नेभिगेशन
प्रदेश

कल्याणपुरका मेयर भ्रष्टाचारी ठहर

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।

न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइराला सम्मिलित संयुक्त इजलासले नगप्रमुख साहलाई अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख जरिवाना तथा सोही दफाको उपदफा (ख) बमोजिम ६ महिना कैद सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले नगरप्रमुख साहलाई गत असार ३२ मा सेवाग्राहीसँग एक लाख घुस लिँदै गरेको अवस्थामा नगरपालिका कार्यालयबाटै पक्राउ गरेको थियो ।

कल्याणपुर–६ मा नाला निर्माण योजनाको काम सम्पन्न भएपछि भुक्तानीको चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग उनले घुस लिएको अख्तियारको आरोप थियो । अख्तियारले गत साउन २३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यसै मुद्दामा, बयान फेरेको आरोपमा अख्तियारले गत मंसिर २६ मा  उजुरीकर्तासमेत रहेकी उपभोक्ता समितिकी अध्यक्ष जसोदा कुमारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । तर विशेष अदालतले उनलाई सफाइ दिएको छ । अदालतले संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको ठहर गर्दै उनलाई आरोपमुक्त गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्