काठमाडौं । चिनियाँ निर्माण कम्पनीका कारण लामो समयदेखि अलपत्र परेको नुवाकोटस्थित ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको निर्माण कार्य ७७ प्रतिशत पूरा भएको छ । आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले चिनियाँ ठेकेदार ‘सुइफा एएनएचई ग्रुप’सँगको ठेक्का सम्झौता रद्द गरेपछि स्वदेशी फेवा कन्स्ट्रक्सन कम्पनीमार्फत निर्माण कार्य अघि बढाएको थियो । नयाँ ठेकेदारसँग काम सुरु भएपछि आयोजनाले उल्लेखनीय भौतिक प्रगति हासिल गरेको जनाएको छ ।
सिभिल वर्क्सको कामका लागि फेवा कन्स्ट्रक्सन परिचालन भएपछि करिब १० प्रतिशत भौतिक प्रगति थपिएको आयोजना प्रमुख इन्दिवर घिमिरेेले बताए । उनका अनुसार आयोजनाको मुख्य सुरुङ खनेर सकिएको छ । अहिले सुरुङमा लाइनिङ तथा कंक्रिटिङको काम भइरहेको छ । बाँध र विद्युतगृहका संरचनाको पनि काम भइरहेको घिमिरेेले जानकारी दिएका छन् ।
‘नेपाली निर्माण कम्पनीलाई नियुक्त गरेर परिचालन गरेपछि आयोजनाको निर्माणले गति लिएको छ,’ उनले भने, ‘अहिलेको कामको गति हेर्दा तोकिएको तालिकाभित्र नै सम्पन्न हुनेछ भन्ने आशा जागेको छ ।’ सिभिलतर्फको बाँकी काम सम्पन्न गर्न फेवासँग १ अर्ब ८४ करोड ३६ लाख ९७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । फेवाले २०८१ भदौदेखि आयोजना स्थलमा परिचालन भई निर्माण कार्य सुरु गरेको थियो । अहिले हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको कामको लागि पनि ठेक्का सम्झौता पूरा गरिसकेको घिमिरेेले जानकारी दिए ।
चिनियाँ कम्पनीसँग इपिसी (इन्जिनियरिङ, खरिद निर्माण) ठेक्का गरिएकोमा ठेक्का तोडिएपछि अहिले हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको पनि नयाँ ठेक्का गर्नुपरेको छ । यसका लागि चीनकै ‘एसएनएसी–जिन्गे’ जेभीसँग सम्झौता भएको छ । चिनियाँ कम्पनीसँग आयोजनाको हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फको काम सन् २०२७ को सेप्टेम्बरभित्र सम्पन्न गर्ने सम्र्झौ ता भएको छ । यस प्याकेजका लागि १ करोड ४२ लाख अमेरिकी डलर (करिब २ अर्ब १९ करोड) र ३४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको घिमिरेले बताए ।
चिनियाँ कम्पनीसँग ठेक्का तोडिनुको कारण
आयोजना निर्माणाधीन रहेकै बेला २०७६ माघमा नयाँ वर्ष मनाउन चिनियाँ ठेकेदार कम्पनीका प्राविधिक तथा कामदार चीन गएका थिए । उनीहरू चीनमै रहेका बेला कोभिड–१९ महामारी सुरु भएपछि लामो समयसम्म फर्किन सकेनन् । प्राविधिक तथा कामदार नफर्किएको र चीनबाटै निर्माण सामाग्री तथा उपकरण आयात हुन नसक्दा करिब १५ महिना निर्माण कार्य ठप्प भएको थियो । २०७७ फागुनभित्र सम्पन्न गर्नुपर्ने तालिका भए पनि चिनियाँ ठेकेदार कम्पनी २०७७ को चैतबाट मात्रै पुनः आयोजना स्थलमा परिचालन भयो । त्यसपछि पनि कामलाई गति नदिई आलटाल गरिरह्यो ।
तालिका प्रभावित भएपछि म्याद थप गरी २०८० असोजभित्र सम्पन्न गर्ने अर्को लक्ष्य सहित म्याद थप भयो, तर चिनियाँ कम्पनीले सो तालिकाअनुसार काम गरेन । प्रवर्द्धक कम्पनीले पटक पटक मौखिक तथा लिखित ताकेता गरी चेतावनी दिँदा पनि कार्यप्रगति नभएपछि २०८० मंसिर ३० गते ईपीसी ठेक्का तोडिएको थियो । आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग २०७४ माघ २९ गते ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख नेपाली रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
ठेक्का अन्त्य भएपछि पुनः ठेक्का आह्वान गरी सम्पूर्ण प्रक्रिया पूरा गरी काम सुचारु गरिएको आयोजनाका प्रवक्ता भरत खड्काले बताए । ‘आयोजनाकोतर्फबाट पटक पटक ताकेता गर्दा पनि चिनियाँ कम्पनी काममा फर्किएन,’ उनले भने, ‘उसले देखाएको गतिविधिले त ऊ आयोजनाबाट भागेको जस्तै हो । ठेक्का तोड्ने चेतावनी दिँदा पनि गम्भीर नदेखिएपछि नेपाली निर्माण कम्पनीबाटै सिभिलतर्फको काम गराउने निर्णयमा पुगेर नयाँ ठेक्का प्रक्रियामा गई फेवासँग सम्झौता गरिएको हो ।’
कालोसूचीमा पर्न सक्ने जोखिम र कार्यसम्पादन जमानत जफत हुने जोखिम भए पनि चिनियाँ ठेकेदारले काममा सुधार नगरेपछि ठेक्का तोडिएको आयोजना प्रमुख घिमिरेेले बताए । ‘चिनियाँ कम्पनीले ठेक्का सम्झौता अनुसार काम गरेन, पटक पटक ताकेता गर्दा पनि आयोजनास्थलमा परिचालन नभएपछि सम्झौता अन्त्य गरेर नयाँ प्रक्रियाबाट सम्झौता गरी नेपाली कम्पनीबाटै सिभिलको काम गराइरहेका छौं,’ उनले भने । प्रवर्द्धक कम्पनीले चिनियाँ कम्पनीसँगको ठेक्का तोडी उसँगको ठेक्का तोडेर बैंक ग्यारेन्टी र पर्फर्मेन्स ग्यारेन्टी समेत जफत गरिएको थियो ।
नयाँ ठेक्का पछि २०८४ भदौसम्म आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । बर्खामा बाढी र पहिरोका कारण निर्माण प्रभावित हुने जोखिम रहेपछि यो तालिकाभित्र सम्पन्न गर्ने लक्ष्य अनुसार नै निर्माणलाई गति दिएको उनको दाबी छ ।
आयोजना जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत निर्माण भइरहेको हो । आयोजना निर्माण सम्पन्न गर्न ७ अर्ब ४४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ हुने अनुमान गरिएको थियो । आयोजनामा कूल लगानीको ३० प्रतिशत स्वपुँजी (२ अर्ब ४७ करोड रुपैयाँ) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड रुपैयाँ)बाट लगानी जुटाइएको छ । आयोजनाको निर्माण अवधि लम्बिएका कारण लागत केही बढ्ने देखिएको प्रवक्ता खड्काले बताए ।
आयोजनाको प्रवर्द्धक कम्पनीमा विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक शेयर लगानी छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत शेयर लगानी छ ।
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत निर्माणाधीन यो आयोजनाको प्रवर्द्धक कम्पनीमा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारणको शेयर छ । आयोजना अहिलेसम्म सम्पन्न हुन नसके पनि साधारण शेयर नेपाल स्कट एक्सचेन्ज (नेप्से) मा सूचिकृत भई दोस्रो बजारमा कारोबार समेत भइरहेको छ । यो विद्युत् प्राधिकरणले यसअघि निर्माण पूरा गरी सञ्चालनमा ल्याएको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ को क्यासकेड आयोजना हो । त्रिशूली थ्री ‘ए’ को विद्युतगृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक हाइड्रोमेकानिकल गेट र ‘बक्स कल्भर्ट’ लगायत संरचना निर्माण हुनेछन् । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा सुख्खायाममा (मंसिर १६ देखि जेठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार युनिट र वर्षायाममा (जेठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन गर्न सकिने प्राविधिक अध्ययनले देखाएको छ । आयोजनाले उत्पादन गर्ने विद्युत् विद्युतगृहदेखि ३ किलोमिटर दूरीमा रहेको २२० केभी थ्री ‘बी’ हब सबस्टेसनमा जोडिनेछ ।