नेभिगेशन
अर्थतन्त्र

एग्रिटेक इन्टरनेशनल एक्स्पो चितवनमा हुँदै

भरतपुर – कृषि क्षेत्रको आधुनिकीकरण र नवीन प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी माघ २ गतेदेखि ‘नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो’ हुने भएको छ । चितवन एक्स्पो सेन्टरमा तीन दिनसम्म चल्ने यो अन्तर्राष्ट्रिय प्रदर्शनीले कृषक, उद्यमी र लगानीकर्ताहरूलाई आधुनिक कृषि प्रणालीसँग जोड्ने विश्वास लिइएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा नेपाल, भारत, चीन लगायतका विभिन्न देशका कृषि प्रविधिहरू राखिने छ । आयोजकका अनुसार एक्स्पोमा डेरी, पशुपालन, कृषि औजार, बीउ–बिजन, मल, किटनाशक, फुड प्रोसेसिङ, कृषि यन्त्र, पशु स्वास्थ्य सेवा तथा वित्तीय समाधान प्रदान गर्ने कम्पनीहरूको स्टल रहनेछन् ।

माघ ४ गते सम्पन्न हुने प्रदर्शनीका लागि स्टल बुकिङ भइरहेको आयोजकले जनाएको छ । प्रदर्शनीप्रति देशभरका कृषि उद्यमी, किसान, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको उत्साहजनक चासो देखिएको छ ।

प्रदर्शनी वस्तु तथा सेवाको प्रदर्शनमा मात्र सीमित नभई कृषि क्षेत्रमा लगानी भित्र्याउन, प्रविधि हस्तान्तरण गर्न र व्यावसायिक सहकार्य बढाउन प्रभावकारी साझा मञ्च बन्ने अपेक्षा गरिएको छ । विशेषगरी व्यावसायिक कृषक, एग्रो–उद्यमी, सहकारी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूले यहाँबाट व्यावहारिक ज्ञान र नेटवर्किङको अवसर पाउनेछन् ।

सर्वसाधारण तथा सरोकारवालाहरूका लागि प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आगन्तुकले आधुनिक कृषि औजारदेखि ठूला मेसिनरीसम्मको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् भने परामर्श सेवामार्फत कृषि क्षेत्रलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने विषयमा जानकारी लिन सक्नेछन् । यस अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रबद्र्धकमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहेका छन् ।

राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय र चितवन उद्योग संघको सहयोगमा एक्सपो आयोजना हुन लागेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्