नेभिगेशन
राजनीति

कुलमानले छाडे सरकार

सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै भने – जनताको हितमा आवश्यक पर्ने जुनसुकै जिम्मेवारी निर्वाह गर्न सधैं तत्पर

काठमाडौं – आफ्नो दल गठन गरेर पनि खुल्न नपाएका कुलमान घिसिङ बल्ल फुक्काफाल भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालय सम्हालेका उनले बुधबार पदबाट राजीनामा दिँदै सक्रिय राजनीतिमा आउने बाटो खोलेका हुन् ।

उनले बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएपछि सिंहदरबार आइ पत्रकार सम्मेलन गरेका हुन् । राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै मन्त्री पदबाट राजीनामा दिएको बताएका उनले मन्त्रीका रुपमा काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।

‘आफूले सम्हालेको मन्त्रालयहरू र त्यस मातहतका निकायमा सुशासन कायम गर्न, काम नगरि वर्षौदेखि अलपत्र पारि विकास परियोजनालाई बन्धक बनाउने कार्यलाई निरुत्साहित गर्न, देशको ऊर्जा,जलस्रोत तथा सिञ्चाइ क्षेत्रको सुधार,पूर्वाधार विकास र जनताको जीवनस्तर उकास्ने उद्देश्यका साथ मैले आफ्नो कार्यकालमा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको छु,’ उनले राजीनामापत्रमा भनेका छन्, ‘भविष्यमा पनि देश र जनताको हितमा आवश्यक पर्ने जुनसुकै जिम्मेवारी निर्वाह गर्न सधैं तत्पर रहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु।’

पत्रकार सम्मेलनमा उनले कुर्सीभन्दा माथि आत्मसम्मान हुने बताए । यस्तै सरकारभन्दा माथि जनता भएको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको सहमतिमा आफ्नो नाम उल्लेख भए पनि अहिलेसम्म सहमति कार्यान्वयनमा नआएको पनि प्रष्ट पारे । ‘रास्वपासँगको सहमतिमा मेरो नाम उल्लेख भए पनि हालसम्म औपचारिक रूपमा कार्यान्वयनमा आएको छैन । हालसम्म कुनै पनि पार्टीको सदस्यता लिएको छैन,’ उनले भने ।

प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकामा घिसिङलाई बधाई र धन्यवाद दिइन् । उनले राजीनामापत्र बुझेपछि भनिन्, ‘निकै प्रतिकूल अवस्थामा तपाईंले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ । रातदिन नभनी खट्नुभयो । देशका विभिन्न भागमा पुग्नुभयो । विपद्का बेला उस्तै सक्रिय रहनुभयो । विपद्ग्रस्त क्षेत्रमा आफैँ पुगेर खट्नुभयो । हाम्रो विकास निर्माणका बेथितिहरूविरुद्ध कठोर कदम चाल्नुभयो । यो कुरा देशले सम्झनेछ । जनताले मूल्यांकन गर्नुहुनेछ ।’

जेनजी आन्दोलनपछि गठन भएको सरकारमा भदौ ३० गते घिसिङ मन्त्री बनेका थिए । घिसिङको संरक्षकत्वमा उज्यालो नेपाल पार्टीले दल दर्ता गरेको थियो । सरकारमा रहँदा पार्टीका कार्यक्रम भ्याउन उनलाई गाह्रो परिरहेको थियो । उनले उज्यालो नेपालका सभा र भेला नछुटाए पनि खुलेर आफ्नो पार्टी भन्न भएका थिएनन् ।

कार्की सरकारमा सामेल हुनेबित्तिकै अस्वाभाविक सक्रियता देखाएका घिसिङलाई केही मुद्दामा जवाफ दिन गाह्रो पनि भइरहेको थियो । सरकार छाडेपछि उनले अब जवाफ दिन नपर्ने भएको छ ।

सभापति रवि लामिछाने थुनामुक्त भएर आएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई रास्वपामा वरिष्ठ नेताको दर्जा दिँदै पार्टी प्रवेश गराए । त्यसपछि रास्वपाले उज्यालो नेपालसँग एकता गर्‍यो । 

पुस १४ मा सहमतिमा घिसिङ रास्वपाको उपसभापति बन्ने उल्लेख थियो । तर, सरकार नछाडेकाले घिसिङ खुलेर रास्वपाका भेला बैठकमा सहभागी हुन अप्ठ्यारो भएको थियो । उनी रास्वपा आबद्ध भएको विषयलाई लिएर ‘चुनावी सरकारमा रहेको मन्त्री दलसँग आबद्ध’ भन्दै प्रश्न उठेको थियो ।

नागरिक सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीलाई नै आलोचनाको जवाफ दिन गाह्रो भएको थियो । गत सोमबार मन्त्रिपरिषद् बैठकमै उनले दलीय राजनीतिमा चाहना भएका मन्त्रीहरूलाई हटेर सहयोग गर्न आग्रह गरेकी थिइन् । प्रधानमन्त्रीको आग्रहअनुसार घिसिङले राजीनामा दिए पनि रास्वपा निकट देखिएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेल भने सरकारमै छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्