नेभिगेशन
राजनीति

ओली किल्लामा बालेनको चुनौती

जेनजी आन्दोलनपछि ओली क्रेज घटेको र रास्वपाप्रति आकर्षण बढेकाले बालेन नै उम्मेदवार बन्दा परिणाम उल्टाउनसक्ने रास्वपा झापाको दाबी छ

काठमाडौं । ‘सबैलाई शुभकामना, हामी आउँदैछौ’, आइतबार बेलुका  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो फेसबुक पेजमा लेखे । लगत्तै धेरैले विभिन्न अड्कलबाजी गरे ।  

उनले स्टाटस राखेलगत्तै धेरैले कमेन्टमा लेखे झापा–५ । उसो त बालेनले आफू निकटस्थसँग फागुन २१ को चुनावमा एमाले अध्यक्ष केपी ओलीलाई हराउने चाहना व्यक्त गर्दै आएका छन् । झापाका रास्वपाका नेताहरुसँग आइतबार दिउँसो भेटपछि बेलुका आएको स्टाटसलाई चुनावकै तयारीका रुपमा बुझिएको छ । 

झापा क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो । उक्त क्षेत्रबाट जितेका ओली प्रधानमन्त्री बने । रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका बालेन पनि यसपटक सोही क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा देखिएका छन् । 

बालेनको सचिवालय स्रोतका अनुसार माघ ४ गते काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर माघ ५ मा प्रतिनिधिसभा सदस्य मनोनयनका लागि तयारी छ । 

तत्कालीन सत्ता नेतृत्व तथा ओलीसँगै पनि बालेनको टकराव चलि नै रह्यो । सुकुम्बासी बस्तीमा डोजर चलाउँदा होस् वा न्यू रोडको फुटपाथ बढाउँदा नै किन नहोस्, ओली–बालेनबीच सधंै टकराव रह्यो । यही बखत बालेनले ओलीलाई झापाकै गिरिबन्धु टि–स्टेट जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोप नै लगाए । यसरी ओली–बालेन टकराब टकराव अब ओलीको गढका रुपमा हेरिएको उनकै निर्वाचन क्षेत्रमा हुने सम्भावना बढेको छ । ओलीले पनि झापा–५ मै चुनाव लड्ने घोषणा गरिसकेका छन् । 

के छ अघिल्लो मत परिणाम ?

बालेन–ओली दुई पक्षीय भिडन्त भएमा कस्ले जित्ला ? दाबी आआफ्नै हुनसक्छ ।  २०७९ को निर्वाचनमा ओली भारी मतान्तरले विजयी भएका थिए । झापा–५ मा ओली ५२ हजार ३ सय १९ मतसहित निर्वाचित हुँदा उनका सबै विपक्षीको मत जोड्दा पनि धेरै थियो । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत ल्याएका थिए । ओलीले २८ हजार ७ सय ४३ मतान्तरले चुनाव जितेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश पोखरेलले ११ हजार ७ सय ४९ मत ल्याएका थिए । ओली २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । ०४८, ०५१, ०५६, ०७०, ०७४ र ०७९ सालको निर्वाचनमा उनी झापाबाट निर्वाचित भएका थिए । एमालेको सांगठनिक रुपमा बलियो पकड रहेको क्षेत्र मानिन्छ झापा–५ । आफ्नो संसदीय यात्रामा ओलीले झापा–५ मा पहिलो संविधान सभाको निर्वाचनमा मात्रै पराजय बेहोरेका थिए । 

आफ्नो बलियो पकड भएकैले ओली यसपटक पनि अरुले आँटछ्न नसक्ने दाबी गर्छन् । तर, बालेन ओलीलाई चुनौती दिने तयारीमा छन् । उनी यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्दै छन् । जुन पार्टीले अघिल्लो निर्वाचनमा ११ हजार ७ सय ४९ मत मात्रै पाएको थियो । जुन मत ओलीले प्राप्त गरेको भन्दा ४० हजार ५ सय ७० मतले कम हो । 

झापा–५ मा दमक नगरपालिका र कमल गाउँपालिकाको सबै क्षेत्र, गौरादह नगरपालिकाको वडा नम्बर १ देखि ८ सम्म र गौरीगञ्ज गाउँपालिकाको ३ देखि ६ नम्बर वडाहरु समेटिएका छन् । 

रास्वपा जिल्ला सभापति प्रकाश पाठकले झापाको क्षेत्र नम्बर ५ मा पर्ने अधिकांश स्थानीय तहमा रास्वपाको संगठन बलियो बनेको दाबी गरेका छन् । बालेन उमेदवार बन्दा कोहबरा, गौरीगञ्ज लगायत दक्षिणी क्षेत्र पनि रास्वपाको पकड बढ्ने उनको विश्लेषण छ । ती क्षेत्रमा आदीवासीहरुको बसोबास बाक्लो रहेको छ । जेनजी आन्दोलनपछि ओली क्रेज घटेको र रास्वपाप्रति आकर्षण बढेकाले बालेन नै उम्मेदवार बन्दा परिणाम उल्टाउनसक्ने रास्वपा झापाको दाबी छ । रास्वपाका तर्फबाट बालेन उठाउँदा निर्वाचन जित्ने डाटा दिएको बालेनको सचिवालय स्रोत बताउँछ । ओलीकै गृहजिल्लामा मतदाताको मन बदल्न बालेनका लागि असम्भव नभएपनि सहज भने देखिँदैन । उसो त काठमाडौं महानगरपालिकामा कम आँकिएका बालेनले मेयर जितेका थिए । मेयरबाट उनी कार्यकाल बाँकी छँदै झापा ५ मा चुनाव लड्न जान खोज्नुलाई चासोका साथ हेरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
अनसनमा बस्दा बल प्रयोग

अनसनमा बस्दा बल प्रयोग

समानुपातिकतर्फ ८५ नाम फिर्ता

समानुपातिकतर्फ ८५ नाम फिर्ता

विशेष अधिवेशनको दोस्रो दिन

विशेष अधिवेशनको दोस्रो दिन