काठमाडौं । विशेष महाधिवेशनको विषयलाई लिएर पार्टीभित्र उत्पन्न विवाद किनारा लाग्ने अवस्था आएपछि नेपाली कांग्रेसलाई निर्वाचनमा एकजुट भएर होमिन सहज भएको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनलाई नमान्ने भन्दै केन्द्रीय कार्यालय नछाड्दा नयाँ कार्यसमितिले पहिलो बैठक बाहिरै गरेको थियो । केन्द्रीय कार्यालय नै जान रोकिएको नयाँ टिमका ढोका खुलेपछि पार्टीको सबै शक्ति एक ढिक्का बनाउन सजिलो भएको हो ।
विवाद समाधानसँगै गगन थापाले सभापतिका रुपमा शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालय गएर पदस्थापना गर्ने भएका छन् । ‘पार्टीभित्रको विवाद समाधान भएको छ । भोलि (शुक्रबार) सभापतिज्यूले पदस्थापन गर्नुहुनेछ,’ सहमहामन्त्री डा.डीला संग्रौलाले भनिन्, ‘दिउँसो १ बजे केन्द्रीय समिति बैठक सानेपामा बस्नेछ ।’ केन्द्रीय कार्यालयबाटै फोन गरेरै आफूहरूलाई बैठकको जानकारी गराइएको पनि उनले बताइन् ।
गत पुस २८–३० भृकुटीमण्डपमा बहुमत महाधिवेशन प्रतिनिधिले दोस्रो विशेष महाधिवेशन गरेका थिए । महाधिवेशनबाट थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपनि उक्त समिति वैधानिक नभएको भन्दै तत्कालीन संस्थापन समूह निर्वाचन आयोग गएको थियो । आयोगले महाधिवेशनबाट बनेको समितिलाई वैधानिकता दिने निर्णय गर्यो ।
आयोगको निर्णयविरुद्ध तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा देउवापक्ष रिट लिएर सर्वोच्च अदालत पुगेको थियो । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुनिल पोखरेलको इजलासले मागअनुसार अन्तरिम आदेश नदिएपछि थापालाई सभापतिका रुपमा काम गर्न सहज भएको हो । उसो त थापा नेतृत्वको समिति अवैध भनेका देउवा पक्षका नेताहरू नै सभापति थापाको हस्ताक्षर भएको टिकट लिएर निर्वाचनमा होमिएपछि आधिकारिकताको विवाद मत्थर भएको छ ।

थापा नेतृत्वको समितिमा देउवा र नेता डा.शेखर कोइराला पक्षले असहमति जनाएको थियो । पूर्वसंस्थापन समूहको अवरोध हुँदा सभापति थापा नेतृत्वको समितिको बैठक पार्टी प्यालेसमा बसेको थियो भने टिकट वितरण पनि होटलबाटै गरिएको थियो ।
तर, माघ ६ गते फागुन २१ को चुनावको लागि मनोनयन दर्ता गर्न थापाकै हस्ताक्षरको टिकट लिन तयार भएपछि आधिकारिकताको विवाद साम्य भएको छ । तत्कालीन सभापति देउवाका विश्वासपात्र मानिने विमलेन्द्र निधि, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, किशोरसिंह राठौर, एनपी साउदसहित कांग्रेसभित्रको अर्को समूहका नेता डा.शेखर कोइराला र उनी निकट मिनेन्द्र रिजाल, चन्द्र भण्डारीसहितका नेताहरू थापाले दिएको टिकट लिएर आआफ्नो चुनावी क्षेत्रमा पुगिसकेका छन् ।
नयाँ कार्यसमितिले सुधारवादीको मागअनुसार एजेण्डा र अनुहार नयाँ लिएर निर्वाचनमा जाने टुंगो गरिसकेको छ । यसटक कांग्रेसमा धेरै नयाँ अनुहारले निर्वाचनमा उम्मेदवारीको अवसर पाएका छन् ।
उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र अर्को पक्षले अवरोध गरिरहँदा केन्द्रीय कार्यालय गएर विवाद नबढाउने बताएका थिए ।
विवाद मत्थर भएसँगै विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई सानेपा प्रवेश सहज भएको छ । सभापति निर्वाचित भएपछि थापाले विशेष महाधिवेशनमा सहभागी नभएको पक्षलाई पनि समेटेर लैजाने भन्दै नरम अभिव्यक्ति दिएका थिए । ‘नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं,’ सभापति निर्वाचित भएपछि थापाले अपिल गर्दै भनेका थिए, ‘आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, लाग्नेछैन – जिम्मेवारी फरक होला तर भुइँ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ । तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ ।’ थापाले त्यसयता परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार हुने केन्द्रीय समिति बैठकमा चुनावी रणनीति तय गर्ने विषयमा छलफल हुने अर्का सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले बताए । केन्द्रीय समिति बैठकले भावी प्रधानमन्त्रीका रुपमा सभापति थापालाई अघि सार्ने निर्णय गर्ने तयारी रहेको अर्का एक पदाधिकारीले बताए ।
‘विशेष महाधिवेशनकै क्रममा गगन थापाज्यूलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर जाने धारणा बनिसकेको छ । उपसभापति विश्वप्रकाश शर्माज्यूले त बन्दसत्रमै राखेको यसबारेको प्रस्तावमा सबैको समर्थन थियो,’ ती पदाधिकारीले भने, ‘अब केन्द्रीय समिति बैठकले पनि त्यसलाई अनुमोदन गर्नेछ ।’
सभापति थापा यसअघि जित्दै आएको काठमाडौं–४ छाडेर यसपटक सर्लाही–४ बाट उमेदवार बनेका छन् । कांग्रेसका उम्मेदवारहरूले ‘अब गगनको सरकार हुनुपर्ने’ को नारा दिएरै चुनावी अभियान चलाइरहेका छन् ।
कांग्रेस महामन्त्री गुरुराज घिमिरेले फागुन २१ को चुनावपछि सभापति गगन थापा प्रधानमन्त्री बन्ने दाबी गरे । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘संसदीय व्यवस्था भएका मुलुकमा यो अभ्यास छ । संसदीय दलमा सर्वसम्मत हुनुहुन्छ । त्यहाँ भोटिङ हुँदैन । गगन थापा चाहिँ सर्वसम्मत चाहिँ संसदीय दलको नेता बन्नुहुन्छ र भावी प्रधानमन्त्री बन्नुहुन्छ ।’
महामन्त्री घिमिरेले समानुपातिकमा कांग्रेसले कम्तीमा ३५ लाख मत ल्याउने दाबी गरे । उनले पार्टी अहिले एक ढिक्का भइसकेको भन्दै प्रत्यक्षतर्फ एक सय सिटमा जित्ने पूर्वानुमान रहेको बताए । उनले पार्टीको १५ औँ महाधिवेशन वैशाखमा गर्न व्यवहारिक नहुने बताए । उनले भने, ‘एक वर्ष भन्दा बढी यसलाई लम्ब्याउन सक्दैनौं । हामी बाँधिएका छौं । संसदीय निर्वाचनको रिजल्ट आएपछि परिणाम आएर सरकार गठन गर्दा नगर्दै हाम्रो चैत लाग्न सक्छ । अब वैशाखमा गर्न मलाई व्यवहारिक देख्दिनँ । त्यसो भएको हुनाले आगामी पुस मसान्तभित्र हामीले महाधिवेशन गरिसक्नुपर्छ ।’ कांग्रेसले माघ १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणापत्रमा सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा पार्टी होमिने तयारी छ । सभापति थापाको नेतृत्वमा नै अहिले कांग्रेसले घोषणापत्र लेखिरहेको छ । चुनाव परिचालनको कमाण्ड भने उपसभापति शर्माले सम्हालेका छन् ।
मुख्यसचिवको राजीनामा
यसैबीच बिहीबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । विशेष महाधिवेशनबाट पार्टी नेतृत्वसहित नयाँ कार्यसमिति आएपछि पौडेलले निवर्तमान सभापतिकै पक्षबाट सूचना जारी गर्दै आएका थिए । पुस ३० गते गगन थापाको सभापतित्वमा कांग्रेसमा नयाँ कार्यसमिति बनेको थियो । उक्त कार्यसमितिले भोलि केन्द्रीय कार्यालय सानेपा पुगेर पदभार ग्रहण र केन्द्रीय समिति बैठक गर्ने कार्यक्रम तय भएपछि पौडेलले राजीनामा दिएका हुन् । पौडेल राष्ट्रिय सभा सांसदसमेत छन् । पौडेलले राजीनामा दिएपछि पार्टी सचिव प्रकाश शर्माले केन्द्रीय समिति बैठक बस्नेबारे सूचना निकालेका थिए । शुक्रबार बस्ने बैठकले नयाँ मुख्यसचिव समेत तोक्न सक्ने एक पदाधिकारीले बताए ।