आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि नेपाली टोलीले तयारी देशबाहिर निस्किएर गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा उक्त प्रतियोगिता भारत र श्रीलंकामा संयुक्त रुपमा हुने तालिका आइसकेको छ ।
प्रतियोगिताको तयारीस्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा गएर अभ्यास गर्ने भएको हो । नेपाली टोलीले स्वदेशमा दुई चरणको तयारी क्याम्प सम्पन्न गर्ना साथ श्रीलंका र भारतमा गएर अभ्यास गर्ने नेपाल क्रिकेट संघले जनाएको छ । नेपालले श्रीलंकामा त्यहाँको ‘ए’ टोली र भारतमा मुम्बई क्रिकेट एसोसिएनसनको टोलीसँग अभ्यास खेल खेल्नेछ ।
नेपाली टोली हाल रुपन्देहीमा छ । त्यहाँको ‘एक्स्ट्राटेक ओभल’मा अभ्यास गरिरहेको छ । नेपाली टोली सुरुमा श्रीलंका र त्यसपछि अन्तिम तयारी गर्न भारतको मुम्बईमा जानेछ । टोली अर्को साता श्रीलंका जाने क्यानले जनाएको छ । करिब एक साता अभ्यास गरेपछि नेपाली टोली मुम्बई फर्किने योजना छ ।
नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम छन् ।