तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् ।
उक्त प्रकरणमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जनाए । पक्राउ परेकाले हत्या स्वीकार गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेका ती व्यक्ति फोहरमैला प्रशोधन केन्द्रमा नियमित गइरहने व्यक्ति भएको प्रहरीले जनाएको छ ।
मृत भेटिएका शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरका ५८ वर्षीया देउमाया थापाको सनाखत भएको छ भने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको छ ।
इलाका प्रहरी कार्यालय बेलचौतारालाई शनिबार बिहान करिब साढे ९ बजे प्रशोधन केन्द्रका एक कर्मचारीले ‘दुई जना पुरुष मृत अवस्थामा भेटिएका छन्’ भनी जानकारी गराएका थिए । प्रहरी टोली घटनास्थल पुग्दा प्रशोधन केन्द्रको कम्पाउण्ड बाहिर दुई पुरुषको शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा उनीहरूलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको थियो । महिलाको शव दुई पुरुष भेटिएको स्थानबाट करिब सात सय मिटर टाढा जनकल्याण माध्यमिक विद्यालय पछाडि कसेरीघाटको जंगलमा फेला परेको थियो । महिला र पहिचान नखुलेका पुरुष दुवै जना बजार क्षेत्रबाट संकलन गरिएको फोहोरमैला छानेर कवाडी संकलन गरी जीवनयापन गर्दै आएका र करिब एक वर्षदेखि त्यही टहरामा बस्दै आएको स्थानीयले बताएका छन् ।
मृतकमध्ये एक जना शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछाप निवासी अन्दाजी ४० वर्षीय नारायण विक शुक्लागण्डकी नगरपालिकासँग सम्झौता गरी फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गरिरहेको ग्रिन रोड प्रालिका कर्मचारी हुन् । उनी एक महिनादेखि प्रशोधन केन्द्रमै बसेर काम गरिरहेका थिए भने तीन महिनादेखि सो केन्द्रमा कार्यरत थिए । अर्का मृतक पुरुषको पहिचान हालसम्म खुल्न सकेको छैन । उनी पनि प्रशोधन केन्द्र बाहिर टहरामा बस्दै आएका व्यक्ति हुन् ।
शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले तीनै जनाको शव अत्यन्त बीभत्स अवस्थामा फेला परेको जनाएका छन् । ‘नारायण विकको पेटमा गम्भीर चोट देखिएको छ, टाउकोमा पनि प्रहार भएको छ,’ उनले भने, ‘पहिचान नखुलेका पुरुषको पेटबाट आन्द्रासमेत बाहिर निस्किएको थियो । महिलाको घाँटी रेटिएको अवस्थामा शव भेटिएको थियो ।’