नेभिगेशन
अर्थतन्त्र

हरिवन नगर अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

सर्लाही – सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशको सर्लाही जिल्ला अन्तर्गत हरिवन नगरपालिका स्थित हरिवन नगर अस्पताललाई विभिन्न आधुनिक प्रसूति उपकरणहरू उपलब्ध गराएको छ । बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले पुस १७ गते एक कार्यक्रममा ती उपकरणहरू अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय, हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी लगायत स्थानीय जनप्रतिनिधि तथा समुदायका व्यक्तिहरूको उपस्थिति थियो ।

बैंकले अस्पताललाई हाइड्रोलिक शल्यक्रिया टेबल, चार सेटयुक्त एलईडी शल्यक्रिया कक्ष डोम बत्ती, बिरामी निगरानी यन्त्र, पूर्ण सुविधायुक्त पाँच कार्य गर्ने इलेक्ट्रिक आईसीयू बेड, फाइबर बेडसाइड लकर तथा इलेक्ट्रिक डबल जार हाई भ्याकुम सक्सन मेसिन गरी प्रत्येक उपकरण एक–एक थान प्रदान गरेको हो । नवनिर्मित भवनमा शल्यक्रियासहित बर्थिङ सेवा सञ्चालन गरी समुदायमा गुणस्तरीय प्रसूति सेवामा पहुँच अभिवृद्धि गर्ने तथा आमा र नवजात शिशुका लागि सुरक्षित र सहज प्रसूति वातावरण सुनिश्चित गर्ने उद्देश्यले उक्त उपकरणहरू उपलब्ध गराइएको बैंकले जनाएको छ ।

बैंकले दिगो विकास लक्ष्यलाई उच्च प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रका सामाजिक कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ । आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने योजना रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्