काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ । केही समय यता निरन्तर बढिरहेको मूल्यले बुधबार पनि नयाँ रेकर्ड बनाएको हो । बुधबारमात्रै सुन १ हजार ५ सय रुपैयाँ महँगिएर तोलाको मूल्य २ लाख ७८ हजार रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ । चाँदी बुधबार एकैदिन तोलामा ३१५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य ५ हजार ३४० रुपैयाँ थियो ।
बजारमा सुनचाँदीको मूल्य बढ्दै जानुको मूल्य कारण अन्तर्राष्ट्रिय भू– राजनीतिक घटनाहरू जिम्मेवार रहेको सुनचाँदी व्यवसायीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा देखिएको भू– राजनीतिक तनाव र अमेरिकी अर्थतन्त्रमा आएको अनिश्चितताका कारण नेपाली बजारमा सुन र चाँदीको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको व्यवसायी एवम् नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।
सुरक्षित लगानीको खोजी
अन्तर्राष्ट्रिय जगतमा देखिएको भू–राजनीतिक तनावका कारण उद्योग, कलकारखाना र शेयर बजार जस्ता अन्य लगानीका क्षेत्रहरू जोखिमपूर्ण हुने अवस्थामा पुगेकाले पनि सुनमा लगानी बढिरहेको छ, जसको असर मूल्यमा परेको छ । ‘अहिले दिनदिनै भइरहेको सुन चाँदीको मूल्यवृद्धि अन्तरिक भन्दा पनि अन्तर्राष्ट्रिय कारणले भएको हो,’ उनले भने, ‘विश्वका विभिन्न देशहरूमा चलिरहेको राजनीतिक द्वन्द्व तथा युद्धहरूका कारण लगानी गर्ने सुरक्षित ठाउँ कतै नदेखेपछि सुन खरिद गर्नेहरू बढेकाले दिनदिनै मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ ।’
अमेरिकी सरकारको ट्रम्प प्रशासनमा विश्वकै अर्थतन्त्र संकटमा परिरहेकाले पनि लगानीकर्तामा त्रासको वातावरण रहेकाले पनि सुन चाँदीको मूल्य बढिरहेको बताए । लगानीकर्ताहरूले आफ्नो सम्पत्ति सुरक्षित गर्नका लागि सुन र चाँदीलाई नै एकमात्र भरपर्दो विकल्प मानेको उनको भनाइ छ । ‘अहिले लगानी गर्ने अरू कुनै ठाउँ सुरक्षित छैन, त्यसैले सबै सुनमा झुम्मिएका छन्,’ उनले भने । विश्वका धेरै देशका केन्द्रीय बैंकहरूले विदेशी मुद्राको जोखिम कम गर्न सुनको भण्डार बढाइरहेका छन् । आर्थिक संकटको बेलामा सुरक्षित राख्न सकियोस् भन्ने उद्देश्यले भइरहेको सुन खरिदले विश्व बजारमा दैनिकरूपमा रेकर्ड कायम गरिरहेको हो ।
प्रतिऔंस ५ हजार डलर पुग्ने प्रक्षेपण
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४,६२९ डलर र चाँदी ९१.२५ डलर पुगेको छ । दैनिकरूपमा पुरानो ‘रेकर्ड ब्रेक’ गर्दै सुन प्रतिऔंस ५,००० डलर र चाँदी १०० डलर पुग्ने प्रक्षेपण भइरहेको शाक्य बताउँछन् । पछिल्लो एक वर्षमा सुनको मूल्य ७५ प्रतिशत बढिसकेको छ । चाँदीमा १५० प्रतिशतको वृद्धि भइसकेको छ ।
बजारमा छैन बिक्री
विश्वबजार तात्तिएर सुन चाँदीको मूल्यमा दैनिक नयाँनयाँ रेकर्ड बन्न थालेपछि नेपाली बजारमा सुन किन्नेहरू घट्दै गएका छन् । सुनको मूल्य निरन्तर उकालो लागिरहेकाले नेपालीहरूको सुन चाँदी खरिद गर्ने क्षमता कम हुँदै गएकाले आन्तरिक बजारमा खपत घटेको हो । ‘अत्याधिक मूल्य बढेकाले यो वर्ष वैशाखदेखि मंसिरसम्म परेको विवाहको सिजनमा पनि सुनचाँदीको कारोबार बढ्न सकेन । माघ महिना सुरु भएपछि समेत कारोबार खासै बढ्ने सम्भावना देखिँदैन,’ शाक्यले भने ।
विगतका वर्षहरूमा विवाहको सिजनका बेला दैनिक ४५ किलोदेखि ५० किलोसम्म सुन बिक्री हुने गरेकोमा यो वर्ष नगन्य मात्रामा मात्रै भएको उनले बताए । सुनको मूल्य प्रतितोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेपछि उपभोक्ताको क्रयशक्तिले नभ्याउने अवस्था सिर्जना भएको व्यवसायीहरू बताउँछन् । अर्कोतर्फ, सुनको मूल्य अझै उचाइमा पुग्ने प्रक्षेपण भइरहेकाले समेत पुराना गहना बेच्न आउनेहरू पनि रोकिएका छन् । जसका कारण कारोबार ठप्प हुने अवस्था आएकाले पसल खोलेर बस्ने बाहेक कुनै काम नभएको सुनचाँदी व्यवसायीहरूको गुनासो छ ।