काठमाडौं । ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो डाइनेस्टी क्यासिनोबाट पक्राउ परेका सात जनामध्ये चार जनालाई पुर्पक्षका लागि कारागार चलान भएका छन् भने तीन जना धरौटीमा छुटेका छन् ।
काठमाडौं जिल्ला अदालतको बुधबारको आदेशअनुसार थुनामा पठाइएकाहरूमा भारतको दिल्लीका ५७ वर्षीय सुरेश महाजन, उत्तराखण्ड देहरादूनका ३९ वर्षीय प्रमोद मौर्य, ३२ वर्षीय विक्रम सिंह र हरियाणा करनालका ३७ वर्षीय दिनेश वर्मा छन् ।
क्यासिनोका डिलर कर्मचारी चिजा खड्का र भवानी पाण्डे एक–एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् भने क्यासिनो सञ्चालक हङकङका नागरिक ७५ वर्षीय चान मान चिङ पनि पाँच लाख रुपैयाँ धरौटीमा थुनामुक्त भएका छन् । प्रहरीका अनुसार उनीहरूलाई आँखामा लगाउने विशेष प्रकारको लेन्स र चुम्बकीय (म्याग्नेटिक) तास प्रयोग गरी क्यासिनो खेलमा ठगी गरेको अभियोगमा पक्राउ गरिएको थियो । घटनासम्बन्धी अनुसन्धानका क्रममा आइलेन्स, म्याग्नेटिक तास, नगद रकम, मोबाइल फोन, राहदानी र एटीएम कार्डसमेत बरामद गरिएको थियो ।
प्रहरी अनुसन्धानअनुसार यो ठगी योजनाबद्ध र संगठित रूपमा गरिएको थियो । भारतीय नागरिक सुरेश महाजनको नेतृत्वमा रहेको ‘महाकाया ग्रुप’ले डिसेम्बर ११ देखि १४ सम्म वाल्डो क्यासिनोमा चारदिने विशेष इभेन्ट आयोजना गरेको थियो । यस इभेन्टका लागि भारतबाट करिब दुई सय खेलाडी नेपाल ल्याइएको थियो ।
डिसेम्बर १० मा एयर इण्डियाको विमानमार्फत काठमाडौं आएका ती खेलाडीका लागि अलफ्ट, मेरियट र र्याडिसन होटलमा ११० वटा कोठा पहिल्यै बुक गरिएको थियो । होटल अलफ्टमा मात्रै १५ लाख रुपैयाँ नगद बुझाइएको प्रहरीको भनाइ छ ।
वाल्डो क्यासिनोमा ७ देखि १० वटा टेबल बुक गरेर खेल सञ्चालन गरिएको थियो । बाहिरबाट हेर्दा सामान्य क्यासिनो इभेन्ट देखिए पनि भित्र भने प्रविधिको प्रयोग गरी खेलको नतिजा पहिले नै तय गर्ने प्रणाली बनाइएको खुलेको छ । प्रहरीका अनुसार चुम्बकीय तास र आँखामा लगाउने विशेष लेन्सबीच ‘कनेक्सन’ मिलाएर तास कसको हातमा छ भन्ने स्पष्ट देखिने बनाइएको थियो । प्रत्येक टेबलमा पाँच जना वास्तविक खेलाडी र समूहकै एक जना ‘डमी खेलाडी’ राखिन्थ्यो । डमी खेलाडीले लेन्समार्फत तासको पहिचान गरेपछि खेलको चाल त्यसैअनुसार मोडिने गरेको अनुसन्धानबाट खुलेको छ । तास बाँड्ने काम समूहकै महिला डिलर चिजा खड्का र भवानी पाण्डेले गर्थे । लेन्स लामो समय प्रयोग गर्न नसकिने भएकाले २–३ घण्टामा डमी खेलाडी फेरिने व्यवस्था गरिएको थियो । जितिएको रकमको ९० प्रतिशत इभेन्ट आयोजक समूहले र १० प्रतिशत डमी खेलाडीले लिने सहमति भएको प्रहरीको दाबी छ ।
इभेन्टको पहिलो दिनमै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले क्यासिनोमा छापा मारेको थियो । छापाका क्रममा ६ जना पक्राउ परेका थिए भने क्यासिनो सञ्चालकसहित केही फरार भएका थिए ।
अनुसन्धानका क्रममा दिनेश वर्माले भारतबाट ५० प्याकेट म्याग्नेटिक तास र चार सेट लेन्स नेपाल ल्याएको तथा विनोद भनिने जनार्दन उप्रेतीले ती सामग्री क्यासिनोभित्र प्रवेश गराएको खुलेको छ । उप्रेती नेपालतर्फको मुख्य संयोजक रहेको र होटल बुकिङदेखि इभेन्ट व्यवस्थापनसम्मको जिम्मेवारी सम्हालेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार ठगीको सञ्जाल क्यासिनोभित्र मात्र सीमित थिएन । भारतमै रकम संकलन गरी नेपालमा हुण्डीमार्फत पैसा ल्याउने र क्यासिनोमा जितिएको रकम फेरि अवैध माध्यमबाट भारत पठाउने गरिएको देखिएको छ । मोबाइल फोन जाँच गर्दा ह्वाट्सएप संवादमा रकमलाई सांकेतिक भाषामा उल्लेख गरिएको प्रमाण भेटिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानले महाकाया ग्रुपको गतिविधि नेपालमा मात्रै सीमित नभई भारत, श्रीलंका, भियतनाम र कम्बोडियासम्म फैलिएको आशंका गरिएको छ । यसअघि काठमाडौंको हायात होटलस्थित क्यासिनो प्राइडमा पनि यस्तै गतिविधि भएको प्रहरीको दाबी छ । प्रहरीले मुलुकी अपराध संहिताअनुसार ठगी, आपराधिक विश्वासघात र अवैध आर्थिक कारोबारसम्बन्धी कसुरमा मुद्दा अघि बढाएको थियो ।