नेभिगेशन
अर्थतन्त्र

नेपाल टेलिकमको ३० प्रतिशत लाभांश स्वीकृत

काठमाडौं – नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १८औं वार्षिक साधारणसभाले शेयरधनीलाई वितरण गर्न सञ्चालक समितिले प्रस्ताव गरेको ३० प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै तीव्र प्रतिस्पर्धी वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको बताइन ।

भौगोलिकरूपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सदाझैं थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्नेतर्फ कम्पनीले आफ्ना कार्यक्रमहरूलाई अगाडि बढाएको बताइन् । साधारणसभाले पारित गरेबमोजिमको लाभांश बुधबारदेखि नै एनएमबी बैंकमार्फत शेयरधनीहरूलाई वितरण गर्ने व्यवस्था मिलाएको टेलिकमले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्