नेभिगेशन
राजनीति

चुनावका लागि आयोगको तयारी तीव्र

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गतेको चुनावका लागि तयारी तीव्र पारेको छ । निर्वाचन आयोगले निर्वाचन सञ्चालनसँग सम्बन्धित विषयहरूमा दैनिक कार्यतालिका बनाएर काम गरिरहेको छ । मतपत्र छपाइको काम सुरु भइसकेको छ ।  

आयोगले निर्वाचनको आचारसंहिताको अनुगमनका लागि इमोनिटर प्लस सफ्टवेयर सञ्चालनमा ल्याउने भएकोे छ । साथै साइबर सुरक्षा समेतलाई ध्यान दिएर मिस इन्फरमेसन र डिस इन्फरमेसन न्यूनीकरणका लागि विभिन्न अनुसन्धान र नियमनकारी निकायका प्रतिनिधिहरूलाई राखेर इन्फरमेसन इन्ट्रिगी युनिट सञ्चालनमा ल्याएकोे छ ।  

त्यस्तै, आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन सामग्री व्यवस्थापनको काम पनि अघि बढाएको छ । सरकारी निकायबाटै ‘जिटुजी’ मार्फत् खरिद गर्न लागिएको आयोगले जनाएको छ । जिल्लास्थित कार्यालयहरूले खरिद गर्ने सामग्री समेत सम्भव भएसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका देशभरका कार्यालयहरूले आपूर्ति गर्नेगरी जिल्ला कार्यालयहरूले प्रक्रिया अगाडि बढाइएको छ । हालसम्म ३३ वटा जिल्ला कार्यालयहरूले यस्तो सम्झौता गरेको जानकारी आयोगले प्रधानमन्त्रीलाई गराएको छ ।  

आयोगले कात्तिक ३० गते पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको छुट्टाछुट्टै निर्वाचन कार्यक्रम प्रकाशन गरी कार्यान्वयनमा ल्याइसकेको छ । ०८२ माघ ६ गते उम्मेदवारको मनोयनपत्र दर्ता गर्ने कार्यक्रम रहेकाले सो पूर्व गर्नुपर्ने तयारीका कार्यहरू कार्यतालिका बनाई कार्यान्वयन भइरहेको आयोगले जनाएको छ । ०८२ पुस २५ देखि लागू हुने गरी सबै निर्वाचन क्षेत्रको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्त गरिएको छ ।

माघ २ गते सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । माघ ३ गतेबाट निर्वाचन आचारसंहिता लागू हुने जानकारी आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई शुक्रबार गराएको छ ।

फागुन २१ को निर्वाचनमा ८ लाख ३७ हजार ९४ जना थप मतदाताको नामावली संकलन भएको छ । ०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई आसन्न निर्वाचनमा भाग लिन पाउने मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ रहेको छ । जसमा महिला ४८.८८ र पुरुष ५१.१२ प्रतिशत छन् भने अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदाताको संख्या २ सय रहेको आयोगले जनाएको छ ।  

यसबीच शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे जानकारी गराएको छ । भेटमा आयोगले आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने जानकारी गराएको छ ।  

निर्वाचनका लागि आवश्यक पर्ने बजेटको आकलन गरी आयोगले नेपाल सरकारबाट प्राप्त स्रोतको परिचालन गरिरहेको छ । जसमा आगामी निर्वाचनका लागि  ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार लागत अनुमान गरी बजेट माग गरिएकोमा सरकराले कात्तिक १९ गते ४ अर्ब ९६ करोड ६६ लाख र मंसिर २० मा १ अर्ब ७७ करोड ९० हजार गरी कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार बजेट आयोगलाई उपलब्ध गराएको थियो ।  

मतपत्र छपाइ सुरु  

निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र छपाइ सुरु गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न रहनेछ । पुस १३ र १४ गते राजनीतिक दललाई समानुपातिक तर्फको बन्दसूची बुझाउन समय दिइएको थियो । त्यसबेला ६४ वटा दलले सूची बुझाएका थिए । त्यसमा १० वटा दलले एकल चुनाव चिह्नमा नाम दिएका छन् । भट्टराईका अनुसार प्रत्यक्षतर्फको मतपत्र भने माघ १० गतेपछि मात्रै छपाइको काम सुरु हुनेछ ।  

प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय माघ ६ गतेका लागि तोकिएको छ । माघ ९ गते निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ । त्यसपछि बल्ल मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ ।  

सुरक्षा निकाय तयार  

भयरहित र सुरक्षितरूपमा निर्वाचन गराउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी ३ वटै सुरक्षा निकायले पूर्णरूपमा तयार भएको बताएका छन् । यसका लागि आवश्यक काम भइरहेको उनीहरूको भनाइ छ ।  

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा शुक्रबार निर्वाचन तयारीबारे सुरक्षा निकायका अधिकारीहरूसँग छलफलका क्रममा उनीहरूले यस्तो बताएका हुन् । राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना पारित भइसकेको छ । सोही योजनाअनुसार आपसी  समन्वय र सहकार्यमार्फत अघि बढिरहेको उनीहरूले जानकारी गराएका थिए ।  

सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले तीनवटै सुरक्षा निकाय एकीकृत सुरक्षा योजनाको कार्यान्वयनमा सक्रिय रहेको बताए । संसदीय समितिको बैठकमा तीन वटै सुरक्षा निकायका प्रतिनिधिहरूले आपसी समन्वय, अतिरिक्त जनशक्ति र लक्षित सुरक्षा रणनीतिमार्फत निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीयरूपमा सम्पन्न गराउने गरि काम अघि बढेको बताए ।  

निर्वाचन–कर्मचारीको २० लाखको बीमा

निर्वाचन आयोगले राष्ट्रिय बीमा कम्पनीसँग निर्वाचनमा खटिने कर्मचारीहरूको २० लाखको दुर्घटना बीमा गरेको छ । पुस १३ गते आयोगले २ लाख १३ हजार १ सय ६१ कर्मचारीको १५ दिनदेखि ९० दिनसम्मको बीमा गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीलाई आयोगले बीमा गराएको शुक्रबार जानकारी दिएको छ । आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन सामग्री व्यवस्थापनको काम अघि बढेको समेत जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्