काठमाडौं – नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचर्स एसोसिएशन (नाइमा)ले काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई पाँच वर्षसम्म नियमति तालिम दिने भएको छ । नाइमाले यससम्बन्धी समझदारीपत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरीसँग सम्झौता भएको जनाएको छ ।
सम्झौताअनुसार नाइमाले १,६५१ जना ट्राफिक प्रहरीलाई व्यवहारिक सीप तथा नयाँ सवारी प्रविधि सम्बन्धी तालिम प्रदान गर्नेछ । ट्राफिक सप्ताह २०८२ अन्तर्गत आयोजित ‘सडक दुर्घटना न्यूनीकरण विशेष अभियान’को उद्घाटन कार्यक्रमका अवसरमा उक्त समझदारीपत्र प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नाइमाका बोर्ड सदस्य सौरभ ज्योतिबीच आदान–प्रदान भएको हो ।
सम्झौताअनुसार ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्याससम्बन्धी विषयमा निरन्तर तालिम प्रदान गरिनेछ । नाइमाले आफ्ना सदस्य कम्पनीहरूको विशेषज्ञता प्रयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा तथा यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयमा तालिम सामग्री, प्राविधिक स्रोत र विशेषज्ञ सहजीकरण उपलब्ध गराउनेछ । ट्राफिक प्रहरीले भने तालिमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन तथा गुणस्तर सुनिश्चितता गर्नेछ ।
सम्झौताअन्तर्गत पहिलो चरणको तालिम आगामी २०८२ माघ ४ गतेदेखि सुरु हुनेछ । १७ कार्यदिनसम्म सञ्चालन हुने तालिममा प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ । तालिममा तनाव व्यवस्थापन, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारी प्रविधिको सैद्धान्तिक तथा प्रत्यक्ष अवलोकन, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण तथा आवश्यक ह्यान्ड–जेस्चर सीपहरू समेटिनेछन् ।
तालिम सहजीकरणका लागि इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक र थापाथली क्याम्पसका प्राध्यापक, जीवन विज्ञानका प्रशिक्षक, नाइमा सदस्य कम्पनीका प्राविधिक विज्ञ, प्रेरणादायी वक्ता तथा जीवन प्रशिक्षक रमन भट्टराईलगायत विज्ञहरूको सहभागिता रहनेछ । केही सत्रहरू ट्राफिक प्रहरीका वरिष्ठ अधिकृतहरूले समेत सञ्चालन गर्नेछन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले ट्राफिक प्रहरी जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिबारे अद्यावधिक हुनु अत्यावश्यक रहेको बताए ।
नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले सडक सुरक्षा प्रवर्द्धन, दक्ष मानवस्रोत विकास र नागरिकमैत्री सेवा प्रवाह सुधारमा यस सहकार्यले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । यस्तै, नाइमाका बोर्ड सदस्य सौरभ ज्योति र कार्यकारी निर्देशक राजकुमार दुलालले दीर्घकालीन तालिम कार्यक्रमले सुरक्षित सडक संस्कृति र दीगो मोबिलिटी प्रवर्द्धनमा सहयोग पुग्ने बताएका छन् ।