जगन्नाथ दुलाल
काठमाडौं, पुस २९
नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मापक्षधर विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनतर्फ अघि बढेपछि पार्टी विभाजन रोक्न भन्दै पार्टी एकताको पहल शुरु भएको छ । उद्घाटनसत्रमा बन्दसत्रबाट जे पनि हुनसक्ने संकेत गरेका महामन्त्रीद्वयले सोमबार बन्दसत्रमा पनि त्यही कुरा दोहो¥याए ।
बन्दसत्रमा उनीहरुले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरेर नयाँ नेतृत्वका लागि प्रक्रिया अघि बढाउने कार्यविधि नै पारित गरेपछि संस्थापन पक्षले संवादका लागि आह्वान गरेको छ । यता बन्दसत्र जारी रहँदा शेखर कोइराला र संस्थापन पक्ष भने पार्टी विभाजन रोक्नका लागि भन्दै दिनभर छलफलमा जुट्यो ।
नेता कोइरालाले आफू निकट नेताहरुसँग विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा छलफल गरे । ‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिरहेको छु । तपाईंहरू ढुक्क हुनुस्, पार्टी फुट्दैन । तपाईंहरू पनि त्यसैमा लाग्नुस् । निराश हुने कामै छैन,’ उनको विश्वास थियो । स्रोतका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक महामन्त्रीहरुसँग सहमतिका लागि संवाद प्रयासमै थिए ।
आफ्नो कार्यालयमा आफू निकटसँगको छलफलपछि कोइराला सभापति शेरबहादुर देउवा भेट्न उनको निवास महाराजगञ्ज पुगे । उनीसँगै निकटस्थ नेताहरु डा.मीनेन्द्र रिजाल, बद्री पाण्डे र जीवन परियार पनि थिए ।
कोइरालाले देउवासँगको भेटमा पार्टी विभाजन रोक्न आग्रह गर्दै केही मध्यमार्गी उपाय सुझाए । तर, देउवाले विशेष महाधिवेशनलाई स्वामित्व दिने कुरा स्वीकार्न नसकिने बटमलाइन लिएपछि सहमति हुन नसकेको भेटमा सहभागी एक केन्द्रीय सदस्यले बताए । पार्टी सञ्चालन र अरु नीतिगत सुधारका विषयमा छलफल गर्न सकिएपछि विशेष महाधिवेशनलाई कार्यसम्पादन समितिले दुई पटक अवैधानिक भनेकाले स्वामित्व लिन नसकिने संस्थापन पक्षको अडान थियो ।
कोइराला आफ्नो टिमसहित निस्किएपछि देउवाले आफू पक्षीय केन्द्रीय सदस्यहरुसँग अलग्गै छलफल गरेका थिए । त्यही बीचमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वक्तव्य जारी गरे । मुलुकको अहिलेको राजनीति अन्योल र अनिश्चितता रहेको भन्दै पार्टीभित्र पूर्ण एकता कायम गर्न नेता तथा कार्यकर्तामा उनको अपिल छ । आगामी वैशाखमा हुने १५औं महाधिवेशनबाट पार्टीको नीतिमा परिमार्जन र नेतृत्व सहजरूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित रहेको भन्दै उनले प्रतिनिधिसभा चुनाव र १५ औँ महाधिवेशन सफल बनाउन एकजुट हुन आग्रह गरे ।
पार्टीभित्र हाल केही असहज र अन्योलको स्थिति उत्पन्न भएको स्वीकार गर्दै उनले इतिहासका विभिन्न कालखण्डमा जस्तै अहिले पनि कांग्रेसले नै मुलुकलाई निकास दिनुपर्ने बताएका छन् । ‘यस अवस्थामा नेपाली कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुन अनिवार्य छ,’ खड्काले भनेका छन् । पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न पनि उनले अनुरोध गरेका छन् ।
खड्का र लेखकको महामन्त्रीसँगको संवाद र कोइरालाले थालेको सहमति प्रयासपछि विशेष महाधिवेशन पक्षधर बन्दसत्र लम्ब्याउन तयार भएका छन् । पुस २७ र २८ गते दुई दिनका लागि बोलाइएको विशेष महाधिवेशन प्रतिवेदनमाथि छलफल नसकिएको भन्दै मंगलबार पुनः बस्नेगरि टुंग्याइएको छ ।
यता, त्यहीबीचमा महामन्त्रीहरुसँग छलफलका लागि सभापति देउवा तयार भएका छन् । केन्द्रीय समितिको बैठक मंगलबारका लागि आह्वान गरिएको छ । ‘सोमबार रातभरीमा र नसकिए मंगलबार बिहान पनि महामन्त्रीहरुसँग संवाद गरेर सहमति निकाल्ने सोचमा सभापतिज्यू हुनुहुन्छ,’ संस्थापन पक्षका एक पदाधिकारीले भने, ‘त्यसरी जुटेको सहमति केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ । हामीलाई विश्वास छ एउटा निकास पक्कै निस्कन्छ । पार्टी फुट्दैन ।’
सभापति शेरबहादुर देउवाले सोमबार दिनभर पार्टीका अरु नेताहरुसँग पनि छलफल गरे । उनलाई भेट्न पुगेका नेताहरुले पार्टी एकताका लागि पहलकदमी लिन आग्रह गरेका छन् । देउवासँगको भेटपछि उनीनिकट नेता डा. शशांक कोइरालाले भने, ‘मिलाउने प्रयास हुँदैछ । पार्टी कुनै हालतमा पनि ब्रेक गर्न हुँदैन भन्ने कुरा भयो ।’
दिउँसो देउवा निवासमा भएको छलफलमा सहभागी नेता मीनबहादुर विश्वकर्माले सञ्चारकर्मीहरूसँग पार्टी एकता र वैधानिक प्रक्रियाका निम्ति पार्टी सभापति, कार्यवाहक सभापतिलाई जिम्मेवारी दिएको बताए । संवादका विषयमा विशेष महाधिवेशनका अगुवाहरू महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासमक्ष सन्देश गइसकेको तथा उनीहरू त्यसमा सकारात्मक रहेको विश्वकर्माको भनाइ छ ।
केन्द्रीय समिति बैठक आज
विशेष महाधिवेशनले पार्टी फुट्ने आशंकाका बीच नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बोलाइएको छ । बिहान ११ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूका अतिरिक्त सातै प्रदेशका सभापतिहरूलाई पनि बैठकमा बोलाइएको छ । सोमबार रातभर सहमति नजुटे महामन्त्री थापा र शर्मासहित विशेष महाधिवेशनको पक्षमा खुलेका केन्द्रीय पदाधिकारी र सदस्य के गर्छन् ? चासोका साथ हेरिएको छ । उता विशेष महाधिवेशन आयोजकहरूले भने भोलि नयाँ नेतृत्वका लागि निर्वाचन कार्यक्रम हुने दाबी गरेका छन् । संस्थापनले विशेष महाधिवेशन अवैधानिक भएको दाबी गरिरहँदा महामन्त्री थापाले संविधान र कानुनसम्मत भएको दाबी गरेका छन् ।
गठबन्धन नगर्ने प्रस्ताव बन्दसत्रमा पेस
कांग्रेसका महामन्त्री शर्माले पार्टीको तर्फबाट एक व्यक्ति दुई पटक भन्दा प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव गरेका छन् । मंगलबार विशेष महाधिवेशनको बन्दसत्रमा पेस गरेको प्रस्तावमा कांग्रेस एक्लै चुनाव लड्ने प्रस्ताव राखेका छन् । ‘चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने, डेढ दशक यता हामीले निरन्तर यो अभ्यास गर्दै आयौं । यसले एकातर्फ नागरिकमा असन्तुष्टि बढायो, नेतृत्वलाई अलोकप्रिय बनायो, अर्कातर्फ सार्थक परिणाम पनि दिन सकेन,’ प्रतिवेदनमा भनिएको छ, ‘विगतको गल्ती सच्याउँदै यो विशेष महाधिवेशन उद्घोष गर्दछ– नेपाली कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुईपटक भन्दा बढी प्रधानमन्त्री बन्ने छैनन् । दुई पटक मात्रै प्रधानमन्त्रीको यो नीतिलाई नेपालको संविधानमा लिपिबद्ध गर्न नेपाली कांग्रेसले अग्रसरता लिनेछ ।’
विगतको गल्ती सच्याउँदै महासमितिको निर्णय स्मरण गर्दै आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गर्ने उनको प्रस्ताव छ । प्रस्तावमा भनिएको छ, ‘चुनावी गठबन्धन नेपाली राजनीतिमा मतदाताको स्वतन्त्र विवेक एवं पार्टी सदस्यको सम्मानलाई असर पु¥याएको एक अध्याय थियो । यही आत्मसमीक्षा साथ गोदावरीमा सम्पन्न पछिल्लो महासमिति बैठकले आगामी चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो ।’
त्यस्तै शर्माले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनले राजनीतिक र प्रशासनिक विषयमा पनि चर्चा गरिएको छ । विशेषगरि शासकीय सुधार र सुशासनको मुद्दालाई प्राथमिकतामा राख्दै शर्माले राज्यका शक्तिशाली नियामक निकायहरू नै भ्रष्टाचारको अखडा बनेको गम्भीर आरोप लगाएका छन् ।