनका कार्यवाहक अध्यक्ष अम्बरबहादुर राउतलाई १ थान ल्यापटप, २ थान डेस्कटप र १ थान प्रिन्टर प्रदान गरिएको एनसेलले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष मिश्रले एनसेलबाट प्राप्त सहयोगले बारको दैनिक कार्य सञ्चालनमा सहजता आउने बताउँदै कम्पनीप्रति धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा पनि बार र एनसेलबीच सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे । कार्यवाहक अध्यक्ष राउतले सर्वोच्च अदालत बार एशोसिएशनले करिब ५० लाख रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको जानकारी दिँदै अत्यन्त कठिन अवस्थामा प्राप्त सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्