नेभिगेशन
प्रदेश

जुम्लाका अटो व्यवसायी आन्दोलित

मुगु । जुम्ला–मुगुका अटो व्यवसायी आन्दोलित भएका छन् । रुट परमिटको विषयलाई लिएर अटो व्यवसायी आन्दोलित भएका हुन् । सोमबार रातिदेखि जिल्ला प्रशासन कार्यालय अगाडी चक्काजाम गरी धर्नामा बसेका अटो व्यवसायी र सरोकारवालाबीच जिल्ला प्रशासन कार्यालयमा छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन । छलफल निष्कर्षविहीन भएपछि अटो व्यवसायीले धर्ना जारी राखेका छन् । उनीहरूले सडक ठप्प पारे पनि यातायात व्यवसायीले हस्तक्षेप गररे सडक भने खुलाएका छन् । अटो व्यवसायीहरूको माग तातोपानीदेखि तिलासम्म रुट परमिट जारी गर्नुपर्ने रहेको छ । यसको लागि कानुन संशोधन गर्नुपर्ने हो वा नयाँ कानुन बनाउनु पर्ने हो त्यो गर्नुपर्ने उनीहरूको माग छ ।

अटो व्यवसायीका मागप्रति अन्य यातायात व्यवसायी सकरात्मक छैनन् । अटोलाई ऐरेनीसम्म सञ्चालन हुन नदिने उनीहरूको अडान रहँदै आएको छ । अटो सञ्चालन सम्बन्धी रुट परमिट नहुँदा आफूहरू अन्योलमा परेको व्यवसायीको जिकिर छ । उता सर्वसाधारण यात्रु भने सेवा नपाएर सास्ती भोग्न बाध्य छन् । अटो व्यवसायीहरूले गाउँपालिका र स्थानीय तहले छिटोभन्दा छिटो स्पष्ट कानुन बनाएर रुट परमिटको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । ‘कानुनबिना हामी जोखिममा सवारी चलाउन सक्दैनौं । माग पूरा नभएसम्म अटो सञ्चालन हुन गाह्रो छ,’ भैरवनाथ यातायात प्रालिका सचिव नन्दु तिरुवाले भने । आफूहरूको माग पुरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश