विराटनगर (सम्वाददाता)। चार दशकदेखि सक्रिय रहँदै नेपाली पत्रकारितामा योगदान दिँदै आएका वरिष्ठ पत्रकार तीर्थ कोइराला ‘कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन् । शनिबार नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको विशेष समारोहमा कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले प्रधान सम्पादक कोइरालालाई दोसल्ला ओढाउँदै प्रशस्तिपत्र र २५ हजार रुपैयाँसहित पुरस्कृत गरेका हुन् ।
सो पुरस्कार स्व. पत्रकार कोशराज रेग्मीको स्मृतिमा पीताम्बर–खिलेश्वरी स्मृति प्रतिष्ठानले स्थापना गरेको हो । हाल न्यूज २४ दैनिकका प्रधान सम्पादक रहेका कोइराला विगत ४० वर्षदेखि पत्रकारीय यात्रामा सक्रिय रहँदै आएका छन् । कार्यक्रममा प्रमुख अतिथि सभामुख विष्टले पत्रकारमैत्री ऐन निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाउँदै “पत्रकारका हकहित सुनिश्चित हुने खालको ऐन पत्रकारहरूको सहमतिमा मात्रै बन्नुपर्छ,” भने ।
कार्यक्रममा अन्य वक्ताहरूले स्व. रेग्मीले पत्रकारिता, भाषा र साहित्य क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरेका थिए । कतिपय वक्ताहरूले भने प्रदेश सरकारले ल्याउन लागेको पत्रकारिता सम्बन्धी ऐनलाई आवश्यक संशोधनसहित मात्र अघि बढाउनुपर्ने मागसमेत राखे ।
नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, भाषाविद् कविराज न्यौपाने, अग्रज पत्रकार यज्ञ शर्मा, मोहन भण्डारीलगायतको उपस्थिति थियो ।
समारोहमा महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले सञ्चालन गरेका थिए भने उपाध्यक्ष तारा आचार्यले स्वागत मन्तव्य राखेका थिए । सहसचिव रेवतीरमण निरौलाले सम्मानित व्यक्तित्व कोइरालाको जीवनयात्रा प्रस्तुत गरेका थिए । यस्तै पत्रकार अनन्तराज न्यौपानेले स्व. कोशराज रेग्मीको पत्रकारिता तथा नेपाली भाषा–साहित्यमा पुर्याएको योगदानबारे प्रकाश पारे ।