नेभिगेशन
प्रदेश

विष्फोटक पदार्थ बरामद

सिरहा, ६ भदौ । सिरहा भन्सार कार्यालय माडरले विष्फोटक पदार्थसहित ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । भन्सार अधिकृत तथा सूचना अधिकारी बिमलकुमार श्रेष्ठका अनुसार बुधबार राति करिब २ः३० बजे सिरहा नगरपालिका–११ पदमपुरस्थित इलाकाबाट भन्सार छली गरी ल्याइएका सामग्रीहरू नियन्त्रणमा लिइएको हो । बरामद सामग्रीहरूको अनुमानित मूल्य रु. दुई लाख २४ हजार आठ सय रहेको श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिइएका अवैध वस्तुहरूमा विशेष रूपमा विष्फोटक पदार्थ (पटाका) रु. ६८ हजार बराबर, बिँडी रु. १० हजार बराबर र नम्बर प्लेट नभएको होण्डा कम्पनीको मोटरसाइकल रु. १ लाख ५० हजार बराबर मूल्यांकन गरिएको छ । प्रारम्भिक अनुसन्धानले यी सामग्रीहरू भारतको सीमा नाका इटाटार हुँदै नेपाल भित्र्याइएको पुष्टि भएको बताइएको छ ।

विष्फोटक पदार्थ तस्करीले सामान्य भन्सार छलीभन्दा गम्भीर सुरक्षा जोखिम उत्पन्न गर्ने भएकाले भन्सार कार्यालयले यसलाई जनसुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने विषयका रूपमा लिएको जनाएको छ । भन्सार कार्यालय माडरका अनुसार, ‘यसरी विष्फोटक पदार्थ तस्करी हुनु गम्भीर अपराध हो । यो विषयमा कानूनी कारबाही कडाइका साथ अघि बढाइनेछ ।’

भन्सार कार्यालयले सामान्य वस्तु तस्करीभन्दा विष्फोटक पदार्थको कारोबार अत्यन्तै संवेदनशील र राष्ट्रहित विपरीत छ । यस्तो प्रवृत्तिलाई समुचित निगरानी र कानूनी कठोरतामार्फत रोक्नु अहिलेको प्राथमिकतामा राखेको जनाएको छ । सिरहा जिल्लाको विभिन्न भन्सार नाकाहरू विशेषतः इटाटार, भवानीपुर, कर्जन्हालगायत स्थानहरू हुँदै हुने विष्फोटक पदार्थ, लागू औषध, मदिरा र खैनीजस्ता वस्तुको तस्करी विगतदेखि नै चुनौतीपूर्ण बन्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्