यही २०८२ माघ २ गते निर्वाचन आयोगले कांग्रेसको आधिकारिकताको विषय टुंगो लगाएको छ । लगभग ५५ प्रतिशत विशेष महाधिवेशन महासमिति सदस्यहरूले गगन थापाको नेतृत्वमा नेकाको नयाँ कार्यसमिति निर्माण गर्यो । तत्कालीन संस्थापन पक्ष देउवा समूह स्वाभाविकरूपले यो निर्णयका विरुद्ध निर्वाचन आयोग पुग्यो । राष्ट्रिय सभा निर्वाचन, माघ ६ गते प्रतिनिधिसभाको उम्मेदवार छनोट, फागुन २१ गते आम निर्वाचन, शान्ति सुरक्षाको प्रश्न, दलहरूको सक्रियता आदि आदिका कारण मुलुकप्रति सबैको गम्भीर ध्यानाकर्षण भएको छ । जेनजी आन्दोलनले मुलुकलाई बहुआयामिक ढंगले प्रभावित गर्यो । सिंगापुर उपचार गराउन जानुभन्दाअघि नेकाको बैठक बस्यो । पूर्णबहादुर खड्काले कार्यवाहक पाए । विशेष महाधिवेशन पक्षधर महासमिति सदस्यहरूले विशेष महाधिवेशनको मागलाई एक दिनका लागि स्थगित गरी असोज २९ गते नेका केन्द्रीय कार्यालयमा दर्ता गरे । असोज २९ गतेदेखि ‘बुख्याँचा’ को भूमिकामा रहेकाहरूबाट स्वभाविक निर्णय आयो । अर्थात् केही निर्णय भएन । थुप्रै दबाबपछि पुसमा अधिवेशन गर्ने निर्णय (नगर्ने निर्णयका रूपमा) गरे । तर विशेष महाधिवेशन पक्षधर महासमिति सदस्यहरूले आफ्नो असोज २९ गतेको मागलाई छाडेनन् । ढोक्सा र बुख्याँचा प्रवृत्तिहरूबाट नेपाली कांग्रेसको आन्तरिक राजनीति नकारात्मक एवं कलंकित बाटोतर्फ अग्रसर भयो । प्रतिगमन नै यसको लक्ष्य थियो । भीष्म एवं शिखण्डीहरू ऐतिहासिक पात्र मात्र हुन् तर तिनीहरूको सांकेतिक महत्त्व छ । नराम्रा मध्ये कम नराम्रा छान्नु एवं राम्रा मध्ये धेरै राम्रालाई छान्नु– यस्तो भनाइ छ । परिणामविहीन तटस्थताको राजनीतिमा कुनै अर्थ छैन ।
राजनीतिक निर्णय विवेकयुक्त तर कठोरतासाथ लिनुपर्छ । यता पनि ठिक उता पनि ठिक हुँदाहुँदै सबै दिक्क भए । परिणामले पर्खिंदैन र पर्खेन । जे होस् अब आधिकारिकताको विवाद निवार्चन आयोगबाट टुंगिएको छ । लाजलाई पनि लाज नलाग्ने गरी माघ ३ गते नेकाको कावाको नाममा केन्द्रीय समितिको बैठक बसेर सर्वाेच्च जाने निर्णय गरेको कुरा सार्वजनिक भएको छ । देउवा प्रवृत्तिको हास्यास्पद एवं पद लोभको नमूना हो । स्वागत गरेर स्वीकार गर्नुपर्नेमा अदालन जानु गलत हो । सबै दलका नेताहरूमा के भ्रम छ भन्ने जनता मूर्ख हुन्छन् । दास कार्यकर्ता मात्र देख्ने केपी प्रवृत्ति हो । असोज २९ गतेदेखि विशेष अधिवेशनको मागलाई अनेकौं बहानामा टालटुल, पार्ने छलकपट गर्ने कुरा, गुटगत दासहरूले नदेख्नु स्वाभाविक होला तर जनताले प्रत्यक्ष एवं प्रष्टरूपमा तात्कालीन देउवा संस्थापन पक्षको झुठ एवं नाटकलाई अनुभव गरिराखेका थिए । स्वीकारोक्तिले व्यक्तिलाई महान् बनाउँछ झूठले बेइमान बनाउँछ । जे होस् सर्वोच्चको फैसला नआउञ्जेल गगनहरू नै आधिकारिक भएका छन् । न्यायाधीश यसै मुलुकका हुन् अर्कै ग्रहबाट आएका होइनन् साथै ‘न्यायिक कार्यकर्ताहरू’ पनि होइनन् । नेका प्रतिनिधि सभाको निर्वाचन आदिहरूमा जनता एवं मुलुकको पक्षमा न्याय आउने विश्वास लिन सकिन्छ ।
विशेष महाधिवेशनले दिएको सन्देश
निर्वाचन आयोगबाट आधिकारिकता प्राप्तिपश्चात् नेपाली राजनीति तरंगित भएको छ । पार्टी विभाजन हुनुहुन्न भन्ने अभिव्यक्तिको ओइरो लागेको छ । ४५ जनालाई सहिद बनाउने तत्कालीन सरकार प्रमुखलाई साह्रै सञ्चो भएन । चिन्ता लागेर लोकतन्त्र खतरामा परेको नाटकीय एवं हास्यस्पद अभिव्यक्ति, अत्यन्त गम्भीर मुद्रामा अभिव्यक्ति गरे । जुट एवं फुट समस्त सापेक्षिक कुरा हो । जुट एवं फुट प्रयोग, अवस्था, उद्देश्य आदिमा भर पर्छ । दमन गर्ने नकारात्मक सोचको आडमा गरिएको झुटभन्दा तीतो भए पनि गलत प्रवृत्ति, निरंकुशता, अन्याय, अत्याचारको विरोध गरेर भएको फुट धेरै राम्रो छ । फुट राम्रो हुँदै होइन । तर जुत्नै नसकेर सधैं उत्पीडन दासत्वमा बस्नुभन्दा फुट राम्रो हो । त्यसमा पनि गगन समूहको विशेष महाधिवेशन फुट हुँदै होइन । प्रतिगमनकारीहरूको भाष्य सापट लिएर विभाजनको हल्ला मच्चाइएको छ ।
विधानतः आफ्नो अधिकार खोज्दा समस्याको समाधान खोज्दा विभाजन हुन्छ । निरंकुश चिन्तनहरूको लागि हुनसक्छ तर स्वतन्त्रताप्रेमीको लागि हुनै सक्दैन । विधि प्रक्रिया आदि केही नमान्ने तर आफूले व्याख्या गरेको विधि अरूले मान्नैपर्ने ? यो अधिवेशनले लास वा दासको प्रवृत्तिलाई बहिष्कार गरेको छ । परिक्रमावादी चिन्तनको विरोध गर्दै पराक्रमवादी हुन प्रेरित गरेको छ । कुनै एउटा व्यक्ति वा त्यसका वरिपरि रहेका दासहरूको झुण्ड सम्प्रभु एवं सर्वोच्च हुनै सक्दैन । सबै दललाई यो विशेष महाधिवेशनले यही सन्देश दिएको छ । जेनजी पुस्ताहरूको मागलाई वास्तवमा गगन समूहले शतप्रतिशत पूरा गरेको छ । मधेश केन्द्रित एउटा दलको ८० वर्ष काटिसकेको व्यक्ति राष्ट्रिय सभाको सदस्यमा सिफारिस हुनु फेरि ८० नागेका व्यक्तिबाट डडेलधुराबाट निर्वाचन लड्छु भन्नु, मञ्च नै भाँचिने गरी नेपाली कम्युनिस्ट पार्टीका पुराना नेताहरूको मञ्चमा आसिन हुनु, प्रलोपालगायत विभिन्न दलमा त्यही पुराना अनुहार दोहोरिनु जेनजी आन्दोलनको मर्म एवं भावनाविपरीत कार्य हो ।
यस क्रममा केपी एमालेले जम्मैलाई उछिनेको छ । ४५ सहिद बनाएकामा तत्कालीन प्रधानमन्त्री केपीले माफी माग्नुको साटो जेनजी आन्दोलनलाई नकार्दै कटाक्ष गरिराखेका छन् । २३ एवं २४ गतेको घटनाको जिम्मेवारी लिनुपर्ने ठाउँमा जेनजीतर्फ संकेत गर्दै बालेन आदिमाथि केपी प्रवृत्तिहरूले प्रश्न तेर्साएका छन् । यो केपी प्रवृत्तिको स्वाभाविक चरित्र हो । दासहरू केही बोल्दैनन् । नेपाली जनतालाई थाहा छ । घण्टीले थोरै फरक रूप देखाए तापनि व्यक्तिको लोकप्रियता सर्वोच्चता हुन सक्दैन । गगन समूहले पुस्तान्तरणको कामलाई जुन निर्भीकतापूर्वक सम्पन्न गरे त्यो विशेष महत्त्वको छ । साधुवाद अन्य दलहरूमा पुस्तान्तरणको प्रश्न सर्वोच्च नेताहरूको समाप्तिको घण्टी भएको छ ।
यो अधिवेशनले एकातिर युवाको कुरालाई हलुका ढंगबाट लिनुहुन्न भन्ने सन्देश सँगसँगै अर्कातर्फ आफूलाई सर्वोच्च सटिक, वरिष्ठ, चमत्कारिक, सर्वेसर्वा, श्रेष्ठ न थान्न नेताहरूलाई सन्देश दिएको छ । बूढानीलकण्ठमा जस्तै कुन नेताको अवस्था कुन गाउँ ठाउँमा हुने हो यो भन्न सकिँदैन । जनआक्रोशमा केही कमी आएको छैन । भुपुको नाताले सरकारसँग सुविधाको एवं सुरक्षाको भिख जति मागे पनि जनताको आँखामा तिनीहरू भ्रष्टाचारी अत्याचारी निरंकुशतावादी छन् भन्ने रहनेछन् ।
सुरक्षा घेराले केही गर्न सक्दैन । अपराधीहरूलाई यो अधिवेशनले त्रसित पनि बनाएको छ । तर्सेर सपनाबाट बिउँझदै अपराधीहरू जथाभावी बोल्न थालेका छन् । अचेल सिंहदरबार जलाउनेहरू विध्वंश मच्चाउनेहरू भन्दै घाँटी सुक्नेगरी निकै चिच्याई–चिच्याई कराएको टीभीहरूमा देख्न सकिन्छ । यस्तो प्रवृत्तिलाई यसले तर्साएको छ । शरणार्थी, सुन, जग्गा, सहकारी, आदिआदिहरू काण्डमा मुछिएका त्रसित भएका छन् । यो सन्देश पनि प्रभावित भएको छ । भ्रष्ट, अनैतिकहरूमा निराशा फैलाएको छ । मनोरोगहरूलाई पनि यो अधिवेशनले बाहिर ल्याएको छ । गोदावरीमा नीति अधिवेशन भाद्र २२ गते सम्पन्न भयो । चक्रवर्ती सम्राटलाई भाद्र २३ को बारे थाहा नै भएन तर कांग्रेसको अधिवेशनमा विभाजन हुन्छ भन्ने कुरा महिनौंअघि थाहा पाएको हुनाले आफ्नो दलको महाधिवेशन एक वर्षअघि नै गरेको घोषणा पनि भयो । दासहरू स्वभाविक रूपमा ताली बजाएका छन् । नेपाली जनता रमाएका छन् । शेखर लगायत अन्यहरूले गगनलाई समर्थन गर्नैपर्छ । देउवाको भर छैन । तर पनि गगन समूहले दुवैलाई समेट्ने प्रयास गर्नुपर्छ ।
वर्तमान गगन नेतृत्वको नेकाको दायित्व
गगन समूहमाथि अकल्पनीय उत्तरदायित्वहरूको चाङ तेर्सिएका छन् । पार्टीलाई एकताबद्ध गर्नुपर्नेछ । कसैप्रति आग्रह पूर्वाग्रह गर्नुभएन । तर, समूहको नाउँमा जुनसुकै समूहमा रहेका भ्रष्टहरूलाई पाखा लगाउनुपर्छ । राष्ट्रिय सभामा पनि गठबन्धन गर्नुहुन्न साथै प्रतिनिधि सभामा पनि खासगरी प्रत्यक्ष निर्वाचनको सन्दर्भमा केपी एमालेबाहेक अन्य दलसँग संवादवार्ता समझदारी बढाउनुपर्छ । शान्ति सुरक्षातर्फ ध्यान केन्द्रित गर्दै २१ गतेको निर्वाचन सम्पन्न गराउनतर्फ अर्जुनदृष्टि राख्नुपर्छ । सन्तुलित परराष्ट्र नीति अंगाल्नुपर्छ । भ्रष्ट एवं बिचौलियाहरू अब गगनको बेडमा नै आउन सक्छन् । उकास्ने तत्व अस्थिरता चाहने तत्वहरूबाट जोगिनुपर्छ । अब आफ्नैहरूबाट जोगिनुपर्छ । उनीहरूको माग अपेक्षा दबाब अनुरोध चाकरी अकल्पनीय हुन सक्छन्– ध्यान दिनै पर्छ । सबै प्रधानमन्त्रीको कालमा भएका भ्रष्टाचार आदिहरूको फाइल सरकारमा आएपछि खोल्नैपर्छ । आराम नै नगरी भ्रष्टाचारका फाइलहरू खोल्न भूमिका खेल्नैपर्छ । प्रतिगमनकारी तत्व राजतन्त्र वा पार्टीमा एकल निरंकुशता चलाउनेविरुद्ध सम्झौताहीन संघर्ष गर्नैपर्छ नत्र लोकतन्त्र बलियो हुँदैन । २१ गते निर्वाचन सर्वोपरी छ ।
टिकट वितरण समस्या ग्रस्त हुन सक्छ तर प्रमको घोषणासहित सरकारमा आएपश्चात लोकतन्त्र संविधान एवं सुशासन कायम गर्न विष पिउनै पर्छ । त्यहाँ उन्मुक्ति हुने छैन । सरकार पश्चातका उत्तरदायित्वबारे पछि चर्चा होलान् । तर वर्तमान परिस्थितिमा उपरोक्त कुराहरू अत्यन्त महत्वका छन् । यस प्रसंगमा नेकापा, एमाले लगायत विभिन्न दलहरूले टिकट वितरणको कुरा सार्वजनिक गरेका छन् । केपी एमालेले फरक मत राख्ने योगश भट्टराई, सुरेन्द्र पाण्डे, गोकुल बास्कोटालगायतलाई टिकट दिएको चर्चा छ । ईश्वर पोखरेलको नाम विचाराधीन छ । विष्णु रिजाल पनि परेनन् । संक्षेपमा ईश्वर पोखरेल समूहले सार्वजनिकरूपमा टिकट वितरणको विरोध गर्नुपर्छ, पत्रकार सम्मेलन गर्नुपर्छ । पार्टीबाट निष्कासनको डर मान्नुपर्दैन । नेपाली जनताको घरघरमा गएर केपी प्रवृत्तिले गरेको प्रतिशोधको प्रतिरोध गर्नैपर्छ । सामान्यतया टिकट वितरणमा सबै अटाउन सक्दैनन् तर छानीछानी बदला लिनु केपीको स्वाभाविक प्रवृत्ति हो । भीम रावलले दसौंमा भोगे ईश्वर र योगशले एघारौंमा भोग्दैछन् । केपीको प्रतिशोध आउँदो दिनमा झन् बढ्नेछ । यस कुरालाई ध्यानमा राखी ईश्वर समूह प्रतिरोधमा आउनै पर्छ । लास र दासको कहिँ कतै कुनै स्थान हुँदैन । आशा छ गनन नेतृत्वको नेपाली कांग्रेशले केपी एमाले प्रवृत्तिको अनुशरण गर्ने छैन ।
उपसंहार
मण्डेलाको रगतमा हिटलर एवं मुगावे हुनै सक्दैन । त्यसैगरी हिटलर एवं मुगावेको रगतमा मण्डेला हुनै सक्दैन । पहिलो विश्वयुद्धपश्चात जर्मनीमा सन्धिको कुरा उठाएर हिटलर अत्यन्त लोकप्रिय राष्ट्रवादी नेता बन्न पुगे तर उनको राष्ट्रवाद समस्या समाधान भन्दा व्यक्तिगत महत्वकांक्षी निरंकुश मनोरोगका कारण दोस्रो विश्वयुद्ध उन्मुख भयो । फलस्वरूप राष्ट्रवादको नाउँमा अकल्पनीय नरसंहार गरे । मानव जातिमा कलंकित भए । उपनिवेशबाट मुक्त गराएर स्वतन्त्र मुलुक बनाएका मुगावेपछि पत्नी मोह, शक्ति सत्ता लोभ, आर्थिक भ्रष्टाचारमा लिप्त भए । बाध्य भएर जनताले मुगाबेलाई हटाए । नेपालमा हिटलरी राष्ट्रवादको प्रतीक एवं पत्नी मोहको प्रतीकको हुन् भन्ने कुरा नेपाली जनता प्रष्ट छन् । तसर्थ यी कुराप्रति वर्तमान कांग्रेस अत्यन्त गम्भीर हुनुपर्छ । नेपाली जनताले यही २१ गतेको निर्वाचनमा उक्त राष्ट्रवाद एक परनिर्मोह प्रवृत्तिलाई परास्त गरी लोकतन्त्र संविधानको रक्षा गर्न उभिनुपर्छ । निरंकुशता दासत्वको विरोधमा उभिनैपर्छ । ४५ जनालाई सहिद बनाएर माफी नमाग्ने प्रवृत्तिलाई दण्ड दिनैपर्छ । गगन समूहको आँटलाई साधुवाद ।
लेखक राजनीतिशास्त्री समाजका अध्यक्ष हुन्।