काठमाडौं – नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ । विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकले सो सम्मान प्राप्त गरेको जनाएको छ ।
आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरेका थिए । बैंक तथा बीमा क्षेत्रसहित वित्तीय क्षेत्रमार्फत नेपालको आर्थिक विकासमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप नबिल बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
चार दशकभन्दा बढी समयदेखि नबिल बैंकले वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन तथा प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीमार्फत नेपालको बैंकिङ क्षेत्रको नेतृत्व गर्दै आएको छ । गुणस्तरीय वित्तीय सेवामा पहुँच विस्तार, देशव्यापी डिजिटल बैंकिङ सेवा, उद्यमशीलता तथा रोजगारी प्रवर्धन, र राष्ट्रिय राजस्वमा उल्लेखनीय योगदान गर्दै आएको छ । ।
सम्मानप्रति प्रतिक्रिया दिँदै नबिल बैंकका सीईओ ज्ञवालीले भने, ‘विकास नायक २०८२ सम्मान प्राप्त गर्नु नबिल बैंकका लागि गर्वको विषय हो । यो सम्मान नबिल बैंकको चार दशक लामो राष्ट्रनिर्माण यात्राको कदर पनि हो ।’ उनले थपे, ‘वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन, रोजगारी सृजना, राजस्वमा दिइएको टेवा, ऊर्जा तथा पूर्वाधार विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्ने हाम्रो प्रतिबद्धतालाई यसले थप सुदृढ बनाएको छ ।’
ऊर्जा तथा पूर्वाधार विकासमा नबिल बैंक राष्ट्रिय अर्थतन्त्रको प्रमुख उत्प्रेरक रहँदै आएको छ । सन् १९९८ मा जलविद्युत् क्षेत्रमा लगानी गर्ने पहिलो वाणिज्य बैंक बनेको नबिलले ऊर्जा क्षेत्रमा करिब रु.७५ अर्ब प्रतिबद्धता गर्दै ३,१०० मेगावाटभन्दा बढी ऊर्जा परियोजनामा वित्तीय सहयोग गरेको छ । जलविद्युत्, सौर्य ऊर्जा, नवीकरणीय ऊर्जा, विद्युतीय सवारी, राष्ट्रिय गौरवका आयोजनामा कन्सोर्टियम वित्तपोषणमार्फत बैंकले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।
राष्ट्रिय राजस्वमा बलियो योगदान पुर्याउँदै नबिल बैंक वित्तीय क्षेत्रकै आठपटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भइसकेको छ । बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपमार्फत १९३ उद्यमलाई सहयोग गर्दै १७ हजारभन्दा बढी रोजगारी सिर्जना गर्न योगदान गरेको छ ।