नेभिगेशन
खेलकुद

आजदेखि राष्ट्रिय लिग फुटबल

१७ टोलीबीच १३६ खेल

काठमाडौं – राष्ट्रिय लिग फुटबलको पहिलो खेलमा सुर्खेतको काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लब ललितपुर भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु हुने लिगको उद्घाटन खेल बुधबार दशरथ रंगशालामा हुँदैछ । तीन वर्षदेखि सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना हुन नसकेको अवस्थामा एन्फाले सिंगल राउन्ड रोबिन प्रणालीमा राष्ट्रिय लिग सञ्चालन गर्न लागेको हो । देशभरका १७ क्लबको सहभागिता लिगमा कुल १ सय ३६ खेल सञ्चालन हुने एन्फाले जनाएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खेलहरू उपत्यकाका तीन ठाउँ दशरथ रंगशाला, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र च्यासल मैदानमा आयोजना गरिने भएको छ । लिगअघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा सहभागी सबै टोलीका प्रशिक्षक र कप्तानहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने दाबी गरे । प्रतियोगिताको विजेताले शील्ड, प्रमाणपत्रसँगै नगद ५० लाख, उपविजेताले २५ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट अनुशासन देखाउने फेयर प्ले टिमलाई १ लाख रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ ।

लिगमा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, फ्रेन्ड्स क्लब, न्युरोड टिम (एनआरटी), श्री भगवती क्लब, प्लानिङ ब्वाइज क्लब, लालीगुराँस युवा क्लब, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गर्नेछन् । ए’ डिभिजनका १३ टोलीसँगै मोफसलका चार टोलीको सहभागिताले राष्ट्रिय लिगलाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ । एन्फाले यो लिगलाई नेपाली फुटबलको स्तर उकास्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद