काठमाडौं – सडक डिभिजन कार्यालय इलामले गत आसोजमा आएको बाढीपहिरोबाट क्षतिग्रस्त मेची माजमार्गको १५ किलोमिटर सडक खण्ड पुनर्निर्माण प्रक्रिया अगाडि बढाएको छ । अर्थमन्त्रालयले २ अर्ब १९ करोड रुपैयाँ बराबरको लगानी स्रोत सुनिश्चित गरेपछि पुनर्निर्माण गर्न विस्तृत इन्जिनियरिङ डिजाइन तयार गर्ने काम सुरु गरिएको हो ।
प्रारम्भिक सर्वेक्षणको काम सम्पन्न भई सडक र पुल पुनर्निर्माण गर्न डिजाइन तयार गर्ने अन्तिम चरणको काम भइरहेको सडक डिभिजन इलाम कार्यलयका सूचना अधिकारी इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए । उनले अबको दुई साताभित्र पुनर्निर्माण गर्ने सडकको सम्पूर्ण डिजाइन तयार गरी ठेक्का आह्वानको प्रक्रियामा जाने बताए ।
बाढी र पहिरोले क्षतिग्रस्त सडकको पुनर्निमाणका लागि ठेकेदार नियुक्त गरी चालू आर्थिक वर्षभित्र मुख्य कामहरू सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । ‘अहिले परामर्शदाताले विस्तृत डिजाइन बनाउने काम गरिरहेको छ, डिजाइन तयार भई ठेकेदार नियुक्तीको प्रक्रिया पूरा गरेर चालू आर्थिक वर्षभित्रै मुख्य काम सम्पन्न गर्ने गरी क्षतिग्रस्त सडक र पुल पुनर्निर्माणको काम गर्छौं,’ घिमिरेले भने ।
प्रारम्भिक मूल्यांकनमा बाढी र पहिरोबाट ७ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको थियो । जसमध्ये सरकारले २ अर्ब १९ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेकाले चाँडै सडक र पुलको काम सुरु गरिने घिमिरेले बताए । सरकारले सुनिश्चित गरेको स्रोतबाट बढी क्षतिग्रस्त तथा निर्माण गर्नैपर्ने सडक र पुललाई प्राथमिकतामा राखेर पुनर्निमाण गरिने छ । सडक डिभिजन कार्यालयले सुनिश्चित भएको स्रोतमध्ये ५४ करोड रुपैयाँ चालू आर्थिक वर्षभित्र खर्च गरिसक्नु पर्नेछ । बाढी र पहिरोबाट क्षतिग्रस्त १५ किलोमिटर सडक खण्डको पुनर्निर्माण गर्नुपर्ने देखिएको छ । मेची राजमार्गको विभिन्न सडक खण्ड अन्तर्गत इलाममा मात्रै १० स्थानमा पहिरो खसेर सडक र पुलमा क्षति पुगेको थियो । क्षतिग्रस्त सडकमा केही स्थानमा दुबैतर्फ पहिरो रोकथाम गर्न नयाँ ‘प्रोटेक्सन वाल’ (सुरक्षा पर्खाल) बनाउनु पर्ने देखिएको घिमिरेले जानकारी दिए ।
प्रारम्भिक अध्ययनबाट ७ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिए पनि पुनर्निर्माण गर्नुपर्ने पूर्वाधारको विस्तृत अध्ययन तथा डिजाइन पूरा भएपछि पुनर्निर्माण गर्न लाग्ने अनुमानि लागत निर्धारण भएपछि मात्रै भन्न सकिने उनले बताए । चालू आर्थिक वर्षभित्र १५ किलोमिटर सडक खण्डको पुनर्निर्माण गरिसक्नु पर्ने उनले बताए । बर्खा सुरु हुनु अगाडि नै यो खण्डको काम सम्पन्न गर्नुपर्ने लक्ष्य रहेकाले कामलाई तीव्रता दिइने पनि उनले बताए । पुनर्निर्माण कार्य अन्तर्गत मेची राजमार्गमा जोगमाइखोला र पुवा खोलामा छुट्टै ठेक्कामार्फत बेलिब्रिज जडान गर्न गरिँदैछ । यी पुल जडान गर्न ५/५ करोड रुपैयाँ स्रोत सुनिश्चित भइसकेको छ ।
मेची करिडोर अन्तर्गत पनि करिब ४ किलोमिटर क्षेत्रमा पुनर्निमार्ण गर्नुपर्ने देखिएको छ । यो सडक खण्ड पुनर्निर्माण गर्न १४ करोड रुपैयाँ स्रोत सुनिश्चित भएको छ । पुनर्निर्माणको काम अगाडि बढाउनका लागि समेत अहिले डिजाइनको काम सुरू भएको घिमिरेले बताए । बाढी र पहिरोले क्षतिग्रस्त भई धुलाम्य बनेको सडकमा अहिले सवारी आवागमन हुँदै आएको छ । बर्खा सुरु हुनु अगाडि नै यो सडक खण्डको पुनर्निर्माण गरिसक्नुपर्ने देखिन्छ । ‘अहिले त त्यही क्षतिग्रस्त सडकबाट नै गाडीहरू गुडिरहेका छन् । अहिले सवारी आवागमनमा खासै समस्या छैन । तर, बर्खामा यसरी सवारी आवागमन गर्न सम्भव नहुने भएकाले सडक र पुलको काम सम्पन्न गरिसक्नु पर्छ,’ उनले भने ।
बाढी र पहिरोले क्षतिग्रस्त सडक खण्डमध्ये करिब ४ सय मिटर खण्डमा सडक नै बगाएकाले नयाँ ट्र्याक खोलेर आवागमन सहज बनाइएको घिमिरेले बताए । यस्तै, पहिरोले क्षतिग्रस्त बनेको सडक खण्डमा केही स्थानमा दुई वटा सवारी साधन एकै पटक पास नहुने अवस्था छ । क्षतिग्रस्त सडक खण्डको रुटमा एउटा पुल भासिएको छ ।
दुई वटा बेली ब्रिज बाढीले बगाएको छ भने एउट पुलसम्म पुग्ने पहुँच सडक नै बगाएको छ । पुलको पुनर्निर्माण गर्न समय लाग्ने स्थानमा बाढी र पहिरोले मेची राजमार्ग, मेची करिडोर, फिक्कल–अन्तु, इलाम–फिक्कल–पशुपतिनगर, इलाम– बिर्तामोड लगायत मुख्य सडकहरूमा ठूलो क्षति गरेको थियो ।
यस्तै, बाढी र पहिरोले क्षतिग्रस्त फिक्कल–श्रीअन्तु सडकको २ किलोमिटर खण्ड पुनर्निमार्ण गर्नुपर्ने देखिएको छ । तर, यो सडक खण्डको पुनर्निर्माण गर्न वित्तीय स्रोत व्यवस्थापन भइनसकेकाले तत्कालै नगरिने सडक डिभिजन कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालय मातहत नआउने क्षतिग्रस्त सडकहरूको पुनर्निर्माण तथा मर्मतको काम स्थानीय तथा प्रदेश सरकारहरूले गरिरहेका छन् ।