नेभिगेशन
अर्थतन्त्र

पर्यटन प्रवर्द्धनका लागि ‘पदयात्रा’

इलाम । नेपाल एकीकरणताका पूर्वीसीमा विजयभएपछि गाडिएका ऐतिहासिक निसान फर्काइएका मार्गको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटकीय गतिविधि विस्तार गर्ने उद्देश्यले निसान पदमार्गमा बुधबारदेखि चारदिने पदयात्रा सुरु भएको छ ।

सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माइजोगमाई गाउँपालिका तथा इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयुक्त आयोजनामा सुरु भएको पदयात्रा पुस २६ गतेसम्म सञ्चालन हुने रणसार्दुल गणका गणपति प्रमुख प्रल्हाद घलेले जानकारी दिए । उनका अनुसार पदयात्रा नेपाल– भारत सीमाक्षेत्रको मेची बजारबाट बुधबार बिहान ११ बजेदेखि औपचारिक रूपमा सुरु भएको हो ।

नेपाल–भारत सीमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर दूरीको पदमार्गमा पदयात्रा हुने घलेले जानकारी दिए । गतवर्षदेखि सुरु गरिएको पदयात्रालाई यस वर्ष पनि निरन्तरता दिइएको उनले बताए ।

‘करिब २०० वर्ष अघिको युद्ध इतिहास खोजी गर्दै निर्माण गरिएको निसान पदमार्गमा गत वर्षदेखि पदयात्रा सुरु गरेका थियौँ । सरोकार भएका निकायबाट सकरात्मक प्रतिक्रिया प्राप्त भएपछि यस वर्ष पनि निरन्तरता दिएका हौं’, उनले भने । गत वर्ष सो पदमार्गमा तीन दिन पदयात्रा गरिएको थियो ।

पदयात्रामा नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी, सरोकार भएका निकायलगायत २०० जनाको सहभागिता रहेको रणसार्दुल गणका गणपति घलेले जानकारी दिए । उनका अनुसार पदमार्गअन्तर्गत पर्ने सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाका विभिन्न स्थानमा पदयात्रीको स्वागतका लागि स्थानीय जातजातिको झाँकीसहित स्वागतका कार्यक्रम आयोजना गरिनेछन् ।

साथै हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता, सांस्कृतिक प्रस्तुती, पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यपत्रमाथि छलफललगायत कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

इलाम नगरपालिकाका प्रमुख केदार थापाले पदयात्राले निसान पदमार्गको मात्र नभई, समग्र जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको बताए । ‘पदयात्राले निसान पदमार्गको संरक्षणमा योगदान दिनुका साथै समग्रमा इलामको पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको जीवनस्तर सुधार हुने अपेक्षा गरेका छौं’, उनले भने ।

पदयात्राका लागि तीनवटै पालिकाबाट आर्थिक सहयोगसहित आवश्यक सहकार्य गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए । कोशी प्रदेश सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष–२०८२’ लाई जोडेर पदयात्रा कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । रणसार्दुल गणको पहलमा गत वर्षदेखि निसान पदमार्ग पहिचान गर्ने कार्य सुरु गरिएको हो । नेपाल–अंग्रेज युद्धपछि १८७२ फागुन २० गते भएको सुगौली सन्धिपश्चात् तत्कालीन नेपाली सेनाले इलाम सदरमुकाममा निसान ल्याउन प्रयोग गरेको मार्गलाई नेपाली सेनाको समन्वयमा तीन पालिकाले पहिचान गरी कार्यन्वयनमा ल्याएका हुन् ।

‘सुगौली सन्धीपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको इलाम सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बसेको इतिहास छ । मेचीबाट नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका भन्ने इतिहास छ’, नगरप्रमुख राईले भने ।

पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अंग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्ने क्रममा माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम नगरपालिका वडा नम्बर ७ स्थित माइस्थान मन्दिर ल्याइएको भन्ने इतिहास रहेको उनले बताए । हाल सो मार्गलाई ऐतिहासिक सम्पदा र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्