नेभिगेशन
विश्व

अब विश्वविद्यालयमा मानविकी नवप्रवर्तन केन्द्र

वुल्भरह्याम्प्टन विश्वविद्यालयले भर्चुअल रियालिटी (भीआर) र कृत्रिम बुद्धिमत्ता (एआई)लाई अनुसन्धान, व्यवसाय र संस्कृतिको उन्नतिमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने अध्ययनका लागि नयाँ केन्द्र स्थापना गरेको छ ।

‘डिजिटल फ्युचर्स ल्याब’ नाम दिइएको यो केन्द्र आगामी फेब्रुअरी ७ मा औपचारिकरूपमा उद्घाटन हुने विश्वविद्यालयले जनाएको छ । यस केन्द्रमार्फत प्राध्यापक, विद्यार्थी, व्यावसायिक संस्था तथा विभिन्न संगठनहरूलाई आ–आफ्ना क्षेत्रबीच सहकार्य गर्ने अवसर प्रदान गरिनेछ ।

उद्घाटन कार्यक्रमका क्रममा भीआर र एआईका अत्याधुनिक प्रयोगहरू प्रदर्शन गरिनेछ भने डिजिटल उपकरणहरूले भाषा, साहित्य र संस्कृतिप्रति अपनाइने दृष्टिकोणलाई कसरी ‘पुनःआकार दिइरहेका छन्’ भन्ने विषय प्रस्तुत गरिनेछ ।

ल्याबका निर्देशक प्राध्यापक सेबास्टियन ग्रोसले यो केन्द्रले अनुसन्धान र संस्कृतिमा नवप्रवर्तनप्रतिको विश्वविद्यालयको प्रतिबद्धता झल्काउने बताए ।

उद्घाटन कार्यक्रममा सहभागीहरूले एआई, प्रविधि, च्याटबोट र जटिल तथ्यांकको विश्लेषणमा प्रयोग हुने एल्गोरिदमलगायत विषयमा विभिन्न प्राध्यापकहरूको प्रस्तुति सुन्न पाउनेछन् ।

‘उच्च शिक्षा विकसित हुँदै जाँदा कला र मानविकी क्षेत्रमा डिजिटल र कम्प्युटेसनल विधिहरू अंगीकार हुँदै नयाँ दृष्टिकोण खोलिँदै छन्,’ ग्रोसले भने, ‘वुल्भरह्याम्प्टनमा हामी कम्प्युटेसनल साहित्य अध्ययनजस्ता क्षेत्रमा रहेको विशेषज्ञतालाई एकीकृत गर्दै सामाजिक चुनौती समाधान गर्ने, स्वास्थ्य र कल्याण प्रवर्द्धन गर्ने तथा विश्वव्यापी दिगोपनाका लक्ष्यमा योगदान पुर्‍याउने सिर्जनात्मक, प्रविधिमा आधारित समाधान विकास गरिरहेका छौं ।’

गत वर्ष मे महिनामा विश्वविद्यालयले साइबर रेजिलियन्स एण्ड आर्टिफिसियल इन्टेलिजेन्स केन्द्र (साइबराई) स्थापना गरेको थियो, जसलाई उक्त क्षेत्रको ‘अग्रणी शक्ति’ बनाउने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्